तपाई त बौद्ध दर्शनको एकजना ज्ञाता हुनुहुन्छ । भगवान गौतम बुद्धको जन्मथलो कहाँ हो खासमा ?
– लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरा बौद्ध वाङमयहरुमा स्पष्ट रुपमा उल्लेख पाइन्छ । तर कालान्तरमा त्यो लुम्बिनी कहाँ पर्दछ भन्ने कुरा नै भेट्टाउन नसक्दा समस्या परेको थियो र विभिन्न अनुमान लगाएर आआफ्नो ठाउँमा दावी गर्ने गरिन्थ्यो । सन् १८९६ मा प्रमाणसहित भेटियो र सबै समस्याको समाधान भयो । यस अनुसार यो २७.४५ उत्तरी अक्षांश र ८३’.१५’ पूर्वी देशान्तरमा पर्दछ र त्यो भूमि नेपालमा पर्दछ भन्ने कुरामा कसैको पनि दावीविरोध छैन अब ।
नेपालको लुम्बिनीलाई पवित्र बुद्ध जन्मभूमि मानिदै आए पनि हालै निर्वासित तिव्वती धर्म गुरु दलाई लामाले त बुद्धको जन्मस्थल नेपाल होइन भनेर भीडियोमा स्पष्ट भनेका छन् नि ?
– बुझाइमा समस्या आयो । दलाई लामाले बुद्धको जन्म लुम्बिनीमा भएको होइन भनेका छैनन् । लुम्बिनी कहाँ पर्दछ भन्ने जवाफ पनि दिएका छैनन् । दलाई लामाको सन्दर्भमा मात्रै नभएर अन्य सन्दर्भमा पनि, लुम्बिनी र कपिलवस्तु एउटै हो भन्ने बुझाइ रहेको पाइन्छ । बुद्धको सन्दर्भमा कसैले ‘कपिलवस्तु’को कुरा झिक्नेबित्तिकै नेपालीहरु अनायासै ‘लुम्बिनी’ बुझ्छन् जब कि यी दुई ठाउँ एउटै होइन, एकै ठाउँमा पनि होइन, लामो दुरीको फरकमा पर्दछ । जन्मस्थल लुम्बिनी स्पष्ट भएपनि बुद्धको गृहनगर प्राचीन कपिलवस्तुका सन्दर्भमा स्पष्ट भइसकेको छैन । हालसालै पनि पुरातात्विक उत्खनन् हुँदैछ र थप कुराहरु प्राप्त भइरहेका छन् तर त्यसको फाइनल रिपोर्ट आइसकेको छैन । स्पष्ट भइनसकेको अवस्थामा नै नेपाल र भारत दुबैले आआफ्नो भूक्षेत्रलाई कपिलवस्तु नामाकरण गर्दा बुद्ध भारतीय हुन् कि नेपाली भन्ने प्रश्न खडा भएको हो । लुम्बिनीमा जन्मेको आधारमा होइन । जन्मस्थललाई नै आधार मान्ने हो भने सारा संसारले जन्मस्थल लुम्बिनीलाई नै मानेको छ । वास्तवमा प्राचीन कपिलवस्तु वर्तमान अवस्थामा नेपाल र भारत दुबै भूभागमा फैलिएर रहेको अवस्था छ तर त्यसलाई स्वीकार नगरी नेपालीले नेपालतर्फ परेको भूभाग र भारतले भारततर्फ परेको भूभागलाई मात्र प्राचीन कपिलवस्तु मान्दा समस्या आइपरेको हो । शिशु जहाँ जन्मेको भएपनि त्यस बखत आमाबाबुको बसोवास जहाँ हो शिशुको जन्मघर पनि त्यहीँ मानिन्छ । यसअनुसार पनि गौतम बुद्धको गृहनगर प्राचीन कपिलवस्तु हो भन्ने कुरामा कसैको विमति छैन अनि त्यो प्राचीन कपिलवस्तु अहिले नेपाल र भारती दुबै देशमा परेका कारण नेपाल अथवा भारत दुबैले आफ्नो मात्रै भनी दावी गर्नु उचित हुँदैन ।
बुद्ध नेपालमा जन्मेका हुन भन्ने नेपालीको दाबी नै ‘ननसेन्स’ हो भन्ने दलाई लामाको दाबी सही हो या बेठीक ?
त्यो भिडियो फुटेज मैले पनि हेरेको छु तर त्यहाँ कसलाई ‘ननसेन्स’ भनेको भन्ने कुरा खुल्दैन । त्यहाँ कसैले प्रश्न गरेको देखिन्छ, प्रश्नकर्ता नेपाली हो वा भारतीय भन्ने कुरा पनि खुल्दैन । अथवा तेस्रो मुलुकको पनि हुनसक्छ । तर यो पक्का हो कि, यही प्रश्न दलाई लामासँग बारम्वार सोधिन्छन् । यो नितान्त रुपमा इतिहास र पुरातत्वसँग सम्बन्धित प्रश्न हो । यो प्रश्नले यही क्षेत्रमा काम गरिरहने हामीलाई पनि कहिले काहीँ वाक्कदिक्क बनाइदिन्छ । अझ, दलाई लामाको कार्यक्षेत्र इतिहास तथा पुरातत्वको विषयवस्तु होइन पनि । जो मान्छेको क्षेत्र त्यो विषयवस्तु नै होइन, उसैसँग यो प्रश्न गर्नुको औचित्य पनि छैन र उनले दिने जवाफको आधिकारिकता पनि हुँदैन । केही वर्षअघि मात्रै उनैसँग यस्तै प्रश्न गर्दा ‘बुद्ध कहाँ जन्मेको भन्ने ठुलो कुरा होइन, मुख्य कुरा बुद्धले के भनेका हुन् त्यो महत्वपूर्ण हो’ भनेर जवाफ दिएका थिए तर नेपालीहरुले त्यसैलाई ठुलो कुरा होइन भन्यो भन्दै तथानाम गाली गरी विरोध गर्न थाले । तसर्थ, आफूसँग बनिबनाउ जवाफ हुँदाहुँदै फेरि दलाई लामासँग उही प्रश्न गर्न जानु नै गल्ती थियो किनभने यो भनेको ‘एग्रीकल्चर’ क्षेत्रको मान्छेसँग ‘कल्चर’ सम्बन्धी प्रश्न गर्न गएजस्तै हो । अर्काे कुरा, दलाई लामा एक सम्प्रदाय विशेषको जिम्मेवार व्यक्ति मात्र हुन्, बुद्ध अथवा सर्वज्ञ होइनन् ।
भारतले आफ्नै देशमा नक्कली लुम्विनी बनाएको पनि छ । भारतीय पाठयपुस्तकमा पनि वुद्धको जन्मस्थान भारत भनेर गलत तथ्य छ । फेरि भारतकै धर्मशालामा बस्ने दलाई लामाले नै यही कुरा भन्नुको संयोग के होला ?
भारतले आफ्नै देशमा नक्कली लुम्बिनी बनाएको भए अहिलेसम्म छोपेर किन राख्यो ? नक्कली लुम्बिनी बनाएकै भए त्यसमा खर्च त लाग्छ नै, त्यसको लागि बजेट बिनियोजन पनि गर्नु पर्छ नै । त्यो बजेट खोइ त ? बिना बजेट नक्कली लुम्बिनी त बन्दैन । नक्कली लुम्बिनी भन्दै कोकोहोलो मच्चाउनेमध्येको एक अन्तर्राष्ट्रिय अभियन्ताले ‘यही हो नक्कली लुम्बिनी’ भनेर मलाई देखाएको सामग्री वास्तवमा पिपरहवाको पुरातात्विक गतिविधि रहेछ । मान्छेहरु लुम्बिनी र कपिलवस्तुमा रहेको फरकलाई नै चिन्दैनन् भन्ने कुराको ज्वलन्त उदाहरण यो पनि हो । पिपरहवा पनि प्राचीन कपिलवस्तुको एउटा भाग हो । नेपालले आफ्नो भूभागमा परेको प्राचीन कपिलवस्तुलाई वास्तापास्ता नगर्ने अनि अर्काले आफ्नो क्षेत्रमा गरेको पुरातात्विक सम्पदाको संरक्षण र विकासमा इष्र्या र आपत्ती गर्नु त भएन नि । भारतले बुद्धलाई भारतीय भन्नुको निहितार्थ प्राचीन कपिलवस्तु भारतमा पर्दछ भन्ने मान्यता हो । यही मान्यताअनुसार भारतले गौरव गर्न किन पाउँदैन ? प्राचीन कपिलवस्तु नेपालमा पनि पर्ने भएका कारण नेपालले गौरव गर्न हुन्छ भने भारतले मात्रै किन गर्नु हुँदैन ? तर जन्मस्थल लुम्बिनी भारतमा पर्दछ भनेर त गौरव गरेको छैन नि, त्यो गौरव नेपाललाई मात्र प्राप्त छ । प्राचीन कपिलवस्तु नेपाल र भारत दुबैमा परेको छ भन्ने ऐतिहासिक तथ्यलाई नस्वीकारेसम्म यो विवाद रहन्छ नै । बुद्धसँग सम्बन्धित स्थलहरुमा मुख्यतः अष्टमहास्थान हो, त्यसमा लुम्बिनी एउटाबाहैक अरु सातै वटा स्थल भारतमा पर्दछ । अहिले बुद्धलाई नेपाली भनेर चिनाएजस्तै कुनै बैला विदशी र विदेशी धर्म भनी चिनाइन्थ्यो । बौद्ध धर्ममा दीक्षित भएकै कारण राणाकालमा बौद्ध भिक्षुहरुले देश निकालाकौ दण्ड भोग्नु परेको तथ्यलाई पनि बिर्सन मिल्दैन ।
के बुद्धको अन्तरराष्ट्रिय राजनीतिकरणको एक फन्डा मान्न सकिन्छ दलाई लामाको पछिल्लो दाबीलाई ?
यो प्रकरण असम्बन्धित व्यक्तिसँग असम्बन्धित प्रश्नले वाक्कदिक्क बनाउँदाको अनियन्त्रित अभिव्यक्तिभन्दा केही होइन जस्तो लाग्छ मलाई त ।
यदि बुद्ध नेपाली होइनन् भनेर दलाई लामाकै दाबी एकैछिनलाई मानिदिंदा पनि आखिर बुद्ध भारतीय हुन् भन्ने तथ्य पनि स्थापित हुदैन नि, हुन्छ र ?
बुद्धको गृहनगर कपिलवस्तु वर्तमान राजनीतिक भूगोलअनुसार नेपाल र भारत दुई भूक्षेत्रमा परेको मात्रै हो बाहेक अरु केही पनि होइन । त्यस बेला ‘नेपाल’ भन्ने देश भइ नै सकेको भएपनि त्यसको भूक्षेत्र काठमाडौं उपत्यका मात्रै हुन्थ्यो र नेपालभन्दा करीब तीन सय किलोमिटर पश्चिममा कपिलवस्तु पर्दथ्यो । यी दुई देश बीच कोलीयलगायत अन्य थुप्रै देशहरुको अस्तित्व होलान् । अझ बुद्धले नेपाल भन्ने देशको नामै पो सुनेका थिए वा थिएनन्, यकिन गर्न सकिन्न । रह्यो भारतको कुरा, बुद्धको बेलासम्ममा भारत भन्ने कुरा नै थिएन । बेग्लाबेग्लै सो¥ह महाजनपद र अनेकौं जनपदहरुको अस्तित्व थियो । त्यति बेला एकताको गुन्जाइस पनि थिएन । बुद्धभन्दा निकै पछि मात्रै मगध महाजनपदले आफ्नो साम्राज्य विस्तार गरेको थियो । त्यो बेला कपिलवस्तु नामक जनपद कोशल महाजनपदअन्तर्गत थियो भने कोशललाई मगधले आफ्नोमा विलय गरेपछि कपिलवस्तु पनि स्वतः मगधमा पर्न गयो । भारत भन्ने नाम यस बेला देखा नै पर्दैन । यस अवस्थामा बुद्ध कालिन बौद्ध स्थलहरु कहाँ कहाँ पर्दछ, त्यसको उचित संरक्षण र सम्वद्र्धन दुबै देशले गर्दै र गौतम बुद्धको शिक्षालाई महत्व दिई जीवनमा उतार्दैै लानु पर्दछ ।
दलाई लामाले यो बेमौसममा किन यो विवाद उठाएको मान्न सकिन्छ ? यसका भित्री र बाहिरी कारणहरु के होलान ?
दलाई लामाले उठाएका विवाद नभएर एक सार्वजनिक समारोहमा प्रश्न गरेर बोल्न लगाएको मात्रै हो । यो भन्दा बढी केही हो जस्तो लाग्दैन ।
यही सम्बन्धमा धर्मोदय सभालगायत बौद्ध संघसंस्था तथा व्यक्तित्वहरुले पनि दलाई लामाको विरोध गरेका छन्, नगर्नु पर्ने हो त ?
विरोध गर्नु हुन्छ वा हुन्न भन्ने सन्दर्भमा एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म ती संघसंस्थाहरुको साधारण सदस्य सम्म पनि होइन । क्याम्पसमा पढाउने बेला तिब्बती बौद्ध धर्म दर्शन पढाउने, दलाइ लामालगायतसँग सम्बन्धित उपसम्प्रदायहरुको चर्चा गर्ने बाहेक उनी वा उनका समर्थकहरुसँग पनि मेरो कुनै सम्बन्ध छैन । यति भन्दाभन्दै पनि ती बौद्ध व्यक्तित्व भनौं वा संघसंस्थाका सम्बन्धमा टिप्पणी गर्नै पर्ने भएको छ । कुनै पनि सम्बेदनशील विषयमा यति हचुवाको भरमा संस्थागत प्रेस विज्ञप्ती निकालेर बस्नु एक प्रकारको बचकाचा हो । मान्छेहरुमा इतिहास र पुरातत्वको जानकारी हुँदो हो, दलाइ लामासँग त्यस प्रकारको प्रश्न नै गरिँदैनथ्यो वा गरि नै हालेको भएपनि विरोधका स्वरहरु यति विधि हुँदैनथ्यो । बुद्ध र बुद्धका सम्बन्धमा जुन शिक्षा प्रचारप्रसार गर्नु पर्ने हो त्यो नभएपछि यस्तो वातावरणको सिर्जना हुनु स्वाभाविक हो । धर्मोदय सभालगायतका बौद्ध संघसंस्थाहरु पुरातत्वका मामिलामा बोल्छन् तर पुरातत्वबारे बुझ्नु आवश्यक ठान्दैन । पुरातत्व क्षेत्रमै काम गरिरहेकाहरु पनि बौद्ध विषयवस्तुलाई अपव्याख्या गरिटोपल्छन् । तर दुर्भाग्य भनुँ वा सौभाग्य, म दुबै क्षेत्रमा उच्च शिक्षा अध्ययन गरेर यसै क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेको छु ।
अब यो भनाईको प्रतिवाद कसरी संभव छ ? के गर्ने वौद्धमार्गीे, सरकार र दुई देश भारत र नेपालले ? केही सझाव दिनुहोस न ।
बौद्ध पुरातात्विक विषयवस्तुमा जिज्ञासा भए यसै क्षेत्रका व्यक्तिहरुसँग प्रश्न गर्नु प¥यो अथवा यस सम्बन्धी प्रकाशित लेखरचना तथा पुस्तक पढ्नु प¥यो । एक जना बौद्ध भिक्षु वा धर्मगुरु हुँदैमा त्यससँग सबै प्रश्नको जवाफ हुनैपर्छ भन्ने मान्यता राख्नु हुँदैन । सम्बन्धित व्यक्तिसँग सम्बन्धित प्रश्न गर्नु पर्दछ ।
(हाल बन्द भइसकेकाे अनलाइन न्यूज पाेर्टलमा प्रकाशित अन्तर्वार्ताकाे साभार प्रकाशन)