गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रि आकर्षणको केन्द्र हो । विश्व सम्पदा सूचीमा यो सूचीकृत छ । लुम्बिनी र त्यसको सेरोफेरोमा रहेका कपिलवस्तु तथा प्राचीन कोलिय राज्यका पुरातात्विक स्थलहरुलाई समेटेर लुम्बिनी भ्रमणको प्याकेज बनाइएको छ । यो प्याकेजमा लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरूको जानकारीमूलक भ्रमण गराइने हुन्छ । यस स्थलगत भ्रमणका क्रममा यस क्षेत्रका बारेमा मात्रै नभएर बुद्ध र बौद्ध धर्म–दर्शनका सम्बन्धमा पनि यथेष्ट जानकारी दिलाउने काम हुन्छ । र, लुम्बिनीका पुरातात्विक स्थलहरुका साथै विभिन्न देशहरुले आआफ्नो देशको प्रतिनिधिमूलक हुने गरी बनाइएका विहार क्षेत्र पनि घुमाइने छ । यसरी नै कपिलवस्तुका लुम्बिनीमा मात्रै एक दिन र कपिलवस्तुका तिलौराकोट, कुदान, गोटिहवा, निगलिहवा, धम्नीहवा, सगरहवाहरु घुमाइने छ । यसरी नै प्राचीन कोलिय गणराज्यको राजधानी देवदह तथा बुद्धको अस्थिधातु राखी बनाइएको रामग्राम स्तूपको पनि अध्ययन भ्रमणमा लगिने छ ।
