Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

धूस्वां सायमिकी दीपा

Posted on 2024-04-112025-06-23 by बसन्त महर्जन
बसन्त महर्जन

कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ?

आफ्नै घरमा प्रायः पाहुना भइराख्ने र सबैसित घुलमिल हुने त्यो लेखकसँग मैले मात्रै किन बोल्न नपाउने ? कथा यहींबाट सुरु हुन्छ । एउटी महिला- दीपा। एउटा यस्तै अर्को गाउँकी छोरी अर्थात गाउँकी बुहारी-दीपा।बुहारी हुनु परेकोमा भन्दा बुहारी भएकै कारण त्यो मान्छेसित बोल्न नपाउँदा दीपा खिन्न हुन्छे।आफैदेखि रिसाउँछे पनि । यस्तै लेखकको मनमा तर्कना उठिरहन्थ्यो- आफूसँग सबैले बोल्ने, सबै नजिक नजिक आउन खोज्ने तर, बुहारी एउटी मात्रै टाढा किन- एक दिन आफ्नो जिज्ञासालाई थाम्न नसकेर बुहारीको सम्बन्धमा लेखकले दीपाको बारेमा परिवारसँग सोधपूछ गर्छ।जसबाट जिज्ञासा शान्त हुनुको बदलामा अझ अझ जिज्ञासा बढ्न थाल्छ ।

दीपाको हालत पनि लेखकको भन्दा फरक थिएन।

यस्तैमा एक दिन दीपाले लेखकलाई माइतीमा बोलाउँछे, – कुराकानी गर्नकै लागि। बिद्रोहको चेतना दीपाले कुनै कितावबाट पाएकी थिइनन्। न कुनै स्कूलबाट नै प्रशिक्षित थिइन् । अरु त अरु, गाउँले परिवेशमा नै सीमित भएकी र गाउँमा बोलिने मातृभाषा बाहेक अन्य नबुझ्ने।पाहुनाको बौद्धिक व्यक्तित्व र दीपाको सामान्य, शिष्ट, निष्कपट एवं उदार हृदयवीच प्रेमको अंकूर प्रस्फूटित हुँदै जान्छ ।र, ती दुई ब्यक्त-अब्यक्त सबै भावना र कामनाहरुले एउटा सिर्जना पाउँछ, प्रसिद्ध उपन्यासकार धूस्वां साय्मिको कलमबाट दीपा उपन्यासको रुपमा । उपन्यास सत्य घटनामा आधारित छ, दीपा पनि जिउँदो चरित्र हो।तर, उसको वास्तविक नाम त्यो होइन । लेखक धूस्वां सायमि भन्नुहुन्छ- मान्छेअनुसारको नाम नसुहाएको टिप्पणी गर्दा परिवारले न्वारानको जिम्मा मलाई दियो। र, दीपा नाम सबैले मन पराए। त्यसैले जीवित पात्रको काल्पनिक नाम दीपा रहन गयो ।

उपन्यासमा दुबैको कथा र व्यथा समेटिएको छ। कथाभन्दा भावना र शब्दभन्दा कविता बढी रहने धूस्वांको आफ्नै शैलीमा उनिएको उपन्यास दीपामा द्वन्द र अर्न्तर्द्वन्दको एउटा लामो श्रृंखला बनेको छ । उपन्यास प्रकाशनपछि दीपा चरित्रको विषयमा चर्चा हुन थाल्यो- अन्य लेखक र पाठकहरु बीच।दीपा साँच्चै को हुन् त भनी खोजी पनि हुन थाल्यो।लेखककै नजिककी अर्की एउटी परिचित लेखिका, जो विश्वविद्यालयमा प्राध्यापन पनि गर्छिन्, नै दीपा हुन् कि भनेर पनि चर्चा-अनुमान लगाउन थालियो।दीपा आफू नै हो भनेर चिनाउन खोज्ने अनजान आइमाईहरु पनि देखिन थाले । तर दीपा भने आफ्नै परिवेशमा आफ्नै पाराले आजभोली जीवन विताउँछे, उपन्यासमा जस्तो चरित्र चित्रित छन् त्यस्तै चरित्र बोकेर।र, लेखक न दीपालाई चिनाउन चाहनु हुन्छ न, दीपाको गाउँलाई नै ।

लोग्नेको घरमा बस्न नसकेर माइतीमा बस्दै आएकी उपन्यासकी दीपा आफूले मन पराएको प्रेमीलाई बीचैमा छाडी पुनः लोग्नेको घर फर्केकोबाट उपन्यासको अन्त्य गरिएको छ।यस अघि विहे भएर लोग्नेको घर गएको लगत्तै दीपालाई आभास हुन्छ, घर त घरज्ास्तो थिएन।लोग्ने भनाउँदो पनि कठपुतली रहेछ । नयाँ दुलही भएपछि अलि श्रृंगारपटार त गरिने नै भयो तर घरका परिवारले त्यसैलाई अनेक अर्थ लगाएर कुरा लगाउन थाले । कौसीमा एक छिन निस्क्यो भने मात्र पनि तीललाई पहाड बनाइ हाल्थे । यति मात्र होइन, दुलहीको रुप सौन्दर्य हेर्न लालायित टोलका लोग्ने मान्छेहरु तास खेल्ने निहुँमा दिन भर दिन भर घरमा आएर बस्थे तर उनीहरुलाई रोकटोक थिएन।माइतीबाट आएको एउटा भाइको हात समातेर कोठामा कुरा गरिरहेको दृष्य के देखे, नाठो खेलाएर बसेको भन्ने आरोप उनीमाथि लाथ्यो र यही आरोपमा एक दिन घरबाट निकाल्ने काम पनि भयो।यस्तो परिस्थितिमा माइती आएर बसेकी पात्र दीपाको सर्म्पर्क एउटा अर्को लोग्ने मान्छेसित हुन पुग्छ जो घरपरिवार र परिवेशसित सन्तुष्ट छैन, घरलाई झ्यालखानाको रुपमा हेर्छ र आफ्नो घर छाडी एउटा काम लिएर गाउँमा बस्न आइरहेको छ । एक्लोपनको अनुभवले सताइँएका यी दुबै यस परिस्थितिमा नजिकिन पुग्छन्।कथा बढ्दै जान्छ।एउटा निर्णायक मोडमा आइपुगेकै बेला लोग्नेको घरबाट ससुरा मरेको भनी लिन आइपुग्छ र सामाजिक मान्यताअनुसार लोग्नेको घर र्फकन्छन् । पाठकको लागि उपन्यास वियोगान्त हो तर वास्तविक जीवन भने त्यस्तो छैन । लेखक आफ्नो पात्रको बारेमा भन्नु हुन्छ- ‘हाम्रो सम्वन्धलाई बदनाम गर्न कसैले एकपल्ट हाम्रो वीच शारीरिक सम्बन्ध रहेको अफवाह पनि फैलाइदियो । र, दीपा रिसाएर माइती गएर बसिदिइन् । उसलाई फर्काउन उसको लोग्ने र अरुहरु पनि सफल हुन सकेन । उनीहरुलाई थाहा छ, मैले भनेको कुरा दीपाले खान्छे भनेर । उसको लोग्नेको अनुरोधमा मैले भनेको कुरा उसले खाइन् पनि । आजभोलि पनि केही समस्या पर्यो भने लोग्ने मलाई गुहार्न आउँछ र म दीपाको अविभावक जस्तै छु ।’

केही वर्षघि मात्रै को कुरा हो, लेखकको जीवनसाथी बसुन्धरा बित्नु भयो । लेखक एक्लो हुनुभयो । एक्लोपन बढ्दै गयो । यस्तैमा एक दिन लेखक दीपाको घरमा पुग्दा परिवारका अन्य सदस्यहरुकै माझमा आफू लेखकसँग जीवन बिताउन तयार भएको दीपाले बताइन् । दीपाको स्वभाव नै त्यस्तो थियो । सबैको अगाडि हाकाहाकी लेखक आफ्नो प्रेमी भएको बताउँछे र यसैमा गौरव पनि मान्छे । उसको परिवारलाई थाहा थियो, दीपा लेखककी प्रेमिका मात्रै हुन्छे, श्रीमती होइन।सम्वन्ध यस्तै थियो र पहिलाजस्तो थियो, अहिले पनि त्यस्तै छ ।

दुबैको आफ्नै घर संसार छ।दीपा सामान्य जीवन विताउँछे, कहिले काहीं लेखकसित भेट्छे, फोनमा कुराकानी पनि । दीपालाई लेखक बिर्सन सक्नु हुन्न, दीपाकै नाममा ‘दीपा जनमत’ नामले एउटा साहित्यिक पुरस्कारको स्थापना गर्नु भएको छ, साय्मिले । अपठित र गैरसाहित्यिक दीपाकै हातबाट पुरस्कार वितरण गराउने लेखकको चाहना थियो । तर, ठूलो समारोहमा उपस्थित हुन लजाइन् वा प्रस्तुत हुन चाहिनन् । बरु लोग्ने लगायत अन्य आफन्तहरुलाई सो समारोह हर्ेनमात्र पठाइनन् उसले । समारोहको रौनकका बारे पनि सोध्न पछि परिनन् । लेखकका कृतिहरु उनी आफै पढ्न त सक्दिनन् तर सबै संगालेर राख्छिन् । लेखकसित अहिले ‘दीपा’ उपन्यास आफ्नो कोठामा छैन । एक दिन विहान लेखकले आफ्नो पात्रसित यो उपन्यास माग्नु हुँदा ठट्टा गर्दै उताबाट हाकाहाकी उनले भनिन्- ‘पैसा देउ अनि किताव लेउ ।’ दीपालाई पंक्तिकारले भेट्न चाहेको कुरा लेखकले फोनमा खबर गर्दा बिना हिचकिचाहट भनिन्- ‘पठाइदेउ, भेट्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb