Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
    • Review
    • About Book
    • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

सत्यमोहन जोशीसँगका सम्झना

Posted on 2024-04-182025-01-04 by बसन्त महर्जन

सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो।

यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ। यही अवसरमा घर घरमा पकाइने योमरी आफू मात्रै खाने गरिँदैन, अरुलाई पनि खुवाउने गरिन्छ।
तिहारताका देउसी र भैलो खेल्दा सेलरोटी मागे जस्तै यो दिन नेवारहरू योमरी कै गीत गाउँदै योमरी माग्न जाने चलन छ। नेवारहरूको साँस्कृतिक जीवनमा यसको विशेष स्थान रहेको छ।

अन्तर्वार्ता लिइराखेका बेला मेरो ध्यान भने हाम्रो अगाडि राखिएको योमरीमा पुग्यो। आफू नेवार नै भए पनि त्यतिबेलासम्म योमरी भनिने त्यो परिकार चाखेकै थिइनँ। यो परिकारका सम्बन्धमा धेरै सुनेको थिएँ। विद्यालयको पाठ्यक्रममा समावेश गरिएकाले योमरी सम्बन्धी निबन्ध पढेर जाँचमा प्रश्नको जवाफ पनि दिएको थिएँ। नजिकैबाट देखेको पनि हो तर चाख्न भने पाएको थिइनँ। यसो हुनुको खास कारण थियो– कीर्तिपुरमा ‘योमरि पुन्हि’ नमनाइनुँ। आफू परियो– कीर्तिपुरवासी।

कीर्तिपुरमा योमरी पुन्हिको केही दिन अघिमात्र मात्र ठूलो पर्वको रूपमा रहेको ‘सात गाउँले जात्रा’ सकिएको भएर योमरी पुन्हिको चाँजोपाँजो नभएको भनुँभने त्यही सात गाउँभित्र पर्ने (कीर्तिपुर नगरपालिकाभित्र पर्ने) पाँगामा योमरी पुन्हि पर्व मनाइन्छ। हाम्रोमा मात्रै किन नमनाइएको हो अहिलेसम्म बुझ्न सकेको छैन। पाँगामा मनाइने तर हाम्रोमा मात्रै किन नमनाइएको भनेर सोधेको पनि थिएँ तर तार्किक जवाफ कहिल्यै पाइनँ। अरु बेलामा पनि हाम्रो घरमा योमरी पाक्दैन। किनेरै खाउँ न त भनौं भने त्यो बेला हिजोआज जस्तो पसलमा बेच्न पनि राखिँदैनथ्यो।

स्कूलमा पढेको योमरी निबन्धमा खान जानेन भने जिब्रो पोल्छ भन्ने थियो। साँच्चै खान नजानेर जिब्रोमा पोल्ने पो हो कि ! भनेर एक प्रकारको त्रास थियो। मलाई भने सत्यमोहन जोशीकै अगाडि त्यो योमरीले तर्साउन थाल्यो।
‘योमरी खाउँ, चिसो भयो भने मिठो हुँदैन’ भन्दै सत्यमोहन जोशीले अन्तर्वार्तालाई एक छिनको लागि बिट मार्न आग्रह गर्नुभयो। योमरी राखिएको प्लेटतिर आफ्नो हात बढाउनु भयो र एउटा योमरी टिप्नु भयो। उहाँले यो पनि भन्नुभयो– ‘खान जानेन भने पोल्छ। यसरी खानुपर्छ।’

जोशी चार पटक जंक्व गराउने सौभाग्य प्राप्त व्यक्तित्व पनि हो। नेवार समाजमा जंक्व एउटा संस्कार हो। पहिलो पल्टको जंक्व बच्चा बेलामा अन्नप्राशन गर्दै गरिन्छ। यसलाई मचाजंक्व भनिन्छ। यसलाई जंक्व नै भनिए पनि गणना गरिँदैन। उमेर पुगेपछि पुन: बुर्‍हा जंक्व वा ज्या:जंक्व भनेर ७७ वर्ष, ७ महिना, ७ दिन पुगेको अवसरमा गरिन्छ। यो पहिलो पल्टको ज्या:जंक्व हो र यसलाई भीमरथारोहण भनिन्छ। ८२ वर्ष ४ महिना ४ दिन पुगेको अवसरमा दोस्रो जंक्व गरिन्छ। यसलाई चन्द्र रथारोहण भनिन्छ। यसैगरी ८८ वर्ष ८ महिना ८ दिन पुगेपछि तेस्रो जंक्व गरिन्छ। यसलाई देव रथारोहण भनिन्छ। चौथो जंक्व ९९ वर्ष ९ महिना ९ दिन पुगेपछि गरिन्छ र त्यसलाई भने दिव्य रथारोहण भनिन्छ। जीवनमा यसरी जंक्व गराउन पाउनु ठूलै अवसरका रूपमा लिइन्छ र जंक्व गराएकाहरूलाई देवतुल्य मानी आदरसम्मान गर्नुपर्ने मान्यता नेवार समाजमा छ।

१०३ वर्षसम्म बाँच्नु भएका सत्यमोहन जोशीले चौथो पटक गरिने देवरथारोहण पनि गर्न भ्याउनु भयो। उहाँसँग अन्तरवार्ता लिइरहेको समय पहिलो पल्टको जंक्वको केही दिन अगाडिको हो। पारिवारिक सम्बन्धमा मात्रै जंक्व मनाउने हो भने पनि विशेष नै हुन्छ भने उहाँको जंक्व त सार्वजनिक रूपमा भव्यताका साथ मनाउन लागिएको थियो। सोही अवसर मिलाएर त्यो बेला म काम गरिरहेको दैनिक पत्रिका विश्वभूमिमा एउटा अन्तर्वार्ता छाप्ने तयारी थियो।
योमरीलाई सत्यमोहन जोशीले कसरी खानु भयो, त्यो राम्रोसँग हेरें अनि त्यसैको सिको गरेर खाएँ। ज्ञानको प्राप्ति सामान्यत: देखेर, सुनेर र पढेर पाइन्छ। योमरीको ज्ञान त सुनेको पनि पढेको पनि। व्यवहारिक ज्ञान भने सत्यमोहन जोशीको सान्निध्य प्राप्त भएपछि मात्रै भयो। त्यो बेला यो कुरा मैले उहाँलाई मात्र होइन कसैलाई पनि भनिनँ। अहिले लेखिरहेको छु। वास्तवमा यो योमरी खाएको घटनालाई एउटा प्रतीक मान्न सकिन्छ।

सत्यमोहन जोशीका बारेमा बोल्दा वा लेख्दा नामको अगाडि के लेख्ने भन्ने कुरामा म प्राय: अलमल्ल हुन्छु। कसैले संस्कृतिविद् लेख्छन् तर मेरो मथिंगलमा भने संस्कृतिविद् मात्रै लेखेर पुग्छ र ? भन्ने प्रश्न खेल्न थाल्छ। उहाँ साहित्यकार पनि त हो नि ! साहित्यमा पनि फुटकर कविता र खण्डकाव्य मात्रै होइन, महाकाव्य नै लेख्नु भएको छ। निवन्ध, कथा, नाटक आदि पनि लेख्नु भएको छ। बाल साहित्य पनि लेख्नु भएको छ। मूर्ति विज्ञान मात्रै होइन, मुद्रा र चित्रकला बारे पनि लेख्नु भएको छ। त्यति मात्र होइन, बुझ्नेले उल्टो बुझिदेला र अनर्थ होला भन्ने भयले हतपती जो कसैलाई नभनिने बौद्ध धर्मसँग सम्बन्धित गुह्य कलाका गहन विषयवस्तुलाई समेत उहाँले सरल भाषामा प्रस्तुत गरिदिनुहुन्थ्यो। लोकसाहित्यको संकलनमा त झन् उहाँ अग्रणी नै भइहाल्नु भयो। प्रशासनिक कामबाट समय निकालेर लोकसाहित्यको संकलनमा लाग्नु भयो र कृति दिनुभयो। पुरातत्व विभागको जिम्मेवारी सम्हालेर प्रशासन मात्रै चलाउनु भएन, पुरातत्वको अध्ययनलाई फराकिलो पार्नु भयो, विस्तार पनि गर्नुभयो। चीन पुगेर चिनियाँ रेडियोमा काम मात्रै गरेर फर्कनु भएन, चीन पुगेका नेपाली कलाकार अरनिकोलाई खोजेर पनि ल्याउनु भयो। सिक्नु भयो, सिकाउनु भयो। अरु संस्थामा संलग्न भएर थुप्रै काम गर्नु भयो, आफैंले पनि संस्थाहरूको स्थापना गर्नुभयो। यी जम्मै कुराहरूको फेहरिस्त बनाउने हो भने गन्थन लामै होला। यही भएर उहाँको नामको अगाडि ‘शताब्दी पुरुष’ फुर्को हाल्न थालियो। त्यतिले पनि चित्त बुझेन मान्छेहरूलाई, अनि अर्को फुर्को थपियो, ‘वाङ्मय शताब्दी पुरुष’। वास्तवमा यी फुर्कोहरूभन्दा पनि माथि र विशाल हुनुहुन्छ– सत्यमोहन जोशी।

आनन्द लाग्छ, सत्यमोहन जोशीको सानिध्यमा बस्न पाएको कुरा। उहिल्यैदेखि म बरोबर उहाँको निवासमा पुगिरहन्थे। अहिलेजस्तो मोबाइल फोनको जमाना थिएन, पाटन पुग्दा पूर्व जानकारी विना नै घरमा पस्थें। फोन गर्दा पनि घरमा आउन भन्नुहुन्थ्यो। सामान्य मान्छेलाई जस्तै बाटो बाटोमा लुखुरलुखुर हिँडिरहेको अवस्थामा भेटिन्थ्यो। बाटोमा होस् वा विभिन्न कार्यक्रमहरूको भीडमा, नमस्कार गर्दा नाति उमेरको मलाई ‘ए, बसन्तजी’ भन्नुहुन्थ्यो। उमेर बितेसँगै स्मरणशक्ति पनि क्षीण हुँदै जाने र नामहरू बिर्सने कुरालाई सामान्य रूपमा लिनु पर्दछ तर सत्यमोहन जोशीमा भने त्यो लागु भएन। उहाँको सम्झना शक्ति असामान्य नै थियो। उहाँ हिँडडुल गर्ने जीवित इन्साइक्लोपेडिया त हो नै, साथसाथै मेरो लागि उहिल्यैदेखिको श्रोतव्यक्ति पनि। सानातिना कुराका लागि पनि सम्पर्क गरिरहन्थें। मलाई राम्रोसँग हेक्का छ, उहाँसँगको मेरो सान्निध्य सामान्य तर आनन्ददायक थियो। उहाँ जिज्ञासु सबैका लागि खुला र सार्वजनिक हुनुहुन्थ्यो।

अर्को कुरा, सत्यमोहन जोशी मेरो नियमित पाठक पनि हुनुहुन्थ्यो। संयोग नै भनुँ, म संलग्न सबै पत्रिकाहरू उहाँकोमा नियमित पुग्दथे। पछिल्लो कालमा प्रत्येक आइतबार निस्कने हिमाल खबरपत्रिकामा मेरो नियमित स्तम्भ थियो भने उहाँ ती स्तम्भ–लेख पढेर प्रतिक्रिया दिइराख्नुहुन्थ्यो। अरुलाई भए लेख्ने काम नछाड्न सुझाउनु हुन्थ्यो होला तर मलाई त्यस्तो सुझाव कहिल्यै दिनुभएन। परिचय हुँदादेखि निरन्तर लेखिरहेकालाई त्यस्तो सुझाव दिन आवश्यक पनि ठान्नु भएन होला। बरु लेखनकै बारेमा थुप्रै सुझावहरू पाएको छु। मेरा कुनैकुनै लेख उहाँलाई चित्त बुझ्दा रहेनछन्। एक आइतबार म संलग्न संस्था ‘नेपाल–जापान कल्चर एक्सचेन्ज एशोसियशन’ को एउटा कार्यक्रम भक्तपुरमा भइरहेको थियो र उहाँ प्रमुख अतिथिका रूपमा आमन्त्रित हुनुहुन्थ्यो। कार्यक्रम स्थलबाहिर बसिबियालोमैं उहाँ मलाई केही भन्न खोजिरहनु भएको जस्तो लागेको त थियो तर आफैं आयोजक भएका कारण अलमल भइरहेको थियो। हाम्रो संस्था नयाँ थियो र कार्यक्रम पनि सल्लाह–सुझाव लिने उद्देश्यले भेटघाट आयोजना गरिएको थियो। संस्थाको नाम सुरुमा अर्कै थियो, सत्यमोहन जोशीले नाममै आपत्ति जनाउनु भयो र नाम परिवर्तन नगरी नहुने सुझाव दिनुभयो। कार्यक्रमपछि सुझावको लागि आभार व्यक्त गर्न जाँदा अलि रुखो स्वरमा प्रतिक्रिया दिनुभयो, ‘‘ …अनि आज हिमाल पत्रिकामा त्यो के लेख्नु भएको नि ? बुद्धलाई नास्तिक भनेर लेख्नुभयो तर बुद्ध जस्तोलाई नास्तिकै त भन्नु हुँदैन नि !’

वेदलाई प्रमाण मान्ने र नमान्ने हिसाबले आस्तिक र नास्तिक छुट्याउने परम्परा छ र त्यही अनुसार दर्शनशास्त्रको पढाइ हुन्छ। बौद्ध धर्म–दर्शनमा पाप–पुण्य, स्वर्ग–नर्क, पूर्वजन्म–पुनर्जन्म, कर्म, अन्य लोक आदि कुरा पनि आउने भएका कारण आस्तिक नै भन्ने बुझाइ पनि रहेको पाइन्छ। समाजमा बुद्ध आस्तिकको रूपमा परिचित भएको र नास्तिक भनेर प्रस्तुत गर्दा चोट पर्नसक्ने भनेर सत्यमोहन जोशीले आपत्ति जनाउनु भएको रहेछ। सहमति र असहमतिका अनेकौं कुराहरूमा पहिले पनि यसरी नै छलफल हुन्थ्यो। यहाँ अचम्म लाग्ने कुरा त के हो भने बिहान निस्केको हिमाल खबरपत्रिका पढेर प्रतिक्रिया दिन पनि भ्याइसक्नु भएको थियो। जबकि त्यो पत्रिकाको अंक त्यसवेलासम्म मेरै हातमा परेको थिएन।

सत्यमोहन जोशीसँग कतिपयले सोध्ने प्रश्न कर्णाली अञ्चलको सांस्कृतिक पक्षसम्बन्धी पनि हो। ‘कर्णाली लोक संस्कृति’ का लागि उहाँ विज्ञ मानिनु हुन्थ्यो। मेरो ‘खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’ पुस्तकको प्रकाशन पछि थप अध्ययनका लागि पुन: त्यतातिर लाग्ने तयारी भइरहेको थियो। यही बेला ‘मधुपर्क’ मासिकको स्वर्ण वर्ष प्रवेशका अवसरमा आयोजित समारोहमा उहाँ भेटिनु भयो। कार्यक्रमपछि उहाँसँग बसेर फोटो खिच्नेहरूको एकपछि अर्को गर्दै भीड लाग्न थाल्यो। घाम पनि थियो। धेरै बेरपछि थाक्नु भएछ क्यार उहाँले मेरो हात समाउनु भयो र भित्र जाउँ भनेर सँगैको एउटा कोठातर्फ डोर्‍याउनुभयो। भित्र राखिएको मेचमा केहीबेर सुस्ताउनु भयो। त्यही बेला मैले मेरो आगामी यात्राको कुरा गरें। केही कुरा हुँदै थियो, सँगै बसेर फोटो खिच्नका लागि मान्छेहरू खोज्दै त्यहीं आउन थालिहाले। उहाँले नाइँनास्ती गर्नु भएन, आज्ञाकारी बालकजस्तै। पुन: फोटो खिच्ने क्रम सुरु भयो।

कहिलेकाहीँ आफ्नो कुरा आफैंले बुझ्न मुस्किल भइरहेको हुन्छ तर त्यही कुरा बुझेर अरुलाई मजाले बुझाइदिनसक्ने खुबीका धनी हुनुहुन्थ्यो– सत्यमोहन जोशी। उहाँकोमा पुग्नेहरू प्राय: समस्या लिएर जान्थे, अनि समस्या समाधान गरेर फर्कन्थे। अरुको समस्यालाई उहाँले आफ्नो समस्याको रूपमा ग्रहण गर्ने गर्नुहुन्थ्यो। अब त ती दिनहरू पनि रहेनन्, अब सम्झनामा सीमित बन्नुभएका जोशीप्रति श्रद्धासुमन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb