Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
    • Review
    • About Book
    • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता

Posted on 2024-04-182024-04-18 by बसन्त महर्जन
बसन्त महर्जन

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध गरेका थिए तर विश्वमा उनकै मूर्ति बढी बन्छ भन्ने पाण्डित्याइँ छाँट्ने। यिनीहरू यसो भन्न पनि बाँकी राख्दैनन्– बुद्धले ‘मेरो मूर्ति नबनाउनू, पूजा पनि नगर्नू। भगवान्‌को मात्रै मूर्ति बनाएर पूजा गर्ने हो, म भगवान् होइन’ भनेका थिए रे!

बुद्ध र भगवान् बारेको यो भनाइ सर्वथा गलत छ। यस्तो कुरा कुन चाहिँ बौद्ध ग्रन्थमा उल्लेख छ भन्ने खुलाउन उनीहरू आवश्यक ठान्दैनन् र सक्दैनन् पनि किनभने बौद्ध साहित्यमा यो कुरा न कतै उल्लेख छ न त बुद्ध शिक्षासँग सम्बन्धित नै हो। बौद्धिक भनाउँदाहरूले नै बुद्धले भनेको भन्दै बिना आधारका यी अनर्गल कुरा फलाक्दै हिँड्नु एक प्रकारले बौद्धिक स्खलन हो। यी दुई प्रवृत्तिमाथि चिन्तन मनन गर्दा बौद्ध कलाको ऐतिहासिक सन्दर्भको सम्झना गराउँछ जसले बुद्ध मूर्तिबारेको भ्रम मात्र निवारण गर्दैन, बुद्ध, मूर्ति र कलाकारिताका बारेमा पनि धेरै हदसम्म प्रकाश पार्दछ।

कलाको इतिहास केलाउँदा बुद्धको मूर्ति कुषाणकालबाट बन्न थालेको देखिन्छ। कुषाण कालमा राजा कनिष्कको बेलादेखि। इतिहासको यो काल इश्वी संवत्को सुरुताकादेखि केही सय वर्ष यता हो। सुरुमा बुद्धको मूर्ति गन्धारमा बन्न थाल्यो र पछि मथुरामा आएर यसले व्यापकता लिएको भन्ने एक थरी अभिमत पाइन्छ भने अर्को मतले गन्धार र मथुरामा एकैसाथ बुद्धका मूर्तिहरू स्वतन्त्र रूपमा बनेका हुन्। राजा कनिष्कको संरक्षकत्वमा सम्पन्न बौद्ध संगायनमा बुद्ध मूर्ति बनाउने वा नबनाउने भन्ने विषयमा व्यापक छलफल भएको अनुमान हुन्छ। गन्धारमा बनेका बुद्ध मूर्तिहरूको शैली बेग्लै रहेको छ भने मथुरामा बेग्लै। गन्धारको शैलीमा ग्रीक कलाको एपोलोका मूर्तिहरूको आधारमा बुद्ध मूर्ति बनाइएको थियो भने यता मथुरामा बुद्धका लागि योगीको स्वरूपलाई आदर्श मानियो। मानवाकृतिका मूर्तिहरूको निर्माण गन्धार होस् वा मथुरा कुनै ठूलो वा नौलो घटना भने थिएन। मथुरामा यसअघि नै बौद्ध मूर्तिहरूको निर्माणले व्यापकता लिइसकेको थियो। बोधिसत्वका मूर्तिहरू पनि बन्थे। गौतम बुद्धको जीवनी अंकित मूर्ति फलकहरू नै बन्थ्यो तर मूर्तिमा गौतम बुद्धको जीवन चरित्र दर्शाउनु पर्‍यो भने मानवआकृति नभएर कुनै एउटा प्रतीकलाई अपनाइन्थ्यो। प्रतीक प्रयोगमा कलाकारहरू स्वतन्त्र थिएनन्। अर्थात् निश्चित घटनाका लागि निश्चित प्रतीक निर्दिष्ट गरिएको हुन्थ्यो। जस्तो, गर्भप्रवेशका लागि सेतो हात्ती, जन्मका लागि कमलको फूल, महाभिनिष्क्रमण (गृहत्याग) का लागि घोडा, बोधिलाभका लागि पीपल वृक्ष, धर्मचक्रप्रवत्र्तन (प्रथम धर्म उपदेशं) का लागि दुई मृगको बीचमा धर्मचक्र अर्थात् गृगदावन (सारनाथ)मा भएको घटना, महापरिनिर्वाणका लागि स्तूप। प्रतीकको आधारमा मूर्तिको सन्दर्भ दर्शक आफैं पहिचान गर्दथे।

अब प्रश्न उठ्छ, मानव आकृतिका मूर्तिहरू बनाउनमा बौद्ध समाजमा कुनै आपत्ति छैन तर प्रतीकको सहारा किन लिनु परेको हो ? बोधिसत्वका मूर्तिहरू भन्नु बुद्धत्व प्राप्त गर्नुअघि अर्थात् पूर्वजन्मको जीवन चरित्र हुन्। यसरी नै बुद्धका भिक्षु र भिक्षुणी तथा उपासक र उपासिकाहरूको मूर्ति पनि बनाइएको पाइन्छ तर इतिहासको एउटा त्यो कालखण्ड, बुद्धलाई मानवाकृतिमा मूर्ति नबनाउनुमा नै आदर्श मानिन्थ्यो। संभवत: यसैलाई लिएर कसैकसैले बुद्ध मूर्ति पूजाको विरोधी हुन् वा यस्तै यस्तै अडकल गरेर अनुमान पुराण लगाएर बसेका हुन्– जुन बुद्ध र बौद्ध दर्शनका बारेमा आधारभूत ज्ञानको कमी भन्न सकिन्छ।

बुद्धको मूर्ति बुद्धको जीवन कालमा नै बनिसकेको दृष्टान्त बौद्ध साहित्यमा पाउन सकिन्छ। बौद्ध चित्रकलाको विकास पनि बुद्धको जीवन कालमा नै भइसकेको थियो। आजभोलि विशेषत: तिब्बती बौद्ध धर्मअन्तर्गतका गुम्बाहरूमा बौद्ध धर्म दर्शनका कुराहरू दर्शाउन अनेक चित्रकलाहरू कुँद्न लगाउने चलन छ। चित्रकलाको यो चलन गौतम बुद्धले भिक्षु मौद्गल्यायनलाई दिएको आदेशसँग सम्बन्धित छ। भिक्षु मौद्गल्यायन ऋद्धिबलमा अत्यन्तै कुशल मानिन्छन् र यही क्षमता प्रयोग गरेर उनी जहाँकहीं पुग्न सक्दथे। एक पल्ट उनी स्वर्ग, नर्कलगायत सबै लोकको भ्रमण गरेर फर्केछन् र त्यही बेला बुद्धले उनलाई यो यात्राबाट के बुझ्यौ र दुनियाँलाई के बुझाउन चाह्यौ, विहारको भित्तामा सबैले देख्ने गरी चित्र लेख्न भने। त्यति बेला भिक्षुले लेखेको चित्र भवचक्र थियो। मानव मात्रै होइन, सबै प्राणीको गति के कसरी अगाडि बढ्छ भनेर दर्शाउन लेखेको उक्त चित्र भवचक्र आजभोलि प्राय: सबै गुम्बामा पाइन्छ। श्रीलंकामा बुद्धको उपदेश पुगेको, जनसमाजमा प्रभाव पनि रहेको तर साक्षात् बुद्धलाई देख्न नपाएको हुँदा एक राजकुमारीको अनुरोधमा बुद्धको आकृति कपडामा उतारेर प्रचारप्रसार गरिएको थियो। चित्रकलामा बुद्धको आकृति कुँदेको बेला कलाकारलाई बुद्धको पूर्ण सहयोग थियो र त्यस बेला चित्रकलाका बारेमा कुनै नकारात्मक अभिव्यक्ति दिएको पाइँदैन। यसरी नै एक समय बुद्ध त्रायंतीश देवलोकमा गएको बेला बुद्धको अनुपस्थितिबाट उपासक–उपासिकाहरूलाई अत्यन्तै न्यास्रो लाग्यो र एक कलाकारबाट बुद्धको मूर्ति बनाउन लगाएर त्यसैमा चित्त बुझाएर बसेका थिए। पछि बुद्ध फर्केर आएपछि सो मूर्तिको औचित्य रहेन र मूर्ति बुद्धलाई नै समर्पण गरेका थिए। यस बेला पनि बुद्धबाट मूर्तिका बारेमा कुनै टिप्पणी गरेको पाइँदैन।

बुद्धको महापरिनिर्वाणपछि भने एउटा समस्या आयो। अघि पो सशरीर बुद्धको उपस्थिति थियो। अब के गर्ने ? मूर्ति निर्माणमा तत्कालीन बौद्धहरूले एउटा खतरा देखे। साक्षात् गौतम बुद्धको दर्शन पाइसकेको कलाकारका लागि कुनै समस्या रहेन तर भविष्यमा बुद्धलाई देख्नै नपाएका कलाकारले पनि बुद्धको मूर्ति निर्माण गर्ने र बुद्धको मूर्ति भनेर प्रस्तुत गरिदिँदा अनेक रूप र अनेक आकृतिमा देखा पर्दा बुद्धप्रतिको श्रद्धामा आँच आउने संभावना टड्कारो देखियो। बुद्ध भन्नु केवल बाह्य आकृति मात्रै नभएर आन्तरिक गुणहरू पनि हुन्। बुद्धको आकृतिमा झल्किने यो आन्तरिक गुण बुद्धत्व प्राप्त गरिनसकेकासँग पाइँदैन। यस अवस्थामा तत्कालीन बौद्ध समाज एउटा निष्कर्षमा पुग्यो, बुद्धको मूर्ति नबनाउने बरु प्रतीकको प्रयोगबाट बुद्धलाई दर्शाउने। यसअनुसार बौद्ध मूर्ति कलामा गौतम बुद्धको मानवाकृति विनाको मूर्ति निर्माण प्रवृत्ति कुषाण कालसम्म रह्यो। गौतम बुद्धको मूर्ति बनिसक्दा पनि मथुरामा सुरुसुरुका ती मूर्तिहरूलाई हठात् बुद्ध मूर्ति भन्न मान्छेहरू हच्किन्थे भन्ने अनुमान ती मूर्तिलाई बोधिसत्व भनिएबाट हुन्छ तर बडो चलाखी पूर्ण तवरले उक्त मूर्तिमा सिंहको मूर्ति पनि अंकित गरिन्थ्यो– जसको तात्पर्य हो, शाक्यसिंह। गौतम बुद्धलाई शाक्यमुनि र शाक्यसिंह पनि भनिन्छ।

गौतम बुद्धको मूर्ति साक्षात् उनी नै होइनन्। अन्य धर्मसम्प्रदायमा मूर्तिलाई नै आफ्नो आस्था वा विचारअनुसारको साक्षात् भगवान् मानेर पूजा गर्ने, यसो गरिदेउ उसो गरिदेउ भनेर प्रार्थना गर्ने तथा अनेक हर्कत् गर्ने गरिन्छ तर बौद्ध धर्म–दर्शनमा यस्तो हुँदैन। बुद्ध भन्नु महापरिनिर्वाण भइसक्नु हो। बौद्धहरू जसले बुद्धत्व प्राप्त गर्छन् उनलाई मात्रै भगवान् मान्छन्। यही भएर गौतम बुद्ध र उनीभन्दा अगाडिका बुद्ध अतीत बुद्धहरूलाई बाहेक अन्य पात्रलाई भगवान् भनेर सम्बोधन गर्दैनन्। भगवान् शब्दको अर्थ बौद्धहरूले बेग्लै रूपमा लगाउँछन्, र ती अर्थ स्वयं गौतम बुद्धको उपदेशमा आधारित हुन्छन्। इ.पू. ४८३ मा महापरिनिर्वाण भइसकेका गौतम बुद्धको पुनर्जन्म वा मूर्तिमा साक्षात् बुद्ध देख्ने दृष्टिदोष गैर बौद्धको मात्रै हुन्छ। तब प्रश्न उठ्छ, बुद्धको यतिका धेरै मूर्तिहरू किन बने ? बुद्ध मूर्तिको  सामुन्ने बसेर यी बौद्धहरू के नाटक गरिरहेका हुन् त ?

विश्वभरका बुद्ध मूर्तिलाई नियाल्ने हो भने सबै एउटै आकार प्रकारमा देख्न पाइँदैन। नेपालमा बनेका मूर्तिहरूमा बुद्धको अनुहारमा नेपाली झल्को पाइन्छ भने जापानको मूर्तिमा जापानी। चीनमा बनेको बुद्ध मूर्तिमा चिनियाँ झल्को पाइन्छ त श्रीलंकामा बनेको बुद्ध मूर्तिमा श्रीलंकाली अनुहार पनि पाइन्छ। बुद्ध मूर्तिका सन्दर्भमा विश्वभर यही प्रवृत्ति छ तर यसमा कसैको आपत्ति छैन किनभने बुद्धको अनुहारको मानक आधार कुनै पनि छैन। यहाँ बिर्सनै नहुने एउटा कुरा छ– बुद्ध ३२ लक्षण र ८४ अनुव्यञ्जनले युक्त हुन्छन्। बुद्धको मूर्ति बनाउने कलाकारहरू यो आधारलाई सदैव मनमा राख्छन्। कलालाई नै साधना बनाउनेहरू यसलाई वृत्तिविकासको माध्यम मात्र मान्दैनन्। आजभोलि नै पनि बौद्ध मूर्तिकला वा चित्रकलामा सम्बद्ध कतिपय कलाकार काम थाल्नुअघि ध्यान साधना गर्दछन्। यसरी तयार भएका चित्र वा मूर्तिमा निहित मुद्रा मात्र नभएर अन्य कतिपय पक्षले विशिष्ट सन्देश प्रवाह गरिरहेको हुन्छ। चित्र वा मूर्तिमा प्रयोग हुने सानो रंग वा प्रतीक मात्रले पनि बेग्लाबेग्लै अर्थबोध गर्ने हुन्छ। बुद्ध मूर्तिको सामुन्ने बौद्धहरू झुक्नुको अर्थ बुद्धबाट देसित उपदेशको स्मरण, पालनाको अविच्छिन्न प्रतिवद्धता र ती उपदेशप्रति श्रद्धाभाव व्यक्त गर्नु हो। एक बौद्ध यो कुराबारे जानकार नहुनुको अर्थ हो, भाषा नै नबुझिएको किताब हेरेर अनेक अर्थ लगाएर बस्नु। गैर बौद्धका लागि बुद्ध मूर्तिको बेग्लै अर्थ हुन्छ भने बौद्धले बुद्ध मूर्तिलाई आलम्बनको रूपमा प्रयोग गर्ने हो।

बुद्धको मूर्ति बन्नुको अन्तर्य धर्मचित्त उत्पन्न भएर अन्यले पनि यसबाट लाभ लिउन् भनेको हो तर हिजोआज बुद्धको मूर्ति बनाउँदा पर्यटन उद्योगको विकास हुन्छ, पर्यटन उद्योग भन्नु अर्थतन्त्रको पाटो हो भन्ने भावनाबाट उत्प्रेरित भएर वा नाफाघाटाको हिसाबकिताब गरेर हुने गरेको पाइन्छ। यो राम्रो लक्षण होइन। बुद्ध मूर्तिको निर्माणको नाममा उठाइएको आर्थिक सहयोग आर्थिक भ्रष्टाचार र जाँडरक्सीको सेवनमा खर्च भइरहेको पनि पाइन्छन्। यी मूर्तिहरूको निर्माणपछि बुद्धको नाममा कमाउन पल्केका धूर्तहरू कुनै वा केही बौद्ध भिक्षुलाई कामदारका रूपमा लगेर कसरी पूजा गराउने र धार्मिक रूप दिने भन्ने मामिलामा बडो चलाख हुन्छन् र लामो समयसम्म सर्वसाधारणको आँखामा धुलो छर्न माहिर हुन्छन्।

मिक्लाजुङ गाउँपालिकामा बनाइएको मूर्तिको लागत मूल्य तीन करोड रूपैयाँ भन्ने तथ्य प्रकाशमा आएको छ। एउटा गतिलो मूर्ति बन्न तीन करोड रूपैया पर्याप्त हो तर बेढङ्गको मूर्ति निर्माण हुनुको पछाडि भ्रष्टाचारका अनेक चलखेल भएको अनुमान गर्न सकिन्छ। बुद्ध र बौद्ध धर्म–दर्शनबारे जानकारी नभएका र यसबारे जान्ने आवश्यकता पनि नठान्ने, कमिसनमा आँखा लगाउने धूर्तहरूको तजबिजबाट बन्ने बुद्ध मूर्ति यो भन्दा गतिलो बन्दैन। यस कोटीका बुद्ध मूर्तिहरू अन्यत्र पनि बन्ने गरेको देख्न पाइन्छ। सुन्दर बौद्ध मूर्ति निर्माणका लागि बुद्ध, बौद्ध धर्म–दर्शनको जानकारी, बुद्धप्रतिको श्रद्धा र भ्रष्टाचार नभए मात्र संभव हुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb