
जे. कृष्णमूर्ति ‘सेक्स’ का बारेमा के धारणा राख्छन् ? अथवा आफ्नो धारणा राखेकै छैनन् ? – ओशो (रजनीश) का भक्तहरू जिज्ञासा राख्दछन् । ओशोले बोलेका कुराहरूबाट उठेको जिज्ञासालाई शान्त पार्न यसरी जानकारी मागिएको भनेर सजिलै अनुमान हुन्छ किनभने एक समय ओशोले आफ्ना चेलाहरूलाई भनेका थिए– “जे. कृष्णमूर्ति मेरा लागि हुन् र म तिमीहरूका लागि हुँ ।”
अर्थात्, 
ओशोका अनुसार कृष्णमूर्तिलाई जो कसैले बुझ्न सक्दैनन् । संभवतः ओशोलाई डर थियो, आफ्ना अनुयायीहरू आफूलाई छाडेर कृष्णमूर्तितिर लाग्लान् भन्ने र कृष्णमूर्तिसँग आफ्नो विशेष सम्बन्ध रहेको बताएका थिए, एक प्रवचनमा । तर कृष्णमूर्ति ओशोका सम्बन्धमा त्यस्तो केही बोल्दैनन् । वास्तविकता त के हो भने, इण्डिया आएका बेला कृष्णमूर्तिलाई भेट्न खुबै कोशिस गरेका थिए ओशोले, तर कृष्णमूर्तिले उनलाई भेट्नु त के, थोरै मात्र पनि भाउ दिएनन् । त्यसपछि आफ्नो आध्यात्मिक बजार जोगाइराख्न यसरी बोल्नु परेको थियो ।
यस शताब्दीकै सर्वाधिक चर्चित र विवादास्पद दार्शनिकको रूपमा चिनिन्छन्, ओशो । हरेक विषयमा बोलेका छन् उनले, जसलाई जुन विषय मन प¥यो त्यही किनेर सुन्न सक्छन् । जुन मन परेन अथवा मिलेन त्यसलाई त्यहीँ थन्क्याउन पनि सक्छन्, पसलमा जुत्ता छानेजस्तै । ओशोका एक पूर्व ‘फ्यान’ले कुरैकुरामा ठट्टा गर्दै भनेका थिए– के चाहियो मात्र होइन, कस्तो चाहियो भन्ने कुरा पनि छान्न पाइन्छ, कृष्णका विरोधी प्रवचन चाहियो कि समर्थन गरिएका ? संसारमा जति पनि थरीका मान्छेहरू छन् सबैलाई ठ्याक्कै मिल्ने गरी बनाइएका प्रवचनहरू छन्, छान्नु मात्रै पर्दछ ।
ओशोले जति पनि बोलेका छन् वा तर्क गरेका छन्, त्यस हिसाबले उनी अनिवार्य रुपमा विवादास्पद र चर्चित हुनै पर्दछ । तर उनी बढी मात्रामा चर्चामा आउनु र विवादास्पद बन्नुको खास कारण भने बेलाबेलामा उनीद्वारा व्यक्त ‘सेक्स’ सम्बन्धी वक्तव्यहरू नै हुन् । जबदेखि ‘सेक्स’लाई लुकाउनुपर्ने विषय बनायो, त्यसैबेलादेखि खुल्दुलीको कुरा भयो । आफ्नो आध्यात्मिक प्रवचनहरू दिने क्रममा एकपल्ट प्रसङ्गवश सेक्सको कुरा आएको थियो र भक्त एवं विरोधीहरूको ध्यान त्यसैमा अड्किन गएको चाल पाएपछि त्यसउप्रान्त उनले पनि आफ्नो ध्यान त्यसैमा लगाउन थालेका थिए । सयाँैं वर्षअघिदेखि दबाएर खोक्रो सेक्स सम्बन्धका कुराहरू उनले खुलमखुला भन्दै हिँडेपछि उनी एक प्रकारले क्रान्तिकारी नै पनि भए । मौकामा चौका हानेजस्तै यसैबेला उनले आफूलाई आचार्य रजनीशबाट भगवान् श्री रजनीश बनाए । आफ्नो शरीरमा बुद्ध आएर बसेको घोषणा गर्नसम्म पनि बाँकी राखेनन् उनले । र, के भयो कुन्नी, पछि बुद्धको आत्मालाई आफ्नो शरीरबाट विदा गरी पठाएको पनि भन्न भ्याए । जीवनको पछिल्लो चरणमा भने ओशो नामधारण गरेर गए । यस्ता व्यक्तिबाट जे. कृष्णमूर्तिको नाम लिएपछि मान्छेहरूमा उनीप्रति जिज्ञासा जाग्नु स्वाभाविक पनि मान्नुपर्दछ ।
सन् १८९५ मा भारतको आन्ध्र प्रदेशमा एक कट्टर ब्राह्मण परिवारमा जे. कृष्णमूर्तिको जन्म भएको थियो । बालककालमै उनी चाल्र्स वेवस्टर लिडविटरको माध्यमबाट थियोसोफिकल सोसाइटीको सम्पर्कमा पुगे । विश्वभर सङ्गठनहरू विस्तार गर्दै गरेको उक्त सोसाइटीको एउटा काम निकट भविष्यमै अर्को बुद्ध (मैत्रेय बुद्ध) को आगमन हुने कुराको घोषणा गर्नु थियो । त्यहीअनुसार प्रचारप्रसारको काम पनि भइराखेकै थियो । बालक जे. कृष्णमूर्तिलाई पूरा तालिम दिएर मैत्रेय बुद्धका रूपमा घोषणा गर्न सम्पूर्ण तयारी हुँदै थियो । सन् १९०९ मा अठार वर्षको उमेरमा सोसाइटीका अध्यक्ष ऐनी बेसेन्टद्वारा ‘वल्र्ड टिचर’ भनी घोषणा पनि गरिए । तर सोसाइटीका ती प्रयासहरूलाई भताभुङ्ग पार्दै आफू त्यस्तो केही नभएको भन्दै हल्यान्डमा सन् १९२९ मा मन्तव्य दिए र सोसाइटीबाट पनि आफूलाई अलग्ग राखे । त्यस उप्रान्त विभिन्न ठाउँमा प्रवचन दिँदै र चिन्तकहरूसँग छलफल गर्दै हिँड्नु उनको दैनिक कार्य भयो । कुनै एक शुभचिन्तकले उनलाई बस्नका लागि एउटा घर उपहार दिएका थिए । र, उनले सोधे– म यो घरलाई विद्यालय बनाउन सक्छु ?
आध्यात्मिक ज्ञानको क्षेत्रमा जे. कृष्णमूर्तिको आफ्नै ठाउँ छ तर उनको नाममा कुनै आश्रम छैन, न त चेलाहरू नै । ‘गुरुडम’को कुनै अर्थ राख्दैन उनको शिक्षामा । उनले बच्चाहरूका लागि विद्यालय खोल्न प्रोत्साहन गर्थे र नयाँ संस्कृतिको सुरुआत तिनै स्कुलबाट गर्न सकिने उनको धारणा थियो । आज भारत, बेलायत, अमेरिकालगायत थुप्रै मुलुकमा त्यस्ता विद्यालयहरू सञ्चालित छन् जहाँ उनको शिक्षाअनुसार सञ्चालित हुन्छन् । एक समय उनले पन्ध्रपन्ध्र दिनमा विभिन्न विद्यालयहरूलाई लेखेका पत्रहरूको सङ्ग्रह प्रकाशित भएको छ जसको अध्ययनबाट शिक्षासम्बन्धी उनको धारणा बुझ्न सकिन्छ । शिक्षासम्बन्धी उनका अनेकौँ पुस्तकहरूमध्येबाट एउटा सानो ‘द आर्ट अफ लर्निङ’को नेपाली अनुवाद ‘शिक्षामा क्रान्ति’ प्रकाशित भएको छ । यसैगरी उनले कला, संस्कृति, जीवन, दर्शन आदि विषयवस्तुमा बोलेका कुराहरूको पुस्तक तथा ‘अडियो भिजुयल’मा उपलब्ध छन् ।
जे. कृष्णमूर्ति जीवनभर अविवाहित रहे तर ब्रम्हचारी भने थिएनन् । सेक्ससम्बन्धी उनको आफ्नै धारणा थियो । ब्रम्हचर्य र कौमार्यलाई उनले कहिल्यै मान्यता दिएनन् । सेक्सका बारेमा उनको धारणा छ– ‘‘सेक्स भन्ने कुरा तेजयुक्त रक्त अनि कोमल र दुर्लभ फूल हो । यसलाई हिफाजतसाथ हुर्काउनुपर्दछ । यसलाई प्राकृतिक रूपले छाडिएन भने सावधान हुनुपर्ला । सेक्सलाई उन्मुक्त रूपले प्रयोग गर्नु ऊर्जाको ह्रास गर्नु हो । अनि क्रूरतापूर्वक दमन गर्नु एउटा कोमल र सुन्दर भावनालाई कुल्चिदिनु हो । त्यस कारण सेक्सप्रति सजग हुनुहोस्, यसलाई हिफाजतसाथ हुर्काउनुहोस्, आफैँ खोज्नुस् पनि र विकसित गर्नुस् । यसलाई अस्वीकार नगर्नुस् साथै यसैमा अभिभूत पनि नहुनुस् । ०
(पहिलो पल्ट प्रकाशित, हसना म्यागेजिन, वर्ष २ अंक ९, २०६३, असार (जुन–जुलाई २००६)
