Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
    • Review
    • About Book
    • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?

Posted on 2024-04-182024-04-18 by बसन्त महर्जन

धामी झाँक्रीहरू ढ्वाङ्ग्रो ठोक्दै, नबुझिने भाषामा बर्बराउँदै आफ्नै तालमा नाचिरहेको देख्नुभयो र अगाडि बिरामी पनि छ भने बुझ्नुहोस् तिनीहरूले बिरामीको उपचार गर्ने प्रयत्न गरिरहेका छन्। यदि बिरामी छैन तर त्यस्तै गरी ढ्याङ्ग्रो ठोकेर केही गरिरहेका छन् भने चिन्ता बसेको पनि हुन सक्छ। केही समयअघि मोरङको बेलबारी ६ बोराबाँधस्थित स्कूलमा केही समय अघि स्कूलमा भूतप्रेत र आत्माले दु:ख दिएको भनेर लक्ष्मीमार्गबाट लगिएका धामी चिन्ता बसेको समाचार सार्वजनिक भएको थियो।

नियमित रूपमा गर्नुपर्ने काम गरेको भए त्यसलाई साधना भन्न सकिन्थ्यो तर त्यस्तो पनि होइन। यस्तै विविध घटना र धामीझाँक्रीको क्रियाकलापबारे बुझ्न उनीहरूसँग अन्तरंग हुनु आवश्यक थियो। २०६३ सालतिर यो पंक्तिकार रुकुम जिल्लाको सुलिचौरबाट दुई दिन हिँडेर पुगिने लुकुम गाउँमा स्थानीय खाम झाँक्रीहरूकै बारेमा बुझ्न भनेर करीब बीस बाईस दिन बसी अनेक पक्षहरू नियालेको थियो। थुप्रै झाँक्रीहरूसँग अन्तर्वार्ता गरियो। ती मध्ये युवा जोस भएका झाँक्री जोडे पुनले निर्धक्क बोलेका थिए– ‘हामी नेपालका डाक्टर हौं।’

धामीझाँक्रीको प्रचलन तामाङ, गुरुङ, राई, लिम्बू, चेपाङ, राजवंशीलगायत थुप्रै जातीय समुदायमा पाइन्छ। ती विविध समुदायका धामीझाँक्रीहरूमा झट्ट हेर्दा केही समानता देखिए पनि व्यापक मात्रामा विविधता पाइन्छ। यो विविधता ज्ञानको अनेक आयाम पनि हो भन्दा कतिपयलाई आपत्ति हुन सक्छ तर अध्ययन भने हुनैपर्छ। हठात अस्वीकार गर्नु मनासिब हुँदैन। यो संस्कृतिको बेग्लै पाटो हो र संस्कृतिहरूको अध्ययन क्षेत्रमा लागेको हुनाले यी धामीझाँक्रीहरू पनि मेरो लागि श्रोतव्यक्ति हुने गर्दछन्। कुनै समुदाय विशेषको कुरा सुनेर सबैलाई एउटै रूपमा बुझ्नु नै यस क्षेत्रमा हुने ठूलो गल्ती हो। यस अर्थमा यसलाई अध्ययनको क्षेत्र बनाउनु आवश्यक छ।

धामीझाँक्रीहरूको कुरा प्राय: गरेर चिकित्सा क्षेत्रमा आलोचनाको विषय बन्ने गरेको छ। यिनीहरूको भर परेर कतिपयले अनाहकमा ज्यान गुमाउनु परेको, सास्ती पाएको र समयसमेत खेर गएको भन्ने नसुनिएको होइन। यसरी नै ठगीका घटनाहरू पनि हुने गरेका कुरा सुन्न र पढ्न पाइन्छ। धामीझाँक्रीहरू अरु उद्देश्यभन्दा बढी रोगव्याधीमा नै संलग्न हुने हुनाले समयमा यसको आफ्नो छुट्टै महत्व पनि छ। गजब त के भने आधुनिक चिकित्सा प्रणाली पुगेको ठाउँमा पनि धामीझाँक्रीको प्रभाव रहिरहेको पाइन्छ। पढेलेखेको, सुशिक्षित, आधुनिक तथा सचेत भनाउन चाहनेहरू प्राय: ‘एलोपेथिक’ चिकित्सा पद्धतितर्फ आकर्षित छन्। उनीहरू ‘होमियोपेथिक’ र ‘आयुर्वेदिक’ चिकित्सा पद्धतिलाई अलि कमसल, अविश्वास र हेय दृष्टिले हेर्छन्। धामी झाँक्रीले गर्ने अभ्यासलाई भने यी तीनवटै पद्धतिले ठाडै अस्वीकार मात्र गर्दैनन्, अवैज्ञानिक, अन्धविश्वास र आपत्तीजनक भन्दै प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिन्छन्।

यद्यपि नेपालको धेरै भूक्षेत्र र जनसमुदाय धामीझाँक्रीकै भर पर्छन् भन्ने कुरालाई ठाडै अस्वीकार गर्न मिल्दैन। झाँक्रीबाट स्वास्थ्य लाभ गरेको भन्नेहरूको संख्या पनि कम छैन। ‘एलोपेथिक’ र ‘होमियोपेथिक’ भन्दा अघि आयुर्वेदिक चिकित्सा भए पनि यसले सम्पूर्ण समाजलाई समेटेको थिएन। आयुर्वेदिक चिकित्सा प्रणालीभन्दा अघि दैवी शक्तिमा आधारित मानिने धामीझाँक्री प्रथा थियो।

धामीझाँक्री प्रथा अध्ययन, अनुसन्धानभन्दा बाहिर हुनसक्दैन। यसबारे अनेकौं प्रश्न गर्नै पर्छ र सम्बद्ध व्यक्तिहरूले पनि ती प्रश्नहरूको चित्तबुझ्दो उत्तर दिनु पर्छ। प्रश्नको जवाफ सटिक रूपमा नआएकाले पनि यो क्षेत्र बद्‍नाम र उपेक्षित हुनपुगेको हो। झाँक्री प्रथाबारे बिना अध्ययन नकारात्मक निष्कर्ष निकालिहाल्नु हतारको निर्णय हुनसक्छ।

आफूहरूलाई ‘नेपालको डाक्टर’ भन्ने झाँक्री जोडे पुन ‘डाक्टर भन्नु र नभन्नुको मापदण्ड सुकिलो मुकिलो लुगामा सजिने वा नसजिने तथा विरामीसँग मोटो रकम असुल्ने वा नअसुल्ने’ काइदालाई बनाउन नहुने विचार व्यक्त गर्दछन् जुन आफैंमा व्यङ्ग र गुनासो पनि हो। यो तर्कपूर्ण पनि छ। अन्य झाँक्रीहरू यसरी तर्कपूर्ण कुरा राख्ने र प्रश्न गर्ने गर्दैनन्। उनी यो पनि स्वीकार्छन्, आधुनिक चिकित्सा पद्धतिका डाक्टरहरू जे जति जान्दछन् त्यति आफूहरू जान्दैनौं। झाँक्री विद्या सिक्ने बेलामा नै विरामीको सेवामा समर्पित हुन्छु भनेर गुरुसँग शपथ लिने भएका कारण गाउँघरमा विरामीको सेवा गर्न चौबीसै घन्टा ‘स्टायन्ड बाइ’ हुने लुकुम गाउँका यी झाँक्रीहरूले उपचार बापत कुनै शुल्क नलिनुका कारण पनि गुरुबाट आज्ञा नहुनु हो। उपचार गर्दा खान दिएको अलिकति रक्सीमा नै उनीहरू खुशी हुन्छन्। बिहानैदेखि रक्सीको सेवन र निम्न जीवनस्तरका कारण आधुनिकतामा भिजेकाहरूबाट यिनीहरू अपहेलित हुनु स्वाभाविक हो।  सामान्य लेखपढ गर्नसक्नेहरू पनि थोरै मात्र छन्।

धामी र झाँक्री भन्ने बित्तिकै अवैज्ञानिक, अन्धविश्वास, पछौटेपना बुझिहाल्ने प्रवृत्ति मौलाइरहेको अवस्थामा  झाँक्रीहरूका कुरालाई हाँसोमा उडाउनु प्राकृतिक, अध्यात्मिक र मनोविज्ञानका पाटोहरूलाई उपेक्षा गर्नु हो। यी झाँक्रीहरूले ‘कि विधिले निको पार्छ कि विरुवाले निको हुन्छ’ भन्नुको अर्थ हो, मन्त्र पाठ गर्नुका अतिरिक्त यहाँ जडिबुटीको समेत उपयोग गरेर उपचार गरिन्छ।

कुन रोगका लागि के जडिबुटी चाहिन्छ भन्ने कुरा झाँक्री विद्या सिक्ने बेलैमा गुरुले बताएका हुन्छन्। कुन जडीबुटी कहाँ पाइन्छ, कसरी संकलन गर्ने, बिरामीलाई कति मात्रा दिने जस्ता कुरा पनि गुरुबाटै सिकेका हुन्छन्। निश्चित जटीबुटीका लागि निश्चित बार मिलाएर खन्नु पर्ने, ल्याउन पनि निश्चित बार हुनुपर्ने मान्यता छ। उनीहरूका अनुसार जुटिबुटी उखेल्दा निश्चित मन्त्र पनि पढ्नु पर्ने तथा कुनै जटिबुटी विशेषका लागि चल्ला काट्नु पर्छ। अदृश्य शक्तिको साधनाका अतिरिक्त जटिबुटीले गर्दा बिरामीको उपचार संभव भएको मान्यतालाई ठाडै नकार्नु मनासिब हुँदैन। यसमा मनोवैज्ञानिक प्रभाव हुनु पनि उत्तिकै संभावना छ।

आयुर्वेदका सवालमा अभिलेखीकरण भइसकेको मान्नु पर्छ। हजारौं वर्षअघि नै विकास भएको र लिपिबद्ध भई औपचारिक रूपमा प्रशिक्षण पनि हुने यसलाई पनि एलोपेथिक उपचार पद्धतिले उपेक्षा गर्नुका साथै आलोचना गर्ने गरेको पाइन्छ। आफ्नो पद्धतिको प्रामाणिकताका लागि आयुर्वेदिक चिकित्सक तथा अध्येताहरू थप अध्ययनअनुसन्धानमा अझै लागि रहेका छन्। यो आवश्यक कुरा पनि हो। धामीक्राँक्रीका सवालमा प्राज्ञिक अध्ययन भए पनि ती प्राय: विश्वविद्यालयमै मात्र सीमित हुने गरेको पाइन्छ। ती अध्ययनहरूको पनि समीक्षा हुनु अति आवश्यक छ। यसलाई परम्परा र आस्था भनेर मात्र पन्छाउनु हुँदैन।

धामीझाँक्रीहरू ढ्वाङ्ग्रो मात्रै ठोक्दैनन्, बिरामीलाई अनेक जटिबुटी पनि दिन्छन्। यो सही हो, सडेगलेका, किरा ढुसी लागेका, हिउँ–तुषारो–डढेलोले खाएको, फोहर ठाउँबाट लिएको, जीवाणु विषादि सम्पर्क भएको जटिबुटीबाट औषधी बनाउँदा नराम्रो असर पनि पर्नसक्छ। यसका लागि आधुनिक प्रविधिको प्रयोगले ती जटिबुटीहरूका परीक्षण हुनु आवश्यक छ। धामीझाँक्रीलाई लक्षित गरी स्वास्थ्यसम्बन्धी सचेतनाको कार्यक्रम ल्याउन सकिन्छ। ढ्वाङ्ग्रो र मन्त्रको भर गर्न पनि नछाड्ने र धामीझाँक्रीको सिफारिसमा बिरामी अस्पतालन आउन थालेका घटनाहरू थुप्रै पाइन्छन्। यिनै धामीझाँक्रीलाई प्रयोग गरेर सरसफाइलगायतका स्वास्थ्य क्षेत्रको आधारभूत शिक्षा लागू गराउन पनि सकिन्छ।

हामी विज्ञानको नाममा विज्ञानभन्दा परको कुरालाई अवैज्ञानिक भन्दै नकार्दै आइरहेका छौं। आधुनिक विज्ञान आफैं पनि पूर्ण भएको मान्दैन। बरु अध्ययन अनुसन्धानको दायरा फराकिलो पार्दै ज्ञानको क्षेत्र फैलाइरहेको पाइन्छ। हिजोका दिनमा बौद्ध साधकहरूले गर्ने ध्यान साधनालाई आस्थाको विषय, परम्परागत र अवैज्ञानिक भनी आधुनिक विज्ञानले वास्ता नगरे पनि आज ल्याबोरोटरीमा त्यसैको अध्ययन हुँदैछ। ध्यान स्नायुसँग सम्बन्धित गरेर अध्ययन हुनुले कुनै पनि कुरालाई विना अध्ययन उपेक्षा गर्नु हुँदैन भन्ने ज्ञान दिन्छ। मनको अध्ययन गर्ने मनोविज्ञानका महिषीहरू बौद्ध धर्मदर्शनमा स्वयं बुद्धले गरेको मनको विश्लेषण देखेर नतमस्तक हुन्छन्। यसरी नै धामीझाँक्री भन्नु ढ्वाङ्ग्रो ठोकेर मन्त्र फलाकेर विरामीको उपचार गर्नुबाहेक अरु पनि हो जसको अध्ययन गर्नु नितान्त जरुरी छ। धामीझाँक्रीको अध्ययनबाट मान्छेहरूको बसाइँसराइ देखि अनेक ज्ञानविज्ञानका पक्षहरू पहिल्याउन पनि उत्तिकै संभव छ। खोतलखातल पार्ने हो भने अनावश्यक तथा अवैज्ञानिक कुराहरू स्वत: हराउने र राम्रा कुराहरू प्रसार हुने गर्दछ। अध्ययनअघि नै यी कुराहरूलाई मास्दा न्याउरी मारी पछुतो हुनसक्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb