बसन्त महर्जन
बाटो छेकेर बस्ने अग्ला पहाडहरु
नाघ्नु पर्छ त नाघ्छु
पहाड नाघेर बाटो लाग्छु
म यात्री हुँ ।
थुुन्न खोज्ने पर्खालहरु भत्काउँछु
थुनिएको पानी नदी होइन
नदी हुनलाई त बग्नु पर्छ
यात्री हुँ, यात्रा गर्नु पर्छ ।
ठिङ्ग उभिएको सगरमाथालाई चुनौती दिंदा
घमण्डी ठान्छन् त ठान्छन्,
म के गरुँ ?
थुन्न खोज्ने पर्खाललाई लात्ता हान्दा
घमण्डी मान्छन् त ठान्छन्,
म के गरुँ ?
मलाई पनि त बाँच्नु पर्छ,
अस्तित्वको सवाल हो
संघर्ष गर्नु पर्छ
यात्री हुँ,
यात्रा गर्नु पर्छ ।