
काठमाडौंमा नेवार बौद्धहरुमा चैत्र पूर्णिमाको दिन जामाचो चढ्ने परम्परा पुरानै हो । अरु बेला पनि चढ्दा हुन्छ, चढ्छन् पनि । तर, ल्हुति पुन्हि पनि भनिने यो पूर्णिमामा चढ्नुलाई विशेष मानिनुको भाष्य आदि बुद्धहरुसँग सम्बन्धित छ । चढ्नु मात्रै होइन, कति पटक चढ्यो भन्ने कुराको पनि लेखाजोखा हुन्छ । जति पटक चढ्यो उसको उति नै गौरवको कुरा हुन्छ र मान्छेहरु बडो अदबका साथ यति पटक चढें र उति पटक चढें भनेर मात्रै भन्दै, कुन बेला कोको साथ चढेको र कस्तो भयो भन्ने बयान पनि गरेर बस्छन् । २०८० सालको चैत्र पूर्णिमा २०८१ सालको ११ गते पर्नपुग्यो । गएको वर्ष चढेको हो, यस पटक पनि चढ्ने सुरसार कसेर फूलबारीको गेटमा पुग्छु, विहान ८ः३० बजे । ढिलो गरी चढ्दा गाह्रो हुन्छ ।

साथमा चढ्ने अजितेश पन्त आइपुग्छन् नौ बज्न पाँच मिनेट बाँकी हुँदा । चढ्न सुरु गर्दा नै अजितेशलाई योजना सुनाउँछु, ‘‘पोहर बाटो थाहा नपाएर पुग्न नपाएको गुफामा यो पटक बाटो खोजेरै भएपनि जाने र गुफाबाट फर्केर यही बाटो झरी ऊ त्यहाँ अर्को गुफा छ, यो पटक त्यो गुफा पनि भ्याउने है ।’’
प्रश्न– ‘माथिको गुफा कति हिड्नु पर्छ ?’’
जवाफ दिन्छु, ‘‘धेरै पर्दैन । बीस पच्चीस मिनेट हो । बाटोको छेवैमा पर्छ । त्यहाँबाट झरेर पनि घर पुग्न सकिन्छ तर नझर्ने । झर्दाको बाटो अप्ठेरो छ । आरामसाथ फर्केर आउने ।’’
अजितेश– ‘‘हुन्छ ।’’
पहिलो पल्ट जामाचो चढेको बीस वर्षभन्दा अघि हो । एक्लै । ऊ बेला म प्रायः यात्राहरु एक्लै गर्थें । दोस्रो पल्ट एकाराम सिंसँग । तेस्रो पल्ट गएको साल त्रिचन्द्र र अजितेशले साथ दिएका थिए । दोस्रो पल्ट पनि गुफा पुग्ने मन थियो, एकाराम दाइले मन गरेनन् । तेस्रो पल्ट जाने तरखर त ग¥यौं तर बाटो ठम्याउन नै सकेनौं अर्थात् बिर्सेंछुं । सानो बाटो त देखेको हो, तर त्यही बाटो हो जस्तो लागेन । त्यहाँ थुप्रैसँग बाटो सोध्ने काम पनि भएको थियो तर कसैले जवाफ दिन सकेन । गुफा भनेपछि गुफा यहाँ होइन भन्दै अरु अरु नै देखाउँथे । भगवान बुद्धको ठूलो मूर्ति भएको गुफा हो भनेपछि अनभिज्ञता प्रकट गर्दथे । यही अलमलमा त्रिचन्द्रले त्यहाँ जान अनिच्छुकता प्रकट गरेका थिए र मन मारेर फर्कनु परेको थियो ।
मलाई त्यो गुफा दोहो¥याएर जानै पर्ने दरकार किन छ भने, गुफाको वस्तुस्थितिलाई इतिहास, संस्कृति र पुरातत्वको दृष्टिकोणबाट पर्गेल्नु छ । पहिला नयाँ ठाउँ र नयाँ दृष्यको फोटोग्राफी गर्ने मात्रै ध्याउन्ना हुन्थ्यो । त्यो बेला म एनालग क्यामेरा बोक्थें । थोरै मात्र ‘क्लिक’ गरेर चित्त बुझाउँथे । त्यो बेला फोटोग्राफीको दृष्टिले राम्रो एंगलमा बुद्ध मूर्तिको फोटो त खिचेको तर सांस्कृतिक दृष्टिमा ध्यान दिने शुद्धि नै भएन । अथवा त्यो बेला चासो भएपनि ज्ञान थिएन । त्यही भएर पुनः जानु परेको हो मलाई । यस पटक बाटो खोजेरै भएपनि पुग्ने मनसायले उत्साहित हुँदै जामाचोको उकालो चढदै छु ।


जामाचोको टुप्पोमा पुग्न साढे दुई घण्टा लागेछ । आधा घन्टा त बीच बाटोमा आराम गरेरै बिताएको हो । माथि टुप्पोको आकर्षण भन्नु ठुलो चैत्य हो । बत्ती बाल्ने र पूजा गर्नेहरुको चहलपहलले मेलाको झल्को दिइरहेको छ । त्यस्तै चैत्यलाई नै ओझेलमा पार्ने गरी बनाइएको टावर चढ्नेहरुको लर्को बेग्लै छ । चैत्य वरिपरि अलि बेर बस्यौं । फोटोहरु खिच्यौं । कतै बसेर खाने कि भन्ने लागेको त हो । तर बस्ने ठाउँ खोज्नै पर्ने गरी भीड लागेको छ । थोरै त हो, तलसम्म पुगौं, गुफा तिरै बसेर खाउँ अथवा फर्केर आउने यहीँ त हो’ भन्छु । हुन्छ भन्यो ।
जामाचो चैत्यको छेवैमा आचार्य पद्मसंभवको मूर्ति भएको गुम्बा छ । त्यहाँबाट तल झर्दा मोटर् गुड्ने बाटो आउँछ । त्यहीँ तल हिड्ने बाटो खोज्नतिर लाग्छौं । झर्ने बाटो जस्तोजस्तो लाग्ने एउटा ठाउँ भेटाउँछु । यस्तो त होइनजस्तो लाग्छ । तर त्योभन्दा बाहेक अर्को देख्दिन बरिपरि । त्यही ठाउँ देखाएर कोही बुढाबुढी कुरा गरिरहेको देखेर उनीहरुसँग नै सोध्छु । हो, यही बाटो भएर तल झर्ने रहेछ । सोधें, ‘‘अनि यस्तै अप्ठेरो बाटो हो त ?’’
जवाफ दिन्छ, ‘‘यस्तै हो, तल गएपछि समथर बाटो आउँछ ।’’
अलिकति तल गएर हेर्छु । बाटो धेरै अप्ठेरो रहेछ । बल्लबल्ल अलि तल पुग्छु । यो बाटो नै होइनजस्तो पनि लाग्यो, अर्को बाटो पनि देख्दिनँ । यस्तैमा कोही एक जना तलबाट माथि उक्लिरहेको भेटाउँछु । बाटो यही रहेछ । जामाचो जानकै लागि, मेलाकै लागि भनेर माथि उक्लिरहेको । सोध्छु, ‘‘बाटो यस्तै अप्ठेरो हो ?’’
– ‘‘हो ।’’
– ‘‘तेर्सो तेर्सो बाटो आउँदैन ?’’
यति नै बेला अरु तीन चार जनाको समूह आइपुग्छन् र तीमध्ये एकले भन्छ, ‘‘थोरै हो यस्तो बाटो, अलि तल गएपछि तेर्सो तेर्सो बाटो आउँछ, हामी त्यहीँबाट आएका हौं ।’’
तेर्सो तेर्सो बाटो भनेपछि आफू ठिक बाटोमा नै रहेको लाग्छ । झर्दै गर्छौं । अर्को समूह पनि भेट्छौं र भन्छन्, ‘‘साह्रै अप्ठेरो बाटो हो ।’’
र, म भन्छु, ‘‘तल गुफासम्म मात्रै जाने हो, त्यसपछि यही बाटो फर्कने ।’’
‘‘किन ?’’
‘‘गुफाभन्दा तल नजाने ।’’
तीमध्ये महिला बोल्छिन्, ‘‘गुफा पुगेपछि त पुगि हाल्यो नि, किन फर्कनु प¥यो ? उतै उतै जाने नि ।’’
‘‘बीस पच्चीस मिनेटको बाटो त हो नि, फर्कने हो, उता नजाने ।’’
‘‘कहाँ बीस पचीस मिनेटको कुरा गर्नु हुन्छ । धण्टाभन्दा बढी लाग्छ । गुफा पुगेपछि पुगिहाल्यो नि, उतैबाट थोरै झरेर गाडी चढेर जाने नि ।’’
अब भने म नराम्ररी अलमलिन्छु । मलाई लाग्यो बीस वर्षअघि आउँदाको बाटो मैले भुलिसकेको रहेछु । उ बेलाको अप्ठेरो बाटो सम्झेर यहीँबाट तलसम्म नझर्ने, गुफाबाट फर्कने भनेको हुँ । के गर्ने भनेर अजितेशलाई सोध्छु, ‘‘मान्छेहरु आइरहेको दृष्य देखेर मात्रै होइन, उनीहरुले साह्रै गाह्रो भनेको बाटो नाप्ने सहास पनि बढ्यो होला, यही बाटो जाने र उतैबाट निस्कने मनसाय व्यक्त गरे ।
अलि तल गएपछि दुई बाटो आयो । तल झर्ने एउटा बाटो रहेछ । हामी तल गएनौं, हामी अगाडि बढ्यौं । अरुहरु कुरा गरिरहेको आवाज सुन्छौं र कान दिन्छौं । उनीहरु भन्दै थिए, सिधै गयो भने तेर्सो तेर्सो बाटो आउँने हो, तलको बाटो गयो भने गुफा पुग्ने हो ।’’
हामीलाई गुफा पुग्नु छ । दश पन्द्र पाइला मात्रै अगाडि बढेको न हो । फर्केर आई तलको बाटो झर्छौं । उक्लँदै गरेका एक बुढो मान्छे देखेसो पोख्छन्, ‘‘साहैं गाह्रो, अप्ठेरो बाटो रहेछ ।’’
थोरै मात्र बाँकी रहेको, पुगिसकेको भन्दै सान्त्वना दिएर हामी तल झर्छौं ।
हामीभन्दा अगाडि दुई जना झर्दै छन् । तीमध्ये एक त क्याम्पस पढ्दाको साथी नै हो । कहिलेकाहीँ बाटोमा भेट्ने ती साथीलाई अघि फुलबारीबाट खुड्किला चढ्दै गर्दा भेटेको । अघि त ठुलै समूहमा आएको जस्तो लागेको थियो, होइन रहेछ । दुई जना मात्रै आएको । लौरो टेक्दै झरिरहेका तिनीहरुलाई देख्दा लाग्यो, झर्न नसक्ने त हामी मात्रै रहेछौं । यस्सो फर्केर हेर्छु, अजितेश पनि मज्जाले झरिरहेको देख्छुु । होइन, झर्न नसक्ने र नजान्ने त म मात्रै रहेछु । सोध्छुृ, ‘‘बाबु, गाह्रो भयो ?’’ टाउको हल्लाउँदै भन्छन्, ‘‘छैन ।’’
फेरि भन्छु, ‘‘कि फर्कौं ?’’
‘‘ह्याँ, अंकल पनि, यति आइसकेपछि के फर्कनु, अगाडि बढिस्यो न ।’’
अचानक ‘सिलिलिलि’ आवाज आउँछ । अगाडि साथीसँगै आइरहेको अर्को साथीको सन्तुुलन बिग्रेको रहेछ । चिप्लेछ । लौरो पनि हुुट्टिएछ । हातमा घाउ भएर रगत बग्न थालेछ । त्यस्तै खुुट्टामा पनि चोट लागेछ । तर धेरै ठुलो घाउ त होइन । त्यहीँ बसेर रगत नबग्ने गरी बाँढेर बसुन्जेल हामी अगाडि बढछौं ।
रुख समात्दै, हाँगाको सहारा लिएर मात्रै झरिरहेको होइन, भुुईँमा रहेको रुखको जरा खोज्दै पाइला टेकिरहेको छु । उफ्, हातमा माटो अलि प¥यो कि, दुई हात टकटक्याएर सफा गर्ने बानि परेको छ, यहाँ पुगेपछि त्यो बानि त कता हो कता, बरु त्यही हातले भुुईँमा टेको लिँदै झरिरहेको छु । दुई हातले टेक्दै र बसेर घस्रिँदै पनि झरिरहेको छु । भुुईँमा देखिने जरा नै झर्नको लागि सबैभन्दा भरपर्दो सहारा भयो । त्यो जरालाई समात्यो, त्यसैको बलमा पाइलालाई कहीँ अड्कायो, अनि हातले कहीँकतै समायो ।
माथिबाट तल झरिराख्नेहरुको एउटा समूहको ठूलै आवाज सुनियो । समूहमा ठूला मात्रै होइन ससाना केटाकेटीहरु पनि छन् । हल्लीखल्ली गर्दै झरिरहेका तिनीहरुमा के कुरा स्पष्टसँग देखियो भने, ठुलालाई त गाह्रो नै रहेछ ।
एक ठाउँमा पुुगेर केटाकेटीहरु ठुुलो हाँगालाई पिंग बनाएर खेलिरहेको भेटाउँछु । त्यसको माथि एउटा ढुुंगो छ । त्यही ढुुंगोमा बसेर अजितेशलाई पर्खन्छु । आइपुुग्छन् । भन्छु, ‘‘पक्कै पनि यो अर्कै बाटो हो । पहिला आउँदा यस्तो गाहे थिएन । गुफा पछि मात्रै अप्ठेरो बाटो झर्ने हो । अघि सुरुमै छाडेको बाटो नै हुनुपर्छ, मैले भनेको गुफा जाने बाटो । यो अर्कै गुुफा जाने नै बाटो हुनसक्छ । अर्कै गुुफामा पुुग्यो भने पनि राम्रो नै हुन्छ, नयाँ कुरा थाहा पाउने हुन्छ ।’’
केही तल झरेपछि उक्लिरहेकाहरुमध्येबाट कसैले बीस मिनेट मात्रै बाँकी भन्छ कसैले पाँच मिनेट, आइहाल्यो । अलिकति झरेपछि अजितेश कराउँछन्, ‘‘उ, गुफा आइहाल्यो ।’’
‘‘कता ?’’
देखाएको तिर आँखा दौडाउँछुु, देख्दिन । जंगलको अँध्यारो मात्रै देख्छु। केही लुुङु्ता देखेकै भरमा गुफा भनेको रहेछ । साँच्चै त्यहीं गुफा रहेछ ।
जुन गुफा खोज्दै आएका हौं, त्यही गुफा रहेछ । त्यहाँ पानी खुुवाइराख्ने महिलाहरु छन् । थोरै थोरै मिश्री पनि बाँडिरहेका छन् । काँक्रो पनि काटेर खुवाइरहेका छन् । घटघट घटघट पानी पिउँछु । मिश्री लिन्छु र चपाउँछु । जीउलाई अलि आराम मिल्छ । स्फूति बढ्छ । ओडार मात्रै भन्दा पनि पुग्ने खालको गुफाभित्र छिर्छु र निरीक्षणतिर लाग्छु ।
पहिला त्यहाँ केही थिएन, मूर्तिहरु मात्रै थियो । अहिले सफा छ । मूर्तिहरु पनि सजाइएका छन् । मूर्तिहरुको अवयवहरुमा ध्यान दिएँ । ठूलो मूर्ति अक्षोभ्य बुद्धको हो । त्यसको बायाँ सानो आकारको अमोघसिद्धि बुद्धको मूर्ति छ । अमोघसिद्धि बुद्धको शीरमाथि नाग हुन्छ र यही नाग देखेको भरमा यसलाई नागार्जुनको मूर्ति भनेर बुझ्ने र चिनाउनेहरु कम्ती छैन । यही गुफामा बसेर नागार्जुनले ध्यान साधना गरेको र उनैको नामबाट यो ठाउँकै नामाकरण गरेको कुरालाई नकार्ने ठाउँ छैन तर यस क्षेत्रमा भएका अमोघसिद्धि बुद्धका जम्मै मूर्तिलाई नागार्जुन भन्नु त आपत्तीजनक नै हो । शोध ग्रन्थ र प्राज्ञिक संस्थाबाट प्रकाशित पुस्तकमा नै यस्तो गल्ती पाइनु पक्कै पनि आपत्तीजनक छ । यसरी नै द्वारको बायाँ छ वटा हात र तीन वटा शीर भएको कुनै नारी मूर्ति देखें । यो मूर्तिको बगलमा नै एउटा शिलालेख पाएँ । त्यतैतिर तर बाहिर पनि अर्को एउटा शिलालेख रहेछ । अर्को पट्टि ध्यान गर्नेहरुलाई सुविधाका लागि ओछ्याउने राखिएका छन् । मेरो अर्को ध्याउन्ना भनेको त्यहाँ देखेको चैत्यको अवयव हो । पहिला त्यत्तिकै मिल्किरहेको त्यो अहिले अक्षोभ्य बुद्धको ठिक सामु राखिएको छ । बुद्ध मूर्तिको अगाडि राखिने आर्टिफ्याक्ट होइन यो । यो त चैत्यको एउटा अंग हो र अन्य अंगहरु कता कता गएपनि यो एउटा बाँकी रहेको छ । पहिला साधा ढु्ंगा थियो भने अहिले यसलाई रातो रंगले रंगाइएको छ । यसले आफ्नो इतिहास बताइरहेको छ, लिच्छविकालिन हो । तर मूर्तिहरु लिच्छविकालिन होइन ।
यहाँ गुफामा पुुगेपछि स्पष्ट भयो, बीस वर्षअघि हिडेको बाटो भुुलेको रहेछुु । तेर्सो बाटोको छेवैमा गुुफा भनेर जुन भन्दै आइरहेको छु, यही गुुफाबाट पछाडि फर्केर हेर्दा तेर्सो नै त होइन, अरु भन्दा तेर्सो नै देखिने रहेछ, त्यस्तै बीस बाइस फीट बाटो । यहाँबाट खुुडकिला छन् । खुड्किला झर्दै आएर एउटा सम्म परेको ठाउँमा बसेर खाजा खान्छौं र अलि अलि तल आएपछि पचली भैरवको मन्दिर आउँछ । त्यसपछि निकुुन्जबाट निस्केर फर्कन गाडी चढ्छौं ।