Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

नेवार महिला कहिल्यै विधवा हुन्नन्

Posted on 2025-04-072025-04-07 by admin
बसन्त महर्जन

समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ तर हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवन पर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा । आफ्नो समाजमा बाल विवाहलाई भित्रिन नदिन अपनाइएको एक संस्कारको फलस्वरुप यो मान्यताको विकास भएको हो । यो संस्कार ‘इही’ हो ।

नेपाली र भारतीय समाजमा विधवा जीवनलाई अभिसापको रुपमा लिइने प्रवृत्ति छ । विधवाले विवाह गर्नु हुँदैन भन्ने लगायतका मान्यताहरुका कारण नेपाल र भारतका लाखौं महिलाहरु अपहेलित, हीन मानसिकता, विकृत मनस्थितिबाट गुज्रेर नारकीय जीवन व्यतीत गरिरहेका हुन्छन् । विधवाजस्तो प्रचलन नारीमाथिको शोषणको रुपमा लिई विधवा विवाहलाई प्रोत्साहन दिनु पर्ने कुरामा जोड दिइन्छ । तर महिलाहरु कहिल्यै विधवा हुँदैनन् भन्ने मान्यता राख्ने नेवार समाजमा विधवा शब्दका लागि आफ्नो भाषामा शब्द पनि छैन । त्यसैले होला, इही संस्कारको प्रसंगमा स्वयम्भूलाल श्रेष्ठ यसलाई प्रगतिशील पाइला भनी प्रशंसा गर्छन् । इहीको प्रशंसा गर्दै उनी अनेकौं ऐन कानून बनाइसक्दा पनि ‘विधवा’को मान्यतालाई नष्ट गर्ने कानून नबन्नु तर नेवार समाजमा भने यस्तो मान्यता नै नहुनुलाई जातीय गौरवको रुपमा लिन्छन् ।

विवाहको अर्थमा ‘इहिपा’ शब्द आजभोलि प्रयुक्त भए पनि पुराना शब्दकोषहरुमा ‘इही’लाई पनि विवाहको अर्थमा नै लिएको पाइन्छ । बालिकाहरुलाई चारदेखि सात आठ वर्षको उमेरमा इही संस्कार सम्पन्न गरिएको हुन्छ । यो मूलतः बेलसँगको विवाह भएको मानिन्छ, जुन हिन्दू धर्मका भगवान विष्णुको प्रतीक हो । यही कारणले गर्दा नेवार महिलाको विवाह भगवान विष्णुसंग भइसकेकोले ऊ कहिल्यै विधवा हुँन्न भन्ने धारणा रहेको छ । भगवान विष्णु अमर हुन्छन् भन्ने मान्यता हिन्दूहरुको मान्यताले पनि यसलाई बल दिएको छ । कथाअनुसार पार्वतीले कुनै पनि नेपाली विधवा हुनु नपर्ने वरदान माग्दा स्वयं महादेवले विष्णुको प्रतीक बेलसँग विवाह गरेमा मात्र पनि विधवा हुनु पर्दैन भनी उपाय बताएका थिए । तर इहीलाई नबुझ्नेहरु नेवार महिलालाई साँच्चैको विवाहका बेलामा पहिल्यै विवाह भइसकेकी र पुरुषलाई अर्काकी स्वास्नी भनी खिसी गर्ने गरेको पनि पाइन्छ । समाजमा महिलाप्रति आउन लागेको समस्यालाई कसरी चातुर्यतापूर्वक निराकरण गरियो भन्ने ज्ञानलाई ठ्याम्मै नबुझ्ने प्रवृत्ति पनि देखिन्छ ।

इहीको विषयमा सरदार इकवाल अलि शाह लेख्छन्– ‘‘अकस्मात् नेवार महिलाहरुको श्रीमानको मृत्यु भएको खण्डमा प्राथमिक विवाह बेलसँग हुनुको महत्व देखिन आउँछ । यसले ऊ विधवा भएको छैन र पुनः विवाह गर्न हुन्छ भन्ने सूत्र देखाउँछ । बच्चा बेलामा नै बेलसँग विवाह भएकोले आफू विधवा नभएको भनी दाबी गर्छन् । नेपालमा नेवार समुदायमा मात्रै यो मान्यता पाइन्छ ।’’

समाजमा बाल विवाहको समस्या चर्को विषय हो । केही ग्रन्थमा रजश्वला नै नभएकी बालिका कन्यादान दिनु पर्छ र यस्तो गर्नाले आमाबाबुलाई धर्मलाभ हुन्छ भनी लेखिएकै भरमा बालविवाहको प्रचलन आएको मानिन्छ । यो मान्यता रहेको समाजमा साँच्चै कुनै वर खोजेर कन्यादान गर्ने चलन चल्यो तर नेवार समुदायमा बालविवाहको विकल्पको रुपमा गजबको इही संस्कारको विकास गरियो । डिल्लीरमण रेग्मीकाअनुसार नेवार समाजमा बालविवाह प्रथा छैन । उनी आफ्नो पुस्तक ‘एन्सियन्ट नेपाल’मा लेख्छन्– ‘‘तर तिनीहरुले आफ्नो महिलाई दैविक वा स्थायी पत्नीत्वको सिद्धान्तअनुरुप जीवनभर विधवा हुनु नपर्ने गरी जोगाएको छ ।’’

इहीको प्रचलन कहिले सुरु भयो भन्ने त्यस्तो कुनै प्रामाणिक लेखोट पाइएको छैन । नेवारभित्रै गोपालीलगायत केही उपसमुदायमा यो प्रथा पाइँदैन पनि । किन पाइँदैन भन्ने खोजीको विषय हो । तर आजभोलि अन्य नेवारहरुको देखासिखीमा उनीहरु पनि आफ्ना छोरीहरुको इही गराउँछन् ।

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि सामाजिक मान्यताअनुरुप नै छ र यसकोे अधिकार महिला वर्गमा निहित छ । यसअनुसार महिलाले लोग्नेलाई सुपारी फिर्ता गरेकै भरमा पारपाचुके भएको मानिन्छ । विवाहको बेला लोग्नेबाट पाएको सुपारी सरह नै मान्यता हुने बजारबाट किनिएका दुई चार वटा सुपारी फिर्ता गरेर पारपाचुके गर्ने कार्य लोग्ने जीवित छँदै मात्र नभएर मृत्यु शैयामा पुगेको, शवयात्रामा वा चितामा जल्दै गरेको अवस्थामा समेत संभव हुन्छ र यति भएपछि जुठो बार्नु पर्दैन । इहीकै आधारमा महिला एकल जीवन बिताउने वा अर्कोसँग विवाह गर्ने भन्ने पूर्ण स्वतन्त्र रहेको हुन्छ भन्ने साँस्कृतिक मान्यता रहेको छ ।

तर नेवार समाजमा आफ्नो मूल्य र मान्यताहरु बिर्सने बढ्दो क्रममा आजभोलि विधवाको मान्यता पाउन थालेको छ । महिलाहरु ‘आफू विधवा हुँ’ भनी श्वेतवस्त्र धारण गर्छन् र गैर नेवार सरह पुनः विवाह नगरी एकल, एकांकी र अपहेलित जीवन बिताउँ छन् । तर यसलाई नेवार समाजमा वाह्य प्रभावको रुपमा लिन सकिन्छ । परम्पराको नाउँमा इही त आजभोलि पनि अनिवार्य रुपमा गर्छ्न् तर अन्य समाजको देखासिखी वा प्रभावमा परेर विधवाको मान्यतालाई पनि हुल्न दिएको छ । अथवा यसरी पनि भन्न सकिन्छ– नयाँ पुस्तालाई इहीभित्रको गूढ रहस्य अचम्मको कुरा हुन थालेको छ । नेवार समाजभित्र हिन्दू र बौद्ध धर्मको प्रभाव पर्ने क्रममा आफ्ना मौलिकताहरु विर्सन थालियो वा अर्थ नबुझे पनि अवशेषको रुपमा निरन्तरता पाइरहेकै छ । सहज, सरल र आदिवासी जीवन शैलीको नेवार समाज बाह्य प्रभाव बढ्दै गएपछि बाल विवाह र विधवाको मान्यतालाई भित्रिन नदिन चलाकी पूर्वक पछि मात्रै इहीको प्रचलन चलाइएको देखिन्छ ।

नेवार समाजमा लैंगिक विभेदलाई बढावा दिने कुनै आधार ग्रन्थ छैन । यिनै कुराहरुको आधारमा नेवार समाजमा महिलाको स्थान पुरुषसमान नै रहेको देखिन्छ । तर विभिन्न अवसरमा देखिने गरेका केही असमानताको प्रश्नमा त्यस्तो भेदभाव देखिन थालेको सही हो तर त्यसलाई परम्पराको रुपमा लिइनु भने हुँदैन, त्यो त अन्य समाजको प्रभाव र विकृति हो । मौलिक मान्यता र संस्कृतिमाथि परेको बाह्य प्रभाव हट्ने हो भने लैंगीक समानताको जीवनशैली स्वतः पुनःस्थापित हुन्छ र यो अनिवार्य पनि हुन्छ ।

( साभार : हसना म्यागेजिन, वर्ष ६ अंक ४८,२०६८)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

This image has an empty alt attribute; its file name is Linkedin-1024x317.png

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb