Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’

Posted on 2024-04-182025-06-23 by बसन्त महर्जन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै आएको वर्षौवर्ष भइसक्यो पनि तर बौद्ध स्थलको भ्रमणमा आउने पर्यटकहरू मात्रै होइन, अन्यका लागि पनि यो विमानस्थल अपेक्षा गरिएजस्तो उपयोगमा आउन सकिरहेको छैन।

विमानस्थलको उद्घाटनका बेला दैनिक दशदेखि पन्ध्र वटासम्म उडान भर्ने अपेक्षा राखिएको थियो तर उद्घाटनको छ महिना बितिसक्दासमेत हप्तामा बल्ल एउटा उडान भरेर बस्नु परेको अवस्था छ। भौतिक संरचनाहरू निर्माण हुनु राम्रो हो तर त्यो भन्दा राम्रो त विकास भनेर देखाइने ती भौतिक संरचनाहरूको सञ्चालन उचित तवरले गर्नसक्नु हो। यस अर्थमा यो अन्तर्राष्ट्रिय विमानस्थल पूर्णत: असफल योजना भएको छ।

यो विमानस्थलमा उडान भर्न सुरुमा केही मुलुकका एयरलाइन्सले रुची पनि देखाए तर तिनीहरूले उडान भरेका छैनन्। पहिलो उडान भर्ने जजिरा एयरलाइन्सको उडान नहुने हो भने यसलाई सञ्चालनमा आएको भन्न पनि कठिन हुन्छ। उसको उडान भन्नु वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारलाई आफ्नो देशमा ओसार्नु मात्रै हो। विदेशबाट पर्यटक नेपालमा ल्याइदिने होइन।

भारतले हवाई रुटको स्वीकृति नदिएको लगायतका प्राविधिक समस्याहरूले यो विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन नसकेको भन्ने एउटा सन्दर्भ छ। त्यस्तै बौद्ध तीर्थयात्रीहरूसँग जोडिएको अर्को सन्दर्भ पनि छ। यो आलेख दोस्रो सन्दर्भ अर्थात् लुम्बिनी र बौद्ध तीर्थयात्रीका विषयवस्तुमा सीमित हुनेछ।

लुम्बिनीलाई नेपालले ‘गौतम बुद्धको जन्मस्थल’को रूपमा भन्दा ‘पर्यटकीय गन्तव्य’ को रूपमा बुझेको पाइन्छ। बुद्धको जन्मस्थल भनेर प्रचार त गरिन्छ तर यो प्रचार पर्यटकीय गन्तव्यको आकर्षणका रूपमा मात्रै प्रयोग गरिएको पाइन्छ। हेर्दा यो सामान्य देखिन्छ तर चुरो कुरो यहीं रहेको बुझ्न नसक्नु वा नचाहनु नै नेपाल र नेपालीको दुर्भाग्य हो।
लुम्बिनी र पर्यटनका सन्दर्भमा चर्चा गर्दा नेपालका विभिन्न बौद्धस्थलहरूको सञ्जाल बनाउनेसम्बन्धी अध्ययन टोलीमा संलग्न भई काम गर्दाको एउटा छोटो अनुभव यहाँ सान्दर्भिक हुने ठानेको छु। विभिन्न बौद्ध देशहरूको तथ्याङ्क र ती देशबाट नेपाल आउने पर्यटकको लगत हेरी हाम्रो अध्ययन टोली योजना बनाइरहेको थियो। विश्वभरका बौद्धहरूलाई एउटै डालोमा राखेर योजना बनाउनु सरासर गल्ती हो। बुद्ध र बौद्धहरूलाई बुझ्दै नबुझ्नुको प्रमाण पनि हो। लक्षित वर्गलाई नै नबुझी बनाइने योजना असफल हुनु स्वाभाविक हुने नै भयो। उदाहरणका लागि काठमाडौंमा भएका प्राय: बौद्ध तीर्थस्थलहरू श्रीलंका, म्यानमार, थाइल्यान्ड, भियतनामजस्ता थेरवादी बौद्ध समाजका लागि आकर्षणको विषय हुँदैन तर जापान, कोरिया, चीनजस्ता महायानी बौद्ध धर्मको अभ्यास गर्ने समाजका लागि ठूलै अर्थ राख्छ। दर्शनमा रहेको यो भेद हाम्रो अध्ययन टोलीलाई बुझाउन निकै मेहनत गर्नु परेको थियो।

पथप्रदर्शनमा काम गर्दै आएका एक मित्रको अनुभव यहाँ शिक्षाप्रद छ। ती मित्रको अनुभवले भन्छ– गैर बौद्ध धर्मावलम्बी पर्यटकका लागि जुनसुकै बौद्धस्थलमा पनि आकर्षण हुन्छ तर बौद्धस्थल नै भए पनि उसले अवलम्बन गरिरहेको सम्प्रदायसँग नमिल्ने ठाउँमा सहज अनुभव गर्दैनन्।

विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र खास्ति (बौद्ध) तथा काठमाडौं उपत्यकामा रहेका अधिकांश बौद्धस्थलहरू महायानी बौद्ध सम्प्रदायसँग सम्बन्धित हुन्। यसरी नै मुस्ताङलगायत हिमाली क्षेत्रका बौद्ध स्थलहरू पनि महायानी बौद्ध सम्प्रदायसँग नै सम्बन्धित छन्। बौद्ध दर्शन एउटै भए पनि महायानी र थेरवादीको लक्ष्य नै फरक रहेको हुन्छ। यसअनुसार यी दुई सम्प्रदायको अभ्यास तथा मूल्यमान्यतामा पनि अन्तर हुनु स्वाभाविक हो। बौद्ध नै भएको नाताले एक सम्प्रदायले अर्को सम्प्रदायविरुद्ध सार्वजनिक रूपमा कुनै टिप्पणी नगर्ने तथा सद्भावस्वरूप श्रद्धा व्यक्त गर्नु स्वाभाविक हो तर एकले अर्काको मूल्यमान्यतालाई आत्मसात गर्नैपर्छ भन्ने छैन।

नेपाली पर्यटन उद्योगको विकास गर्ने कार्यमा रहेका योजनाकारहरूको दृष्टिमा विश्वभरका बौद्धहरू त पर्छन् तर बुद्ध र बौद्ध धर्मका सवालमा आफैं अनभिज्ञ भएका कारण उनीहरूको सोचले मूर्त रूप लिन पाउँदैन। लुम्बिनीको महत्व बुझाउन नेपाली विज्ञ तथा योजनाकारहरूले बारम्बार बोल्ने कुरा हो, लुम्बिनीको भ्रमण गर्नु भनेर स्वयं बुद्धले भनेका थिए। यही कुरालाई जोड दिन अझ उनीहरू यस्तो भनाइ पनि राख्छन्, चार ठाउँ (जन्मस्थल लुम्बिनी, ज्ञानप्राप्ति स्थल बोधगया, पहिलो उपदेश गरेको ठाउँ सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगर) मा जाँदा लुम्बिनीबाट सुरु गर्नु।

बुद्धले भने लुम्बिनीबाट मात्रै होइन, कुनै पनि ठाउँबाट सुरु वा अन्त्य गर्नु भनेर कहिँकतै पनि भनेका छैनन्। कुनै पनि बौद्ध साहित्यमा उल्लेख नभएको कुरा बोल्न हाम्रा विज्ञ तथा योजनाकारहरूले कसरी सकेका हुन् भनेर ताज्जुब लाग्छ।
त्रिपिटकअन्तर्गत ‘दीघनिकाय’को ‘महापरिनिर्वाण सूत्र’मा बुद्धले आफूसँग सम्बन्धित चार ठाउँको भ्रमण गर्दा लाभ हुने कुरा व्यक्त गरेका थिए, वास्ताविकता त्यत्ति हो। त्यस सूत्रमा ती चार ठाउँको नाम पनि उल्लेख गरेका थिएनन्। अन्य स्रोतको आधारमा ती ठाउँहरू निर्धारण गरिएको हो। चारै ठाउँमा जानु वा एक ठाउँमा मात्रै जानु पनि भनेका छैनन्। ती चार वटा स्थल ‘संवेजनीय स्थल हुन्छन्’ भन्नुको तात्पर्य ध्यान गर्न लायकको ठाउँ हुन् भन्नु हो। यही कुरालाई ‘म्यानुपुलेट’ गरेर विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई छक्याउने प्रयास मात्रै हो। यो एक प्रकारको ‘मार्केटिङ पोलिसी’ त होला तर मनगढन्ते कुरा गरेर मार्केटिङ गर्दाको परिणाम कस्तो हुन्छ भन्ने कुरामा पनि उत्तिकै सचेत हुनु जरुरी छ।
कोही विदेशी बुद्धको जन्मस्थल लुम्बिनी भनेर आउने तर उसले भेट्ने नेपालीहरूमा बुद्ध र बौद्ध धर्म–दर्शनसँग केही सरोकार नभएको वा कुनै जानकारी नभएको अवस्थामा उसलाई कस्तो प्रभाव पर्ला ? पक्कै पनि प्रीतिकर अनुभव हुँदैन। सरकारी तथ्याङ्क अनुसार नेपालमा बौद्धहरूको जनसंख्या ९ प्रतिशत छ। आफूलाई बौद्ध भनेर परिचय दिनेमध्ये धेरैलाई बुद्ध र बौद्ध विषयवस्तुमा जानकारी नभएको कुरा उनीहरुमध्ये धेरैले स्वीकार गर्दछन् र सिक्नुपर्ने आवश्यकताको बोध भर्खर मात्र गर्न थालेका छन्। त्यो ९ प्रतिशतमा पनि कति त आफ्नो धर्मावलम्बीको संख्या बढाउनकै लागि अरु कुरा जस्तो भए पनि धर्मको महलमा बौद्ध भनेर जनाउनु भनी गरेको अभियानको परिणाम हो। यही दुई तथ्यको आधारमा नेपालमा बौद्ध धर्मालम्बीको आकार कति साँघुरो छ भन्ने कुरा थाहा हुन्छ।

बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा अध्ययन अध्यापन गराउन भनेर लुम्बिनी बौद्ध विश्वविद्यालय तथा अन्य विश्वविद्यालयहरूमा बौद्ध अध्ययन विभाग सञ्चालित छन्। ती शैक्षिक संस्थामा अन्य धर्मसम्प्रदायलाई पनि अध्ययन गर्ने सुविधा रहेको छ। वर्षेनी विद्यावारिधि गर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ तर बौद्ध अध्ययनमा विद्यावारिधि गर्नेहरू नामको अगाडि ‘डाक्टर’ थप्ने लोभ वा शैक्षिक प्रमाणपत्र जोड्नमा मात्रै प्रेरित भइरहेको पाइन्छ।
विद्यावारिधि गर्नेहरूको स्तरको कुरा गर्दा अझ लाजमर्दो स्थिति छ। बौद्ध अध्ययनको जुनसुकै शीर्षकमा विद्यावारिधि गरेको किन नहोस्, उसलाई बुद्ध र बौद्ध–दर्शनसम्बन्धी आधारभूत जानकारी त हुनै पर्दछ। हामीकहाँ विद्यावारिधि गरिसकेकालाई पञ्चशीलजस्तो आधारभूत कुराकोसमेत जानकारी नभएको पनि देखियो। उनीहरुलाई आफ्नो पीएचडीसँग सम्बन्ध नभएको र जान्नुपर्ने आवश्यकता पनि नरहेको तर्क गरेर बस्न अलिकति पनि लज्जा नभएको देख्दा अझ उदेक लाग्यो।

निश्चित शैक्षिक योग्यता प्राप्त गरेको आधारमा प्राध्यापन गर्ने तथा जिम्मेवारी लिएर बस्नेहरूले औपचारिक तथा अनौपचारिक ठाउँमा व्यक्त गर्ने मन्तव्य बौद्ध धर्म–दर्शनका लागि आपत्तीजनक हुने गरेको पाइन्छ। यो भनेको बुद्ध र बौद्ध धर्म–दर्शनका लागि राज्यले गरेको लगानीसँग सम्बन्धित कुरा हो।

विश्वभर बौद्ध सम्पदाहरू छरिएर रहेका छन्। ती सम्पदास्थलमा बौद्ध तीर्थयात्री तथा पर्यटकहरूको घुइँचो लागिरहेको हुन्छ। बुद्धको जीवनसँग सम्बन्धित स्थलहरू अझ विशेष हुन्। यस्ता स्थलहरू नेपाल र भारतमा छन्। आठ वटा मुख्य स्थल (अष्टमहास्थान)मा लुम्बिनी एउटा मात्रै नेपालमा पर्दछ। तीर्थयात्री तथा पर्यटकहरूको आगमनको आँकडामाथि विचार गर्ने हो भने लुम्बिनीको आगमन नगण्य हो।

कोरोना महामारीभन्दा अघि नेपालमा पर्यटक आगमन उत्साहप्रद भइरहँदा लुम्बिनी पुग्ने अन्तर्राष्ट्रिय पर्यटकको वार्षिक संख्या २० हजारसम्म पनि पुग्दैनथ्यो। बौद्ध तीर्थयात्रुहरू भौतिक निर्माण तथा झकिझकाउमा रमाउन आउने होइनन्। त्यस्तो झकिझकाउ हेर्न उनीहरूलाई नेपाल नै आइराख्नु पर्ने दरकार पनि छैन। नेपालको दृष्टिकोण त्यस्तै झकिझकाउ बनाएर आकर्षित गर्ने रहेको पाइन्छ। लुम्बिनीमा बौद्ध वातावरणको सर्वथा अभाव छ। त्यहाँ पुग्ने धेरैजसो त नेपाली नै हुन् तर बौद्ध ज्ञानको अभावमा उनीहरूको क्रियाकलाप प्राय: अशिष्ट र अभद्र नै हुने गर्दछ। होहल्ला र हाँसखेल गर्नु, कुनै बौद्ध स्थलको मानमर्यादा नराख्नु आदि क्रियाकलाप बौद्ध धर्मावलम्बीका लागि पाच्य हुँदैन। बुद्ध बचनअनुसार लुम्बिनी पनि ध्यान गर्न उपयुक्त ठाउँ हो तर लुम्बिनीमा त्यही कुरामा प्राय: अवरोध हुन्छ। यी कुराहरूमा लुम्बिनीका पदाधिकारी तथा अन्य व्यक्तिहरूको ध्यान अपेक्षाबमोजिम जान सकेको छैन। बौद्ध धर्म–दर्शनको मूलभूत मान्यता विपरीत हिन्दू धर्मको होम यज्ञ आदिको क्रियाकलाप हुँदा पनि त्यसलाई सामान्य रूपमा लिने तथा पन्छिने गरेको पाइन्छ।

लुम्बिनी पत्ता लागेको (इ.सं. १८९६) कैयौं वर्षसम्म पनि मायादेवीले बोधिसत्व (गौतम बुद्ध) जन्माइरहेको मूर्तिलाई वनदेवी भन्दै पशुबली चढाइन्थ्यो। त्यो समय भनेको यो ठाउँ लुम्बिनी हो भनेर थाहा पाएर पनि मूर्तिको पहिचान भइनसक्नु हो भनेर बुझ्न सकिन्छ तर लुम्बिनी यही हो र ती मूर्ति वनदेवीको होइन भनेर थाहा भइसकेको अवस्थामा पनि लुम्बिनीमा गैर बौद्ध धर्मका क्रियाकलापहरू भइरहनु भनेको सम्बद्ध हाम्रा अधिकारीहरूको सोचमा कुनै परिवर्तन नआउनु हो। यो भनेको ज्ञानकै अभाव हो।

विश्व बौद्ध इतिहासमा नेपाल महत्वपूर्ण अध्याय हो तर वर्तमान विश्व बौद्ध समाजमा नेपाल दृष्यमान छैन। विश्वमा बौद्ध धर्म–दर्शनसम्बन्धी पुनर्जागरण भइरहेको समयमा नेपालमा बौद्धहरूमाथि व्यापक दमनका साथै बौद्ध भिक्षुहरूलाई देश निकाला गरिरहेको थियो। एक पल्ट मात्रै होइन, दुई पल्ट। पछिका दिनहरूमा पनि बौद्ध धर्म–दर्शनका सवालमा राज्यबाट खासै केही नहुँदा विश्व बौद्ध समाजको आँखामा नेपाल नपर्नु आश्चर्यको कुरा भएन। विश्वलाई थाहा छ, बुद्ध को हुन् र बौद्ध धर्म–दर्शन के हो ? तर प्राय: नेपालमा बुद्ध भनेको विष्णुको अवतार र बौद्ध धर्मदर्शन भनेको हिन्दू धर्मको शाखा भन्ने बुझाइ रहेको पाइन्छ। यही भ्रम विश्व बौद्ध समाजको अगाडि बोल्दा उनीहरूका आँखामा नेपाल र नेपालीको छवी स्वभावत: धुमिलिन पुग्छ।

नेपालसँग बौद्ध इतिहास छ तर बौद्ध ज्ञानको अभावमा त्यो इतिहास भजाउन सकिएको छैन। बौद्ध अध्ययनका लागि स्थापित विश्वविद्यालय तथा अन्य निकायहरू प्रभावकारी छैनन्। जनचासो पनि खासै छैन। यस्तो अवस्थामा नेपालले विश्वको ध्यानाकर्षण गर्न नसक्नु स्वाभाविक हो। वर्षमा २० हजार विदेशी पर्यटक पनि लुम्बिनी नपुग्नुमा आश्चर्य मान्नु पर्दैन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी आउने विदेशी पर्यटकको भीड बढाउने योजना ‘मुंगेरीलालको हसीन सपनेँ’ भन्दा माथि उठाउन नेपालले धेरै काम गर्न बाँकी नै छ। विमानस्थलमात्रै भएर पुग्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb