नेपालको बारा जिल्लास्थित बरियारपुर गाउँमा हिन्दू देवी भगवतीको एउटा मन्दिर छ, जुन गढीर्माइ नामबाट प्रसिद्ध छ । यस भगवतीलाइ हिन्दूहरू विभिन्न भाकल गरेर बली चढाउने गर्दछन् । भाकलअनुसार अन्य सामान्य दिनमा पनि बली चढाउने गरिन्छ तर प्रत्येक पाँच पाँच बर्षको अन्तरालमा ठूलो मेला लाग्दछ र मेलाको अवसरमा पशुबली अत्यधिक मात्रामा हुन्छ ।
एउटा मेलामा पच्चीस हजार राँगा मात्रै बली चढाइको थियो भने त्यसको पाँच वर्षपछिको अर्को मेलामा बली चढ्ने राँगाको संख्या पाँच हजार थियो । विधिवत्र रूपमा राति सम्पन्न गरिने मुसालगायतको पञ्चबली पछि बलीको कार्यक्रम सुरू हुन्छ ।
यस अवसरमा राँगाको मात्रै गणना हुन्छ, बोकाको बली पनि प्रसस्त मात्रामा हुन्छ तर त्यसको गणना हुँदैन । मन्दिरमा परेवा पनि चढाउन ल्याइन्छ तर त्यसलाइ मन्दिर क्षेत्रमा उडाइन्छ मात्रै । यसरी नै सात्विकहरू नरिवलको बली चढाउँछन्, त्यसको पनि गणना हुँदैन । गढीमाइ मेलाभन्दा पनि यहाँ दिइने बलीको संख्याले यसको चर्चा पाउने गरेको छ । भनिन्छ, संसारमा सबैभन्दा बढी बली चढाउने कार्य यहाँ नै हुन्छ । यहाँको दुइ वटा मेलाको मात्रै फोटोग्राफी गरेको छु ।



