बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत “अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२” बाट नगद रुपैयाँ पच्चीस हजार सहित सम्मानित भएको छु । सम्मान चैत्र २८ गते एक समारोहका बीच जोरपाटीमा गरिएको थियो ।
छ्योर्तेन लामा र मुसुरी लामाको नामबाट अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थापित यो सम्मान बौद्ध धर्मदर्शनमा योगदान दिने एक साधकलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ ।
सम्मानित भएपछि आभार व्यक्त गर्दै यस प्रकारका सम्मानहरुबाट साधक थप प्रोत्साहित हुने र समाजमा अन्य साधकहरुलाई सकारात्मक उर्जा प्राप्त हुने विचार व्यक्त गरेको थिएँ । मन्तव्यका क्रममा नेपाली भाषा र बौद्धधर्मबीच गहिरो सम्बन्ध भएको चर्चा गर्दै नेपाली भाषाका सुरुका अभिलेखहरु बौद्ध विषयवस्तुसँग सम्बन्धित हुने गरेको र नेपालीभाषाको उद्गम थलो मानिएको कर्णाली क्षेत्र एक समय बौद्ध राज्यको रुपमा रहेको बताएँ ।
कार्यक्रममा संस्कृतिविद् एवं लेखक शितल गिरीले सम्मानित व्यक्तित्वको परिचय दिने क्रममा आफूले मलाई पचासको दशकदेखि पढ्न थालेको र अनुसन्धान तथा लेखनको क्षेत्रमा क्रमशः विकास गर्दै आज यस सम्मानबाट सम्मानित हुन सफल भएको बताउनु भयो ।
प्रमुख अतिथी जापानका लागि पूर्व नेपाली राजदूत गणेश योञ्जनले बुद्ध र बौद्ध धर्मका लागि हामीले अझै धेरै काम गर्न बाँकी रहेको काम गर्नेहरुलाई सम्मान तथा प्रोत्साहन दिँदै जानुपर्नेमा जोड दिनुभयो ।
नेपाली साहित्य क्षेत्रको अभिवृद्धिमा समर्पित अभिनव साहित्य समाजले नियमित रुपमा साहित्य गोष्ठी गर्ने गर्दछ । यसै क्रममा आज विशेष कवि गोष्ठी गरिएको थियो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।




