लुम्बिनीका सम्बन्धमा कुनै पनि प्रशंंगमा मेरो मानसपटलमा स्मरण हुने व्यक्तित्व हुनुहुन्छ, भिक्षु सुदर्शन महास्थविर । उहाँको एउटा इच्छा थियो, पुरातत्त्वका सम्बन्धमा मबाट औपचारिक शिक्षा हासिल गरोस् र लुम्बिनीको पुरातत्त्वका सम्बन्धमा अझ गहिरिएर अध्ययन गरोस् । औपचारिक शिक्षाप्राप्ती, लुम्बिनीसम्बन्धी अध्ययन र पुस्तक लेखन कार्य सम्पन्न गरेर अहिले “लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन” प्रकाशनमा पनि ल्याएको छु । लाग्छ, उहाँको इच्छा पूरा गरें तर यो पुस्तक समर्पण गर्नुअघि नै उहाँ दिवंगत हुनुभयो । उहाँको वास सुखावती भुवनमा होस् र निर्वाणको कामना पनि गर्दछु ।
वि.सं. २०५३ को बैशाख पूर्णिमाको अवसरमा पुरातत्त्व विभागले पत्रकारिता क्षेत्रमा संलग्न हामी केही पत्रकार र त्रिभुवन विश्वविद्यालयका केही विद्यार्थीलाई लुम्बिनीको अध्ययन भ्रमणमा लगेको थियो । यसअघि २०४७ सालमा शैक्षिक भ्रमणमा त्यहाँ गएको थिएँ । दोस्रो पटक समाचार रिपोर्टिङका लागि जाँदा लुम्बिनीको उत्खनन् कार्य भइरहेको थियो । हामी पत्रकार तथा विद्यार्थीहरूलाई उत्खनन्का सम्बन्धमा ‘ब्रिफिङ’ गर्दै हुनुहुन्थ्यो उत्खनन्मै संलग्न पुरातत्त्वविद् कोषप्रसाद आचार्य । उहाँ स्ट्राटिग्राफीको व्याख्या गर्दै मौर्य, शुंग, कुषाण, गुप्तकालीन भनी पुरातात्त्विक वास्तुअवशेषहरू देखाइराख्नुहुँदा म आश्चर्यचकित हुँदै थिएँ । इतिहासमा मेरो रूचि पहिल्यैदेखि थियो र त्यसउप्रान्त पुरातत्त्वका सम्बन्धमा म नजानिँदो पाराले आकर्षित हुनपुगेछुं । त्यही बेला उत्खनन्मा जापानपक्षबाट संलग्न पुरातत्त्वविद् सातारु उएसाकासँग पनि चिनापर्ची भयो र उहाँबाट थुप्रै जानकारी र उत्खनन्का तस्विरहरू प्राप्त भयो । उहाँबाट पाएका जानकारी र तस्बिरलाई यस पुस्तकमा सदुपयोग गरेको छु ।
लुम्बिनी र त्यसवरिपरिका पुरातात्त्विक स्थलहरूको भ्रमणपछि त्यस सम्बन्धमा प्रकाशित साहित्यको अध्ययनका क्रममा भिक्षु सुदर्शन महास्थविरको सम्पर्कमा पुगेको थिएँ । पछि उहाँकै सानिध्य लुम्बिनीको अध्ययन तथा छलफल गर्ने मौका मिल्यो । मलाई अहिले यस्तो लागिरहेकोछ, यदि उहाँसँग सम्पर्क नभएको भए मेरो रुचिले यति झाङ्गिन पाउँदैनथ्यो वा मुस्किल हुन्थ्यो । पत्रकारिता गर्ने क्रममा लुम्बिनी र त्यस परिपरि थुप्रै पटक भ्रमण गरें । तुलनात्मक अध्ययनका लागि भारतका बौद्ध पुरातात्त्विक स्थलहरूको पनि भ्रमण गरियो । आफ्नो पेशा नै भ्रमण गर्ने, विज्ञहरूसँग भेट्ने र लेख्ने हो । समस्या पर्दा भिक्षु सुदर्शन महास्थविरसँग सल्लाह लिन जान्थें । कुनै कुनै कुरामा उहाँ आफै पनि अलमल भइराख्नु हुन्थ्यो र त्यसबेला दुवै मिली चिन्तनमन्थन गथ्र्यौं । तर अचानक उहाँ दिवंगत भयो ।
भिक्षु सुदर्शन महास्थविर पछि कहिल्यै भुल्न नसक्नेमा दुई व्यक्तित्व छन् । एक, प्रा.डा. मुकुन्दराज अर्याल, जसले लुम्बिनीको पुरातत्त्वको शोधमा गाइड नै हुनु भयो भने अर्का हुनुहुन्छ, वरिष्ठ पुरातत्त्वविद् सुक्रसागर श्रेष्ठ जसले भिक्षुको अभाव महसूस हुन दिनु भएन ।
लुम्बिनीको अध्ययनमा मलाई प्रेरणा दिने समस्त अग्रजहरू र सहयोगीहरूप्रति कतज्ञ छु । यसक्रममा पत्रकारितामा साथ दिने सहकर्मी मित्रहरू, प्रतिकृया दिने पाठक वर्ग, विश्वविद्यालयका अन्य गुरुवर्ग, साथीभाइ, शुभचिन्तकलाई सम्झनु नै पर्दछ । यसरी नै सहयोगी अमिका राजथला र मित्र सुकुम शर्माका अमूल्य सुझावले यस पुस्तकमा प्रभाव पारेको छ ।
बसन्त महर्जन