Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

म बाई वर्थ’ र ‘बाई च्वाइस’ बौद्ध हुँ

Posted on 2026-03-112026-03-12 by admin

पत्रकला साप्ताहिक (२५ फागुन २०८२) का लागि शीतल गिरीबाट लिइएको अन्तर्वार्ता

शीतल : तपाईंको बौद्ध इतिहास र दर्शन लेखनको उद्देश्य के हो ?

सर्वप्रथमतः म लेखक हुँ । मैले विविध विषयमा लेखेको छु । यी लेखनहरुको उद्देश्य आफूलाई थाहा भएको कुरा अरुलाई पनि थाहा दिनु मात्रै नभएर आफूलाई लागेको कुरा सम्प्रेशन गर्नु पनि हो । इतिहास, संस्कृति, पुरातत्व तथा बौद्ध धर्मदर्शनको अध्ययन तथा खोजअनुसन्धान गर्ने क्रममा कतिपय आफ्नै दृष्टिकोणहरुको पनि निर्माण हुँदै गयो । कतिपय अवस्थामा प्रतिवाद पनि गर्नुपर्ने हुन्छ । र, मेरो लेखनको मुख्य उद्देश्य यही हो ।

शीतल : बौद्ध दर्शनमा लाग्नु पछाडि कुनै प्रेरणा स्रोत छ कि ?

साहित्य र जीवनदर्शनबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । साहित्य क्षेत्रमा लाग्दालाग्दै विभिन्न जीवनदर्शनहरुको अध्ययनतिर लागियो । यस क्रममा घाटघाटको पानी पिइयो । बौद्ध कुलमा नै जन्मिएको र हुर्किएको मात्रै नभएर बौद्ध धर्मदर्शनका बारेमा जानकार पनि थिएँ तर अध्ययनको क्रममा केही समय मैले आफूलाई बौद्ध भन्न पनि छाडें । यस्तैमा दार्शनिक जे. कृष्णमूर्तिलाई पढ्न पुगें । उनलाई जतिजति पढ्दै गएँ, बेग्लै प्रकारले सोच्न वाध्य भएँ । उनका कुराहरु बुझ्ने क्रममा म अनायासै बौद्ध दर्शनसँग सोझिन पुगें । अध्ययनमात्रै मेरो उद्देश्य थिएन, अभ्यास पनि थियो । र, अहिले म भन्छु, दोस्रो पटक पुनः बौद्ध बनें । अर्थात्, म ‘बाई वर्थ’ र ‘बाई च्वाइस’ बौद्ध हुँ ।

शीतल : तपाईंको विचारमा बालकले लेखेको बालसाहित्य हो कि ? बालकका लागि लेखिएका ? बालकको लागि बुद्धका विचार सहज रूपमा लेख्ने कुरा तपाईंले प्राथकितामा परे जस्तो मैले पाएको छैन, खासमा मेरो अज्ञानता हो कि यथार्थ हो ?

बालवालिकाका विषय वा बालबालिकाका लागि लेखिएका साहित्य बालसाहित्य हो । साहित्यभित्र यो एउटा बेग्लै क्षेत्र हो र यसमा जो कोहीले काम गर्नसक्छन् । बालकले लेखेको हुँदैमा त्यसलाई बालसाहित्य भन्न मिल्दैन वा बालबालिकाका विषयवस्तुमा बालकालिकाले नै लेखेको हो भने त्यसलाई बालसाहित्य भनेर के फरक प¥यो र ? लेखकको उमेरमात्र फरक हो । बालसाहित्यको क्षेत्रमा बयष्क वा प्रौढ लेखकहरुको बर्चश्व छ र उनीहरुको लेखनलाई बालसाहित्य होइन कसरी भन्ने ? यसरी नै, कतिपय बालबालिकाले यस्तो विषयवस्तुमा कलम चलाइरहेको पाइन्छ त्यसलाई बालसाहित्यको दर्जाभित्र राख्न सकिन्न ।
लेखनको क्षेत्रमा बालबालिकालाई ध्यानमा राखेर लेख्दा बेग्लै भाषाशैली, प्रस्तुति र विषयवस्तुको चयन हुनुपर्दछ । आत्मालोचना गर्नुपर्दा, मेरो कमजोरी यसैमा रहेको छ । सबैमा सबै क्षमता हुँदैन । बालबालिकाका लागि गौतम बुद्धको जीवनी, जातक कथाहरु, अन्य घटनावली तथा बुद्धको शिक्षालाई सहज रुपमा लेख्न सक्नेहरुलाई म सहयोग गर्नभने सक्छु ।

शीतल : बालसाहित्यका पुस्तकमा उमेर निर्धारण भए राम्रो होला कि नहोला ? जस्तो एउटै सङ्ग्रहमा कुनै पाँच वर्षकालाई र कुनै १२ वर्षकालाई हुने कथा समेटिएको पुस्तकले त दुवै उमेरकालाई ठगे वा झुक्याए जस्तो भएको देखिन्न र ?

बालसाहित्यका लागि पुस्तकमात्र नभएर पत्रपत्रिकामा पनि उमेर निर्धारण भए राम्रो हुन्छ । उमेरअनुसारको प्रकाशन भए पाठक (बालकालिका) लगायत सबैलाई सहज हुनेहुन्छ ।

शीतल : तपाईं संस्कृतिविद् कि साहित्यकार ?

मेरो थालनीको क्षेत्र साहित्य हो । साहित्यका विविध विधामा कलम चलाइएन मात्रै, त्यस विधाका सम्बन्धमा सैद्धान्तिक ज्ञानहरु पनि हासिल गरियो । त्यो बेला म धेरै मात्रामा नेपालभाषामा सिर्जना गर्दथें । कुनै बेला मेरो पहिचान कविको रुपमा भयो त कुनै बेला गजलकार । यसरी नै कथाकारको रुपमा पनि हिडियो । नाटक र उपन्यास त लेखिनँ तर त्यसका बारेमा सैद्धान्तिक ज्ञानहरु प्रसस्त मात्रामा हासिल गरियो । पछि समालोचक पो होइएला कि जस्तो लागेको थियो तर पत्रकारिता क्षेत्रमा लागेपछि साहित्य क्षेत्र छुट्यो । अहिले सांस्कृतिक विषयवस्तुमा सकृय छु । संस्कृतिको तात्पर्य नाचगान र जात्रापर्व मात्रै नभएर साहित्य, संगीत, कला, रहनसहन, खानपानलगायत विस्तृत विषयक्षेत्रहरु हो । यसमा म सामाजिक जनजीवन, इतिहास, पुरातत्व र धर्मदर्शनमा काम गरिरहेको छु । रह्यो साहित्यको कुरा, आफ्नो पृष्ठभूमि साहित्य नै भएरै होला, मलाई काम गर्न सजिलो भरथेग गरेको छ । साहित्य सिर्जनाको सवालमा कविताको संख्या बढ्दो छ, प्रकाशित पनि हुन्छन् । नियात्रा पनि साहित्यकै एउटा सशक्त विधा हो नि, डेढ सयभन्दा बढी संख्यामा नियात्राहरु लेखेको छु । ‘नियात्रा डटकम’ आफैले चलाइरहेको छु । अन्य साहित्यकारका सिर्जनाहरुमाथि समीक्षात्मक लेख पनि लेख्छु । समग्रमा भन्नुपर्दा म संस्कृतिविद्का साथै साहित्यकार पनि हुँ ।

शीतल : के साहित्यले आत्मसन्तुष्टि दिन्छ ?

साहित्यले के दिन्छ भन्ने प्रश्नमा यसलाई हामीले कसरी ग्रहण गर्ने भन्ने सवाल प्रमुख हो । यसले आत्मसन्तुष्टि मात्रै नभएर जीवन र जगतका लागि अरु थोकहरु पनि दिन्छ ।

शीतल : साहित्यले समाजलाई के दिनुपर्ने हो जस्तो लाग्छ तपाईंलाई ?

जीवन र जगतलाई दिने विषय क्षेत्रहरु थुप्रै छन् । त्यसमध्ये साहित्य क्षेत्र पनि एउटा हो । अरु कुनै क्षेत्रले दिन नसक्ने सिर्जनात्मक कुरा साहित्यले दिइरहेको हुन्छ र समाजलाई अगाडि बढाइरहेको हुन्छ ।

शीतल : तपाईंको साहित्य सिर्जनामा कसैको प्रेरणादायी भूमिका पनि छ कि ?

एक समय थियो, नाम कमाउन साहित्यकार बन्नुपर्छ भन्ने बुझाई । नाम कमाउन भनेरै यो क्षेत्रमा आइयो भनौं, र त्यो भ्रम लामो समयसम्म रह्यो । भन्नै पर्दा त्यही भ्रमले प्रेरणादायी भूमिका खेलेको भन्न सकिन्छ । तर अहिले साहित्य पठन र लेखन जीवनको आवश्यकता भइसक्यो ।

शीतल : तपाईंको लेखनको विधा कुन हो र किन ?

मेरो लेखन विधा समयअनुसार फेरिँदो छ । अहिले विशेषतः बौद्ध धर्मदर्शन तथा इतिहासको लेखनमा केन्द्रित छु ।

शीतल : मुलुकको इतिहासमा ६०–६५ वर्ष लामो होइन, तर हामी यही बीचमा राणाशासनदेखि गणतन्त्रसम्म आइपुग्यौं । यहाँ अधिकार खोज्ने काम पनि धेरै भयो । अधिकार र कत्र्तब्य सिक्काका दुई पाटा हुन्, तर कत्र्तब्यप्रति त यहाँ कसैको ध्यान गएको देखिँदैन किन होला ?

हामीलाई हाम्रो काम, कर्तव्य र अधिकारको शिक्षा राम्रोसँग दिइएन । र, यो अव्यवस्थाको सिर्जना भयो ।

शीतल : अहिले किताबबाट उपचार भन्ने नयाँ विधि आएको (प्रभावकारी पनि देखिएको छ) छ । त्यसलाई यहाँजस्तो बौद्धिक व्यक्तित्वले राज्यलाई दबाब दिएर नीतिका रूपमा अवलम्बन गर्न लगाउने हो भने मानिसहरू नैतिकवान हुन्थे कि ?

अवश्य । विश्व इतिहासको अध्ययन गर्दा अतीतमा जुन जुन समाजमा ग्रन्थहरुको अध्ययनमा जोडि दिएको पाइन्छ, त्यहाँको वर्तमान पनि राम्रो नै देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा हामीले अन्य कुरामा विकास गरेको भएपनि ग्रन्थ अध्ययनमा उदासिन रहेको पाउँछौं । र, वर्तमान भोगिरहेका छौं । राज्यको नीति नै जनतालाई किताब पढाउने बनाउन सक्यो भने हामी र हाम्रा सन्ततीले एउटा निश्चित गति लिने देखिन्छ । तर दुर्भाय, यही कुरामा हामीमा झन् झन् बिचलन आइरहेको पाइन्छ ।

शीतल : हुन त यहाँ आफै संस्कृति, प्रागइतिहास, इतिहास, दर्शनको अध्यता हुनुहुन्छ र एक प्राज्ञिकको दृष्टिमा यहाँ नेपालको खासमा प्राग्अध्ययनलाई कस्तो देख्दै हुनुहुन्छ ?

इतिहास र संस्कृतिका सवालमा नेपालमा खासै काम हुन सकेको छैन । इतिहासकै अध्ययन हुन नसकिरहेको अवस्थामा प्राग्इतिहासको कुरा गर्नु अलि उत्ताउलो पनि होला । तर प्राग्इतिहासको कुरा गर्न धेरै ढिला भइसक्यौं । कतिपय प्राग्इतिहासका कुरा अतीतको गर्तमा पुरिएका छन् भने कतिपय वर्तमानमा पनि जीवन्त छन् । काठमाडौंको नेवार समाजमा प्रचलित गथांमुगःलगायतका केही संस्कृति प्राग्इतिहासको निरन्तरता हो जुन हिन्दू र बौद्ध दुबै धर्मसँग सम्बन्धित छैन । यी कुराहरुको पनि अध्ययन हुनुपर्दछ ।

शीतल : अहिले नेपालका प्रायशः सञ्चारमाध्यमद्वारा राष्ट्रपतिलाई भयो, अनि समाजमा एउटा असल काम गरिरहेका मानिसदेखि लिएर अपराध कर्म गरिरहेका मान्छेलाई पनि एकै प्रकारको भाषा प्रयोग गर्दै ‘तिमी’ भन्ने गरिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

तँ, तिमी, तपाई, हजुर शब्दको तहगत प्रयोगभन्दा सबैका लागि एउटै ‘तिमी’ शब्द मलाई उपयुक्त नै लाग्छ ।

शीतल : प्रसङ्ग बदलौं, यहाँको दृष्टिमा जीवन के हो ?

जीवन ठोस रुपमा केही होइन । विभिन्न कुराको संयोजनले जीवनको अस्तित्व देखिएको हो, वास्तवमा यो सपनाजस्तै हो । सपनामा पनि हामी सुख, दुःख, डर, त्रास, माया, मोहमा बाँच्छौं । बिउँझिएपनि सबै सकिन्छ । हाम्रो जीवन अहिले सपनाजस्तै भइरहेको छ ।

शीतल : अन्त्यमा नेपाली पत्रकला साप्ताहिकका पाठकलाई के भन्न चाहनुहुन्छ ?

सोच्ने शक्ति त अरुसँग पनि हुन्छ, तर हामी लेखकसँग लेख्ने शक्ति पनि हुन्छ । आफ्नो शक्तिलाई अधिकतम प्रयोग गर्नु पर्दछ । हाम्रो पहिचान लेखन नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb