Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

साधन छ, ढङ्ग छैन- भन्छन् गरिब छौं

Posted on 2024-04-182025-03-04 by बसन्त महर्जन

राजा वीरेन्द्र शाहले आफ्नो सम्बोधनमा ‘पछौटेपन’ शब्दलाई विशेष रूपमा प्रयोग गर्थे। धन नभएर हामी गरीब भएका होइनौं, हाम्रो प्रमुख समस्या ‘पछौटेपन’ हो भन्ने सन्दर्भमा यो शब्दको प्रयोग भएको पाइन्छ। यसको शब्दकोशीय अर्थ त उहिल्यै बुझिएको हो तर सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेपछि अझ गहिरोसँग बोध भयो।

एउटा अनुसन्धानका लागि केही वर्षअघि सिन्धुपाल्चोक पुगेको समूहमा म पनि सहभागी थिएँ। अनुसन्धानको विषयवस्तु बेग्लै थियो तर जुन घरमा वास बसियो, त्यो घर नै पनि हाम्रा लागि अनुसन्धानको विषयवस्तु बन्यो। दुई तले ठूला दुई वटा घर सँगसँगै थियो। पूरै पाखा खेतीयोग्य जमीन, ठूलै बारी, भेडाबाख्रा पनि आठ दशवटा अनि गोठमा दुई वटा गाई पनि थिए। गाउँमा बिजुलीबत्ती पुगिनसकेका कारण घरमा टुकी बाल्नुपर्ने बाध्यताबारे टिप्पणी नगरुँ। बेलुका भात पस्किएर दिँदा भने अचम्म लाग्यो। पकाएको भात खाइनसक्नु थियो। तरकारी थिएन। दाल डढेको। मुस्किलले खान सकें। सँगै भएको म्याडमले खानसक्नु भएन भने अर्को महिलाले बल्लबल्ल खान सकेको। घरबेटी आफूहरूका लागि चामल नभएर ढिँढो पकाउँदै थिए। नियतवश नै उनीहरू के के कसरी खाँदा रहेछन् भनेर ध्यानपूर्वक हेर्‍यौं र हामीलाई आदर सम्मानसहित खाना पस्किदिएको कुरामा शंका थिएन।

एक धानबालीले मात्र अठ्ठार महिना खानपुग्ने पुरै पाखावारी रहेछ। बारीको मकैलगायतको अन्नपात त छँदैछ। घरमुली सोही गाउँमा सञ्चालित प्राथमिक विद्यालयको प्रधानाध्यापक। कुरा गर्दै गएपछि थाहा भयो, गाउँमा हुने राजनीतिक तथा सामाजिक कार्यक्रमहरूको अगुवा उनै हुन्। भोलिपल्ट बिहानैदेखिको उनको हरेक क्रियाकलापमाथि अवलोकन गर्न थालियो। अघिल्लो दिन जुन लुगा लगाएको हो, भोलिपल्ट विहान पनि त्यही, विद्यालय जाँदा पनि त्यही लुगा। विद्यालयबाट फर्केर पीठो पिँध्न मकैको बोरा बोकेर घट्टतिर कुद्दा पनि सोही लुगा।

उल्लेखनीय कुरा के हो भने घरमुलि हुन् वा उनकी श्रीमती पटक्कैपिच्छे आफूलाई गाउँले र दीनहीन अवस्थामा रहेको गरीब भनेर प्रस्तुत गरिरहेका थिए। त्यत्रो जग्गाजमीन, दुई घर र वस्तुभाउ तथा प्राविको हेडमास्टर कसरी दीनहीन र गरीब हुन सक्छन् ? हामी तीन जना मात्रै त्यस घरमा बास बसेको, अनुसन्धान समूहका अन्य सदस्यहरू गाउँको अरु नै घरहरूमा छरिएर बसेका थिए। हामीले त्यस गाउँमा ‘हाउसहोल्ड सर्भे’ पनि गरेका थियौं। गाउँको अन्य घरहरूको अध्ययन गर्दा उक्त घरलाई अत्यन्तै सम्पन्न भन्नुपर्ने देखियो। आफ्नो नाममा एक टुक्रा जग्गाजमीन नहुने मात्रै होइन, ऋणपान गरेर जीवन गुजार्नु पर्ने सामान्य नेपालीको जीवन चर्याभन्दा निम्न स्तरको जीवन भोग्नु राजा वीरेन्द्रले भनेजस्तो धनसम्पत्ति नभएर गरीब भएको होइन, ढङ्ग नभएको हो, पछौटेपना हो। यही प्रसङ्गलाई ‘केस स्टडी’ बनाएर नेपालको अनेक क्षेत्रको अध्ययन गर्न सकिन्छ।

नेपाल प्राकृतिक स्रोत साधनले सम्पन्न छ र यसलाई उचित रूपमा प्रयोग गर्न नसकिरहेको निष्कर्ष सम्बन्धित विज्ञहरूको छ। अपार जलस्रोतले नै नेपाललाई सम्पन्न बनाउन सक्छ भन्ने आकलन पनि छ। पर्यटन उद्योगका लागि चाहिने ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदामा रहेको विविधता नेपालका लागि पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रका लागि पनि सम्पन्नताको द्योतक हो। पर्यटन पनि विविधताले युक्त उद्योग हो। भलै नेपालसँग समुद्र छैन तर हिमालहरू छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै होइन, आठहजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये आठ वटा हिमाल नेपालमै छन्। यी तमाम कुरा पर्यटकीय आकर्षण हुन् र समृद्धिको माध्यम पनि।

विश्वमा आजभोलि बौद्ध धर्मदर्शन लोकप्रिय छ। आधुनिक विज्ञानसँग सबैभन्दा नजिकको सम्बन्ध रहेको भनी यसको प्रशंसा गर्ने मनिषीहरू पनि छन्। विश्वास र आस्थामा आधारित नभएर यस धर्मदर्शनका मार्गदर्शक गौतम बुद्ध एक ऐतिहासिक पात्र हुन भन्ने कुराको पुष्टि गर्ने अनेकौं ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरू यथेष्ट मात्रामा छन्। अनेक दृष्टिबाट हरेक कुरामा थप अध्ययन अनुसन्धान पनि हुँदै आइरहेको पाइन्छ। उनै गौतम बुद्धले आफ्नो महापरिनिर्वाणपछि संवजेनीय स्थलको रूपमा जन्मस्थल (लुम्बिनी), बोधिज्ञानलाभ (बोधगया), प्रथम धर्मचक्र प्रवत्र्तन स्थल (सारनाथ) र महापरिनिर्वाणस्थल (कुशीनगर) रहने कुरा भनेका थिए।

संवेजनीय स्थल भनेको सम्वेदनशील र ध्यानभावना गर्दा ध्यान लाग्न सक्ने भनिएको हो। यसअनुसार बुद्धपछि यी चार स्थानमा बौद्धहरू भ्रमण गर्ने र श्रद्धा व्यक्त गर्ने ठाउँको रूपमा विकास भयो। अर्को शब्दमा यसलाई तीर्थस्थल पनि भन्न सकिन्छ। हाल यीलगायत बुद्धसँग सम्बन्धित अन्य स्थलहरू पनि विश्वभरका अनुसन्धानकर्ता तथा पर्यटकहरूको चासोको विषय हुँदा पर्यटन गन्तव्यका रूपमा विकास भएका छन्। तीमध्ये जन्मस्थल लुम्बिनी वर्तमान नेपालको भूभागमा पर्दछ। लुम्बिनीबाहेक अन्य कतिपय महत्वपूर्ण क्षेत्र पनि नेपालमै पर्नु सुखद् कुरा हो तर अपेक्षित रूपमा यी स्थलहरूको विकास तथा प्रचार प्रसार गरेर लाभ लिन नसक्नुलाई आफ्नै कमजोरी भनेर आत्मालोचना गर्नुबाहेक अर्को उपाय छैन।

नेपालमा हिन्दू धर्मसँग सम्बन्धित स्थलहरू पनि प्रशस्त मात्रा छन्। यसरी नै ऐतिहासिक तथा पुरातात्विक स्थलहरू मध्ये कतिपय उजागर भइसकेका छन् भने कतिपय उजागर हुनबाँकी नै छन्। भौगोलिक विविधतासँगै विविध जातीय संरचनाले पनि नेपाल सांस्कृतिक दृष्टिले प्रचुर मात्रामा विविधताले भरिपूर्ण छ। वास्तवमा यी सम्पदाहरू नेपालको आफ्नै धन हुन् तर यसलाई सही रूपमा प्रयोग गर्न सकेको खण्डमा मात्रै भौतिक सम्पत्ति हुन्छन्, होइन भने जहाँको तहीँ जे जस्तो अवस्थामा छन् त्यहीँ रहनेनै भए।

विभिन्न क्षेत्रका विज्ञ, अध्येता तथा सरोकारवालाहरू प्राय: सन्तुष्ट छैनन्। उनीहरूका अनुसार यी स्रोत साधनको प्रयोग तथा लाभका सम्बन्धमा स्पष्ट नीतिनियम नै छैन। दृष्टिकोणकै अभाव छ।

अमेरिका युरोपलगायतका देशहरूमा छरिएर रहेका उच्च शिक्षा प्राप्त नेपाली हुन् वा सामान्य शिक्षा प्राप्त गरी जापान, कोरिया, मलेशिया, तथा अरेवियन राष्ट्रहरूमा श्रमिकका रूपमा पुगिरहेकाहरूलाई अर्को शब्दमा भन्नुपर्दा ‘श्रम सम्पदा’ हुन्। त्यो श्रमसम्पदा आफ्नै देशको विकासमा नभएर अन्य देशको विकासमा खर्च भइरहेको यथार्थ टीठलाग्दो छ। विदेशमा काम गरेर नेपालमा विप्रेषण (रेमिट्यान्स) आइरहेको र सोही विप्रेषणले नेपालको अर्थव्यवस्था धानिरहेको तर्क गर्नेहरू पनि छन् र त्यो सत्य नभएको पनि होइन। यद्यपि यथार्थ के हो भने नेपालले शिक्षालगायतका क्षेत्रमा ठूलै लगानी गरी हुर्काएको जनशक्तिबाट विप्रेषणको रूपमा थोरै मात्र आर्थिक लाभ भइरहेको छ। भावनात्मक रूपमा उनीहरू नेपाललाई माया गर्छन्, नेपालको सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयवस्तुमा चासो राख्छन् तर उता कमाउने धन उतै खर्च गर्छन्। नेपालमा रहेका घरपरिवारलाई खर्च पठाउनुभन्दा बरु उतै बोलाउँछन्। अझ टीठलाग्दो कुरा त के हो भने उनीहरूको सफलताको मापदण्ड नेपालको नागरिकता नै त्यागेर उतैको नागरिक हुने वा ग्रीनकार्ड प्राप्त गरेर अस्थायी नागरिक भएर बस्ने हो। एक नेपालीको वैयक्तिक विकास हुनु नराम्रो होइन तर राज्यको दृष्टिबाट हेर्नुपर्दा यो नेपालको लागि घाटा मात्रै हो।

विदेशमा भासिएका वा भासिने तरखरमा हरेका नेपालीहरूको तर्क छ, नेपालमा केही अवसर छैन। देशमा कुच्चिएर बस्नुभन्दा विदेशमा पलायन हुनु राम्रो हो। वास्तवमा यो एउटा बहानावाजी वा आफ्नो कमजोरी लुकाउने काइदा मात्रै हो। सम्पूर्ण काम राज्यले गरिदिनुपर्दछ वा राज्यले पस्किदिएको भात खाइदिने काम मात्रै नागरिकको हो भन्ने दृष्टिकोण राख्नु सर्वथा गलत हो। देशमैं केही गरौं भन्ने नागरिकलाई सहज व्यवस्था तथा व्यवस्थापन भने राज्यको दायित्व हो।

चीन र जापान वर्तमान अवस्थामा पदार्पण गर्नुअघि बेग्लाबेग्लै समयमा आर्थिक दृष्टिले जर्जर अवस्थामा थिए र त्यहाँका नागरिक शिक्षा र काम खोज्दै युरोपलगायतका देशहरूमा ओेइरिएका थिए। उनीहरूले विदेशमा प्राप्त गरेको शिक्षा र अनुभवलाई स्वदेशमा लगानी गरेको पाइन्छ। यसको नतिजा दुबै देशमा बीस वर्षभित्रै देखिन थालेको थियो। विदेशमा नै व्यापार व्यवसाय गरेर बस्नेहरूले पनि आफ्नो राष्ट्रसँग सम्बन्ध राखेको हुन्छ र आफ्नै राष्ट्रको अवयवको रूपमा सञ्चालित भइरहेको पाइन्छ।

विदेशमा भासिने मौका हेरेर बसेका हुन् वा भासिसकेकाहरू, यो वर्गमा एउटा अचम्मको रोग देख्न पाइन्छ– जुनसुकै सन्दर्भ र प्रसङ्गमा नेपाललाई गाली गरेर बस्ने। गाली गर्नकै लागि पनि एक स्तरको सचेतना वा जानकारीको आवश्यकता पर्दछ। त्यो सचेनता वा जानकारीको सदुपयोग हुननसक्नु पनि एक हदको ‘पछौटेपन’ नै हो। गर्नेले त नेपालमै वा बाहिर बसेर पनि देशको लागि काम गरिरहेकै पाइन्छ। राजा वीरेन्द्रले भन्ने गरेजस्तो नेपालको समस्या साधनस्रोतको कमी होइन, पछौटेपन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb