Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन

Posted on 2024-04-182025-03-04 by बसन्त महर्जन
बसन्त महर्जन

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा अध्येताहरूको अध्ययनले यी स्थलहरूको महत्ता दर्साउँछ। यी सम्पदा स्थलमा अनेक क्रियाकलाप भइरहेका हुन्छन् जसले सम्पदा क्षेत्रलाई जीवन्त राख्छन् तर कतिपय क्रियाकलाप अवाञ्छनीय हुन्छन्– तिनलाई रोक्नु अति आवश्यक छ।

पाटन दरबारक्षेत्रमा (२०७९ साल असार १४ गते मंगलबार) केही किशोरहरूको एउटा समूह पार्कर गर्न आए। दौडधुप गर्ने, एक ठाउँबाट अर्को ठाउँमा हामफाल्ने तथा हावामै शारीरिक कला देखाउने एक खालको विधिलाई पार्कर भनिँदो रहेछ। उनीहरूकै अनुसार कतै यसको प्रतियोगिता हुँदै रहेछ र त्यसमा सहभागी हुनका लागि दृश्य छायांकन गर्न उनीहरूले पाटन दरबार क्षेत्रलाई छानेका रहेछन्। यी पार्करले दरबार क्षेत्रमा अस्वाभाविक स्थिति सिर्जना गरे । उनीहरूले मूर्ति तथा अन्य पुरातात्विक सम्पदा माथि चढ्ने टेक्नेलगायतका आपत्तिजनक कार्य गर्न थाले । यस्तैमा स्थानीय एक वृद्धले तिनीहरूलाई सम्पदा क्षेत्रमा यस्तो नगर्न भन्दा तीमाथि अभद्र व्यवहार गर्नुका साथै जेल हालिदिने धम्कीसमेत दिए। उनीहरूको यो हर्कत सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय भयो। यही कारण स्थानीयले त्यहाँ पार्कर गर्नेहरूलाई प्रहरी समक्ष पुर्‍याए। प्राचीन स्मारक संरक्षण ऐन–२०१३ आकर्षित हुने यो घटनामा ती किशोरहरू थुनिने र जरिवाना हुनसक्ने सम्मको व्यवस्था छ तर स्थानीय सम्पदा प्रेमीहरूले उनीहरूलाई सार्वजनिक माफी मगाएर छाडिदिए। अहिले यससम्बन्धमा खासै चर्चा छैन तर कुरा यत्तिमै टुंगिँदैन। यसले अनेक प्रश्न उठाइदिएको छ जसको जवाफ खोज्नु जरुरी छ।

पार्कर गर्ने किशोरहरूले सो दिन पाटन दरबार क्षेत्रमा मात्रै नभएर ललितपुर महानगरपालिकाको कार्यालय अगाडिको सम्पदा क्षेत्रमा पनि गरेका रहेछन्। बुझ्दै जाँदा उनीहरूबाहेक अरूले पनि यस्ता सम्पदा क्षेत्रमा पार्कर गर्ने गरेको पाइयो।

पार्कर मात्रै होइन, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग नसुहाउँदो गतिविधि गर्ने गरेको पनि पाइन्छ। उदाहरणका लागि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य ठाउँ मायादेवी मन्दिरको परिसरमा केही वर्षअघि सुन्दरी प्रतियोगिताका लागि समूहगत नाचगान गरिएको थियो। आफूखुशी क्रियाकलाप गर्नेहरूको नजरमा ती ठाउँ चर्चित र खुल्ला भएकाले त्यसको उपयोग गरेको मात्रै हो तर यसले सम्बन्धित ठाउँको मानमर्यादा र मूल्यमान्यतालाई हदैसम्मको बेवास्ता गरेको भनेर नै बुझ्नुपर्दछ। यसमा सम्बन्धित निकाय आफ्नो काम र कर्तव्यबाट च्युत भएको मान्नुपर्दछ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू मानव सभ्यताको धरोहर हुन्। यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आइरहेको निधि हो। सम्पदाहरू पुर्खाबाट पाएको र भविष्यका सन्ततिलाई सुरक्षितसाथ सुम्पनु पर्ने नासो पनि हुन्। सम्पदालाई यो अर्थमा बुझेपछि यसलाई मास्नु हुँदैन, संरक्षण गर्नु पर्दछ र यो आफ्नो गौरव पनि भएकाले प्रचारप्रसार गरेर आफ्नो पहिचानलाई फराकिलो पार्नुपर्छ भन्ने चेत स्वत: खुल्छ।

यो स्तरको बुझाइका लागि सम्पदा क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाले केही मेहनत त गर्नै पर्दछ। उनीहरूले सम्पदाहरू के हुन् वा के होइनन् ? के कुरालाई सम्पदा भन्ने तथा किन यसको संरक्षण गर्ने ? यसको संरक्षणले आफू र अरुलाई के कस्ता फाइदा हुन्छन् भन्नेको उत्तर दिनुपर्दछ।

नेपालमा भने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू बारेको बुझाइ ज्यादै संकुचित छ। यी सम्पदाहरू विभिन्न कालखण्डका छन्। यस्ता सम्पदाहरू संख्यात्मक रूपमा काठमाडौं उपत्यकामा छन्। जसरी काठमाडौंका सम्पदा नेवार सभ्यताको द्योतक हुन् त्यसैगरी अन्यत्रका सम्पदाहरू अन्य समुदायको सभ्यताको द्योतक हुन्।

सम्पदाहरू कुनै न कुनै समाजसँग सम्बन्धित हुन्छन्, यसलाई अन्यथा लिनुपर्दैन। कुनै बौद्ध सम्पदा होला, कुनै हिन्दू सम्पदा। यो भनेको सम्पदाको पहिचान पनि हो तर यी सबै सम्पदाहरूलाई संकुचित आँखाले हेरुञ्जेल कुनै पनि हालतमा सम्पदालाई बुुझ्न सकिन्न। यसलाई मानव सभ्यतासँग सम्बन्धित गरेर हेर्ने बृहत्तर मन चाहिन्छ। नेपाली सम्पदाहरूको वस्तुस्थिति हेर्दा अलि टीठ लाग्दो छ र यसो हुनाका कारण जाति, धर्म, समुदाय विशेषको नजरबाट सोहीअनुसार हेर्ने गरेर हो कि भन्ने लाग्दछ। यो दृष्टिकोण सर्वथा गलत हो र त्याग्नु पर्दछ।

सम्पदासम्बन्धी ज्ञान वा सरोकार बौद्धिक तथा प्राज्ञिकवृत्तमा सीमित राख्न खोज्नु अर्को समस्या हो। जुन सम्पदामाथि बौद्धिक तथा प्राज्ञिक वर्गको आँखा पर्छ त्यसबाट जनसाधारण टाढिँदै गएको पनि देखिएको छ । उदाहरणका लागि स्थानीय नागरिकको जीवनदर्शनसँग सम्बन्धित भएकाले संरक्षण गर्दै ल्याइएका सम्पदाका बारेमा सरोकार र चासो किन हुनुपर्छ भन्ने नबुझेका तर हालिमुहाली गरिरहेका नीतिनिर्माण तह र अन्य केही सीमित व्यक्तिले तिनै स्थानीय जनसाधारणलाई त्यहाँबाट बेदखल गरिरहेका छन् ।

विश्वविद्यालयबाट पाइने शैक्षिक प्रमाणपत्र र विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको निकटताको आडमा कतिपय बौद्धिक तथा प्राज्ञिकहरू सम्बन्धित सम्पदासँग सम्बन्धित जनसाधारण अगाडि रौब जमाएर बसेका हुन्छन्। अझ यही सम्पदाको नाममा तिनीहरू देशविदेश घुम्ने तथा वृत्ति विकास गरिरहेका हुन्छन्। मानौं, सम्पदा भनेको जनसाधारणको सम्पत्ति नभएर सरकारी कर्मचारी, बौद्धिक, प्राज्ञिक र प्राध्यापक तथा केही लेखकहरूको मात्रै पेवा हो। यस अवस्थामा सांस्कृतिक सम्पदासँग जनसाधारणको अपनत्व वा ममत्वमा आघात पर्नु स्वाभाविक हो। वास्तवमा यो स्थिति सम्पदा संरक्षणका लागि ठूलो विपद् हो।

सम्पदा संरक्षणमा राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्दछ। सम्बन्धित जनसाधारणलाई यसबाट विमुख बनाउने होइन तिनीहरू आकर्षित हुने वातावरण तयार गर्नुपर्दछ। आफ्नो सम्पदाप्रति गौरव गर्न सकिने र प्रोत्साहन मिल्ने कार्यक्रमहरू ल्याउनु पर्दछ। यस काममा बौद्धिक, प्राज्ञिक तथा लेखकहरूले सघाउने हो। यसप्रकार अगाडि बढ्ने हो भने बल्ल सम्पदाको दीगो संरक्षण हुन्छ। हाल हामीले अपनाएको पारा सम्पदालाई जनसाधारणबाट विमुख पारेर मृत सम्पदा बनाउने र ‘म्युजिमय पीस’ को रूपमा परिणत गर्ने खालको छ।

विश्व सम्पदा क्षेत्रमा मात्रै नभएर अन्य सम्पदा क्षेत्रहरूमा समेत हुने गरेका अवाञ्छित कृयाकलापलाई स्वाभाविक मान्नुपर्ने हो कि भन्ने भएको छ किनभने सम्बन्धित निकायमा सम्पदासँग सरोकार नै नराख्ने व्यक्ति कर्मचारीका रूपमा नियुक्त भएर आउने र तालुकदार मात्रै हुने गर्नाले यी अवाञ्छित क्रियाकलापलाई निषेध गर्न सक्दैन। लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बुद्ध र बौद्ध धर्मसँग कुनै सम्बन्ध नै नभएको बरु सो स्थलको मर्ममा नै आघात पुग्ने गरी सुन्दरी प्रतियोगिताका लागि नाचगानको आयोजना गर्न भ्याउनुलाई लुम्बिनी विकास कोषका कर्मचारी तथा पदाधिकारीहरूको लुम्बिनीसम्बन्धी गलत बुझाइ र उदासीनता नै मान्नुपर्छ ।

काठमाडौं उपत्यकाको विश्वसम्पदा क्षेत्रमा पनि यस्तै गलत बुझाइ र उदासीनताको परिणाम स्वरुप विभिन्न समयमा अनेकौं अवाञ्छित कृयाकलापहरू भइरहेका छन् । पाटन दरबारक्षेत्रमा पार्कर गर्नेहरूलाई रोक्न एक जेष्ठ नागरिक अगाडि बढ्दा पार्करहरूले उनको खिल्ली मात्रै उडाएनन्, उनीहरूको क्रियाकलापमा बाधा हाले पाँच वर्ष जेल हाल्दिनेसम्मको धम्की दिन भ्याए। उनीहरूले त्यहाँ आफ्नो क्रियाकलापलाई निरन्तरता दिइरहे । त्यसपछि पनि तिनीहरू त्यहाँ समय बिताएर गए। यति धेरै हुँदा पनि त्यहाँ कोही सुरक्षाकर्मीले केही गरेनन्। यसबाट बुझिन्छ, पार्करहरूले मात्रै नभएर सम्बन्धित कर्मचारीहरूले समेत सम्पदा क्षेत्रलाई बुझेनन् वा कर्तव्यबाट च्यूत हुनपुगे। सम्पदा पार्करजस्तो खेल खेल्ने ठाउँ होइन भनेर सम्झाउन आउने जेष्ठ नागरिक कहींकतैबाट नियुक्त कर्मचारी होइनन्। सोही क्षेत्रमा जन्मेका र हुर्केका ती स्थानीयले अवाञ्छित क्रियाकलापमा आपत्ति जनाउनुलाई संरक्षणका लागि गरिएको सकारात्मक प्रयास भनेर बुझ्नु पर्छ । सम्पदासम्बन्धी शिक्षा दिनसक्ने हो भने जो कोही नागरिक ती वृद्धजस्तै सम्पदाको पक्षमा उभिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb