Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

एकाराम सिंसँगको घनिष्ठता

Posted on 2024-04-192025-03-04 by बसन्त महर्जन
बसन्त महर्जन

दिउँसोतिर मेरो मोबाइलमा एकाराम सिं को नम्बरबाट फोन आयो । यो भनेको वि.सं. २०७८ जेठ २४ सोमबारको दिन दिउँसो ४ः३० बजे हो । कोविद भएर लामो समयदेखि उपचारका लागि अस्पताल भर्ना भइरहेका व्यक्तिको फोन आउनुले स्वास्थ्य स्थितिमा सुधार आएको बुझाइ हुनु स्वाभाविक हो । मेरो बुझाइ पनि यही भयो । केही समयअघि म आफै पनि कोविड थिएँ । त्यो बेला कसैसँग फोनमा कुरा गर्नु नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । रोगकै बारेमा भने धेरै कुरा गरियो । के कस्तो छ भनेर सोध्नेहरुले पनि थोरै बोलेर कुरा सकाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । बोल्न मन नलागेर होइन, गाह्राे भएर । कष्टपूर्ण स्थिति भोगिसकेको भएर होला, एकाराम अस्पताल भर्ना भएको थाहा पाएपछि सुस्वास्थ्यको कामना र उहाँका बारेमा अरुसँग कुरा गर्नुबाहेक फोन गरिनँ । कुनै बेला थियो, दिनहुँ फोनमा कुरा हुन्थ्यो, थोरै होइन, घन्टौं, अनेक विषयमा । भेटघाट र घुमफिर पनि उत्तिकै भइरहन्थ्यो । त्यो दिन फोन आउदासात मेरो बुझाइ बनेको थियो, निको भइसकेछन् र फोनमा कुरा गर्नसक्ने भएर फोन गरेका हुन् । हत्तपत्त उठाएँ, तर महिला स्वर । स्तब्ध भएँ । पछि थाहा पाएँ, छोरीले गरेका हुन् । मलिन स्वरमा बोले, ‘‘एउटा नराम्रो खबर छ ।’’

के भयो ? मृत्युको समाचार रहेछ ।

एकारामसँग मेरो सम्पर्क कहिलेबाट भयो, ठ्याक्क सम्झना छ्र्रैन । म विश्वमूमि दैनिकमा संलग्न हुनुभन्दा अघिदेखि नै हो जस्तो लाग्छ । म २०५२ मा विश्वभूमिमा संलग्न भएको हुँ । त्यसभन्दा अघि नै चिनाजानी भएजस्तो लाग्नुको कारण हो, भाषासाहित्य क्षेत्रमा मेरो सक्रियताको प्रवेशद्वार विश्वभूमि होइन । तर यो पक्का हो, विश्वभूमिमा उहाँ कहिले के सामग्री लिएर आउथे त कहिले के । यसरी नै कहिले सौभाग्य प्रधानाङ्गलाई लिएर आउथे । कहिले जुनुमैया बासुकला । उ बेला सौभाग्य संस्कृतिसम्बन्धी विश्वविद्यालयको शिक्षा सकाएर बसिरहेका घरमा त्यत्तिकै बसिरहेका थिए । एकारामले हौसला दिँदै लेख लेखाउँदै प्रकाशनका लागि विश्वभूमिमा ल्याउने हो । विभिन्न ठाउँमा लगी चिनापर्ची गराउँदै हिड्थे । यसरी नै जुनुमैंया कार्टुन लेख्थे । ती कार्टुन चित्रहरु पत्रिकामा छापेर कलाकारको रुपमा विकास अगाडि बढ्न हौसला दिनु पर्यो भनेर हाम्रोमा ल्याउने हो । हामी छाप्थ्यौं । एकाराम आफै पनि चित्र लेख्ने कलाकार । विभिन्न वातावरणीय संस्थाका चेतनामूलक सामग्रीहरुमा उनका चित्रहरु छापिन्थ्यो र केही सामग्री उपलब्ध गरिदिन्थे । यसरी प्राप्त कतिपय सामग्रीका आधारमा मैले वातावरण सम्बन्धी लेख लेखेको छु ।

उनी ज्यापू समुदायका सम्बन्धमा पहिल्यैदेखि लागि परेका भनेर पहिल्यैदेखि थाहा थियो । ज्यापूसम्वन्धी कतिपय सन्दर्भमा पढ्दै र सुन्दै आइरहेको नाम पनि हो । यो समुदायको विकास गर्नुपर्छ, अन्यबाट शोषणमा पर्ने गरेको र हेपिने गरेको भन्ने कुरामा उनीसँग हिसाबकिताब तन्नै थियो । आफू पनि सोही समुदायको भएर होला, मसँग उनी त्यही बेला नजिकिनु भयो । ज्यापूका बारेमा कतिपय सन्दर्भमा हाम्रो मतैक्य भएपनि छलफल जहिल्यै हुन्थ्यो । ज्यापूमाथि हुने थिचोमिचो, समस्याको समाधान र संभावनाका बारेमा लामो छलफल हुन्थ्यो । ज्यापूहरु आफ्नै नेवार समुदायबाट कसरी र कति हदसम्म दबाइएका थिए र अझै पनि कस्तो रुपमा भेदभाव गरिन्छन् भन्ने सवालमा म उहाँबाटै अवगत भएको हुँ । म कीर्तिपुरको ज्यापू । उनको कुरा सुनेर मलाई लाग्या,े नेवारभित्रै ज्यापू भनेर हेप्ने तथा शोषण गर्ने प्रवृत्ति कीर्तिपुरमा भन्दा बढी काठमाडौं र भक्तपुरमा हुँदो रहेछ । कतिपय ज्यापू अरुबाट नहेपियोस् भनेरै ज्यापू समुदायभित्रको महर्जन, डंगोल, सिं, सुवाल आदि थरहरु लुकाएर अन्य गैर ज्यापू समुदायको थर ग्रहण गर्नेगरेको पनि उनी बरोबर सुनाउनु हुन्थ्यो । सुवाल नै हो, काठमाडौंको एक प्रतिष्ठित घरानासँग पुर्खाका बारेमा सोधखोज गर्न एक दिन पुगेका थिए तर सुवालहरु ज्यापू होइनन् भनेर जवाफ मात्रै दिएनन्, अपमानित गरेर फर्काएको कुरा उनले ककसलाई सुनाए कुन्नी तर मलाई भने विश्लेषणसहित नै सुनाए । नेवारभित्रको कुनै अर्कै समुदाय, श्रेष्ठलगायतका थरहरु ग्रहण गर्ने र ज्यापूलगायतलाई हेप्न अघि सर्ने गरेको कुरा उनी बडो रोचक ढङ्गले बरोबर सुनाउँथे । साथै, मौलिक रुपमा ती कुन थरका नेवार रहेछन् भनेर खोजबीन पनि गर्थे । यस प्रकार जातीय विभेदको यो विषयलाई बौद्धिक ढंगले कुरा गर्थे जुन लाभदायी समुदायका लागि पाच्य हुँदैनथ्यो ।

म जातीय संघसंस्थामा खासै रुचि राख्दिन तर उनी यसैमा जोड दिन्थें । यसमा वास्ता नगरेको भन्दै गाली पनि गर्थे । अहिले ज्यापू महागुठी नामको जुन संस्था छ, यसको स्थापनाको अवधारणा एकारामबाटै सुरु भएको हो । तर स्थापना र विकासका क्रममा संस्थाले अवधारणा नै बिर्सेको उनी बरोबर उल्लेख गरिरहन्थे । ज्यापूहरु सर्वाङ्गीन विकासका लागि फेरि पनि संस्थाको आवश्यकता भएको कुरामा जिकिर गर्दै पुनः अर्को संस्था खोल्नु पर्नेमा उनी जोड दिइरहन्थे । पढेलेखेका ज्यापूहरुको भेला गर्ने र त्यसपछि के भर्ने भन्ने कुरा सोच्ने भनेर पनि कुरा गर्थे । लामो छलफलपछि एउटा संस्था र त्यसले गर्ने कार्य योजनाको अवधारणा पत्र तयार पारें । अभियन्ताहरुको बारेमा अध्ययन गर्दै हिडेको बेला थियो त्यो, र ज्यापू समुदायको विकासमा के कस्तो गर्नु पर्छ भनेर नयाँ अवधारणा पत्र तयार पार्नमा मलाई खासै गा¥हो थिएन । तर उक्त अवधारणा पत्रले मूर्त रुप लिन पाएन ।

इतिहास, संस्कृति तथा पुरातत्व अध्ययन विभाग (त्रिवि) मा हामी दुई क्लासमेट । उनको आफ्नै कामहरु हुन्थ्यो र क्लास एटेन्ड गर्न कीर्तिपुरसम्म आउन भ्याउँदैनथे । क्लास एटेन्ड गरेको मुस्किलले दश बा¥ह दिन मात्रै होला । तर क्लासको बारेमा हाम्रो छलफल फोनमा वा भेटेरै पनि प्रायः बरोबर भइराख्थ्यो । काठमाडौंको फिल्ड भिजिट त जसोतसो भ्याउथे र एक महिना लामो तराईको फिल्ड भिजिटमा भने दश दिनपछि मात्रै जोडिन आइपुगे । छुटेको फिल्ड भिजिट के गर्ने भन्ने सवालमा बडो समस्या आयो । त्यसपछि महत्वपूर्ण ठाउँहरुको घुमाइदिने जिम्मा मलाई नै आयो । ती क्षेत्रहरुमा आफू दोहो¥याएर पुग्यौं र धेरै कुराहरु शेयर गरें । हामी दुई मात्र हुन्थ्यौं र हामी बीच विषयवस्तुमा छलफल वा विचारविमर्श पनि हुन्थ्यो जसले गर्दा मलाई नै फाइदा भएको थियो । एक्जाम आइसक्ने तर उनको तयारी भइनसक्ने हुन्थ्यो । यस्तो अवस्थामा म उनको अनामनगरस्थित घरमा पुग्थें । जाँचको अघिल्लो दिन उनी मेरो घर कीर्तिपुरमा आउँथे र कोर्सका बारेमा दिनभर भनेजस्तै छलफल गरेर बस्थ्यौं । भोलिपल्ट एक्जाममा एटेन्ड हुन्थे मात्र होइन, मज्जाले लेख्न सक्षम पनि हुन्थे । विषयवस्तुमा हामी अनभिज्ञ थिएनौं तर एक्जामको दृष्टिले पनि तयारी गर्नु पर्ने हुन्छ ।

एकारामको एउटा चाहना थियो, दुई जना केही दिनका लागि बनारस र सारनाथ जाने । यी दुई ठाउँ मलाई असाध्यै मनपर्छ । कुनै बेला छप्पाछप्पा मारेर हिडिसकेको हो । अझै पनि त्यसरी बरालिन जान मन लाग्छ । त्यहाँ अरुसँग पनि घुम्न सक्थे उनी तर मसँग नै घुम्ने चाहना राख्नुको कारण विषय क्षेत्र मिल्ने भएर हो । तर उनी आफै बेफुर्सदी, उनलाई मिलेको समयमा मलाई पनि मिल्छ नै भन्ने थिएन । वर्षौंपछि बल्लबल्ल दुबैको समय मिल्यो तर त्यही बेला अर्को एक व्यक्ति थपिने भयो । ती व्यक्तिलाई छाडेर जान नमिल्ने, साथमा लिएर गयो भने हाम्रो अध्ययनमा वाधा पर्ने पक्का थियो किनभने रुची मिल्दैनथ्यो । हामी घुम्नको लागि मात्रै जान लागेका त थिएनौं । बरु पछि जानु पर्ला भनेर स्थगन गरेको यात्रा हुनै पाएन ।

सुरुमा मलाई लागेको थियो, एकारामको यति धेरै घनिष्ठता मसँग मात्रै हो । उनका बारेमा केही सोध्नुप¥यो भने कतिपय मलाई सम्पर्क गर्थे । मलाई पनि लाग्थ्यो, उनका सबै कुरा मलाई थाहा छ । हामीबीच अन्तरंगका कुराहरु पनि हुन्थ्यो । उमेरले म कान्छो, तसर्थ स्वाभाविक रुपले ‘एकाराम दाइ’ भन्थें भने उनी पनि मलाई ‘बसन् दाइ’ भन्थे । उनले ‘बसन् दाइ’ भनेर सम्बोधन गर्ने बेलामा सम्मान र आत्मियताको अनुभूति हुन्थ्यो । त्यस्तै परेको बेला गाली पनि गर्थे, घरमा आफ्नै दाजुले जस्तै । यस्तो अवस्थामा त्यस प्रकारको भ्रम हुनु स्वाभाविक हो । तर यो भ्रमले ममाथि भने अलि लामो नै समयसम्मै राज ग¥यो । वास्तविकता त के हो भने उनी जोसँग पनि मित्रवत व्यवहार गर्ने, सरल स्वभाव, सहज सम्बन्ध र सहयोगी हुन् । उनको यो स्वभावले धेरैलाई आफूमात्रै उनको घनिष्ठ मित्र भन्ने लाग्नु अस्वाभाविक पनि होइन ।

तर उनी कोरोनाबाट मुक्त हुनसकेनन् । हामी मलामी पनि जान सकेनौं । तर श्रद्धा अर्पण गर्दै सुगतिको कामना त गर्न सक्छौं । सुगतिको कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb