Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

इतिहास कसले लेख्ने ?

Posted on 2025-03-312025-04-07 by admin

वर्तमान हेरेर इतिहास निर्धारण गर्ने लालसाले त इतिहास अध्ययनलाई राजनीति मात्र बनाउँछ।

बसन्त महर्जन

आफ्नो इतिहासको अध्ययन–लेखन आफैं गर्दा सही तथ्य आउँछ भन्ने आग्रहले आफू वरिपरिको स्रोतमा मात्र सीमित पार्ने खतरा हुन्छ। त्यस्तो अध्ययन–लेखनमा परिपक्वता नआउने पुष्टि मार्टिन चौतारीले आयोजना गरेको मध्यकालीन मीमांसाबाट भयो। मध्यकालीन नेपालको इतिहासमाथि केही अघि गरिएको मीमांसामा मैथिल, तामाङ, लिम्बू, खस साम्राज्य, काठमाडौं उपत्यकालगायतका विषयमा १२ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

‘माध्यमिककालीन तामाङ लोक–इतिहास’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका अमृत योञ्जनले तामाङ जातिको लिखित इतिहास नभएकोले मौखिक इतिहासमा भर पर्नुपरेको अनुभव सुनाए। तामाङ समुदायको इतिहासको सन्दर्भमा यो चलनचल्तीकै भनाइ हो। नेपालका अन्य समुदायहरूको इतिहासको विषयमा पनि यस्तै भनाइ सुन्न पाइन्छन्। नेपालका थुप्रै समुदायमा अलिखित इतिहास भन्दै दन्त्यकथा एवं लोकोक्ति प्रस्तुत गर्ने गरिएको छ।

तामाङहरू आफूलाई काठमाडौं उपत्यकाका आदिवासीका रूपमा चिनाउँछन्, तर यो समुदायको मौखिक इतिहास बताउने तम्बा काईतेन ह्वाइ (संकलक : सन्तवीर पाखि्रन) का गीतहरूमा काठमाडौं उपत्यकाको नभएर तिब्बती गाउँठाउँको वर्णन छ। इतिहासकार डा. रमेश ढुङ्गेलका अनुसार इतिहासचेत भएकै कारण तामाङ समुदायमा तम्बा (पुर्खाको इतिहासलाई गीतको माध्यमबाट बचाइराख्ने) हरूको व्यवस्था हुन्छ। त्यस्तै, ब्लोन तामाङको छुट्टै राज्य रहेको भनाइ तामाङ समुदायमा छ, तर ‘ब्लोन’ शब्दले तिब्बतीमा मन्त्री बुझाउँछ।

इतिहासकार काशीनाथ तमोटले तामाङहरूको अभिजन विभिन्न समयमा तिब्बतको संजबाट बसाइँ सरेर काठमाडौं उपत्यका आएका समुदायसँग रहेको बताए। संजहरूको इतिहास तिथिमितिसहित पाइन्छ। तमोटका अनुसार, मध्यकालीन भक्तपुर राज्यमा संजहरूको सैनिक दस्ता नै थियो। पृथ्वीनारायण शाहकोे आक्रमणमा भक्तपुरका राजा रणजीत मल्लले आत्मसमर्पण गरिसक्दा पनि संज सैनिकहरूले प्रतिकार गर्दा गोर्खाली सेनाले व्यारेक नै जलाएर सबैको हत्या गरेका थिए। नेवारहरू तिब्बत बुझाउन ‘सँ’ र तामाङका लागि ‘सँय्’ शब्द प्रयोग गर्छन्। यी दुवै शब्द ‘संज’ सँगै सम्बन्धित छन्।

लिम्बू सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका अर्जुन माबुहाङले पनि आफ्नो जातीय इतिहास लेखनमा सीमित स्रोत उपलब्ध रहेको बताए, तर राष्ट्रिय अभिलेखालयमा लिम्बूका अनेक स्रोत–सामग्री सुरक्षित छन्, जसको उपयोग भएको छैन। त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागबाट जातजातिको इतिहास, संस्कृति र अरू पक्षहरूमा थुप्रै शोधपत्र बनेका छन्। तर, स्रोत–सामग्री वा अध्ययन भएको छैन भन्दै दन्त्यकथाहरूलाई आफ्नो इतिहासका रूपमा प्रस्तुत गरिंदै आएको पनि छ।

इतिहासका तथ्यहरू तीता पनि हुन्छन्। कुनै अध्येताले तीतो तथ्य प्रस्तुत गरे भन्दैमा आफू अनुकूल कथा रचना गरेर जातीय संगठनको बलमा त्यसैलाई स्थापित गर्न खोज्दा इतिहासको यथार्थ विस्मृतिको गर्तमा पुरिन्छ। गलत निष्कर्षमा थप अध्ययन गरेर तथ्य खोतल्न सकिन्छ। जस्तो, मध्यकालमा भारतबाट काठमाडौं आएका नायरहरू अहिलेका नेवार हुन् भन्ने निष्कर्ष निकालिएकोमा काठमाडौं उपत्यकामा प्राचीनकालदेखि नै नेवार रहेको पुष्टि स्रोतहरूले गर्दै ल्याएको छ।

उपलब्ध ऐतिहासिक स्रोतलाई बहुआयामिक दृष्टिबाट पर्गेल्नुपर्ने हुन्छ। नेपालमण्डलको इतिहास अध्ययनमा महत्वपूर्ण स्रोतको रूपमा लिइने गोपाल राजवंशावली अनुसार पश्चिमका खसहरूले काठमाडौं उपत्यकामा बारम्बार आक्रमण गरेर लूटपाट मच्चाएर गएको उल्लेख छ, तर खस स्रोतमा त्यस्तो देखिंदैन। पंक्तिकारको अध्ययनले खस सेना काठमाडौंमा आक्रमण गर्न नभएर आफ्नो पक्षको राजनीतिक शक्तिलाई सघाउन आएको देखाउँछ। गोपाल राजवंशावलीका लेखकमा खसहरूप्रति पूर्वाग्रह रहेकोले त्यस्तो भएको हुनसक्छ। त्यसकारण, नेपालमण्डलको परिवर्तन खस साम्राज्यको पतनसँग सम्बन्धित रहेको विषय खोतल्दा दुवै स्रोत भिडाउनुपर्छ।

कुनै क्षेत्र वा जातीय समुदायको इतिहास उही क्षेत्र र जातीय समुदायमा मात्रै सीमित हुने कुरा होइन। नत्र, बौद्ध धर्मको इतिहास जैन ग्रन्थहरूमा र जैन धर्मको इतिहास बौद्ध ग्रन्थहरूमा पाइने थिएन। नेपालमा नपाइने मध्यकालीन नेपालसम्बन्धी कतिपय तथ्य भारतीय, तिब्बती र चिनियाँ स्रोतले खुलस्त गरेका छन्। तामाङको लिखित इतिहास छैन भनेको ठाउँमा सहभागीको तर्फबाट तामाङको ५०० वर्षदेखिको लिखित इतिहास नेवार स्रोतमा सुरक्षित रहेको जानकारी उपलब्ध हुनु पनि यसैको उदाहरण हो। निचोड के हो भने, इतिहास अध्ययन र लेखनमा एकाङ्की प्रयत्न अपुग नै हुन्छ।

स्रोत : http://nepalihimal.com/article/5926 (हिमाल खबरपत्रिका ५-११ पुस २०७२, पृ. ११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb