म्यानमारको पछिल्लो घटनाक्रम र नेपाली मिडियाको कभरेजका बारेमा तपाईको नजर र टिप्पणी अलि फरक आयो किन?
म्यानमारमा रोहिंग्या समुदायसँग सम्बन्धित समाचारहरू नौला होइनन् । राखिन प्रान्तमा अतिवादी रोहिंग्याहरूबाट बौद्ध भिक्षुहरूमाथि भएका अत्याचारका समाचार तथा तस्वीरहरू पनि नौला होइनन् । दुई समुदाय बीचको यो मनमुटाब दुईचार वर्ष वा दुई चार दशकको पनि होइन । राज्यले अतिवादी रोहिंग्याहरूविरुद्ध कारवाही चलाउँदा सर्वसाधारण रोहिंग्या जनसमुदाय प्रभावित हुन पुगेका हुन् र सुरक्षाका लागि विस्थापित भए । ती विस्थापितहरू नेपालसम्म आइपुगेका छन् र शरणार्थीका रूपमा रहेका छन् । यस प्रकरणमा प्रकाशित तथा प्रशारित समाचारहरूमा म्यान्मारका बौद्ध जनसमुदालाई नकारात्मक र रोहिंग्याहरूलाई सकारात्मक रूपमा प्रस्तुत गर्ने काम भयो । रोहिंग्याहरू पीडित छन्, उनीहरूलाई दयामाया गरेर नेपाली भूमिमा शरण दिऔं भन्ने वातावरण तयार पार्ने हिसावले योजनावद्ध रूपमा यो भइरहेको छ । जुन नेपालको हितमा छैन । शरणार्थीका रूपमा राख्दैमा रोहिंग्याहरूको समास्या समाधान हुने पनि होइन । यस अवस्थामा नेपाली मिडियाका कभरेजप्रति असहती जनाउँदै टिप्पणी गरेको हुँ ।
म्यानमारको रैथाने बौद्ध समुदायको नकारात्मक छबी र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छबी बनाउन मिडियाको भुमिका रहेको भन्नु भएको छ । यसलाई अलि बिस्तारमा व्याख्या गरिदिनुहोस न । किन र कसरी यस्तो हुदैछ ?
म्यान्मारमा रोहिंग्याको प्रकरणलाई सामान्यीकरण गरेर समष्ट बौद्ध समुदायलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ । बौद्धहरू सहनशील हुनुपर्छ र अरुले जे जस्तो अत्याचार गरेपनि सहनुपर्छ, त्याग मात्रै गर्नुपर्छ, यही बौद्धहरूको पहिचान हो भन्ने गलत बुझाइ रहेको देखियो । र, यो गलत बुझाइअनुसार म्यान्मारका बौद्धहरू बौद्ध आचर(ामा छैनन् भन्दै तिनका बारेमा नकारात्मक छबी प्रस्तुत गरेको पाइयो । यो गलत बुझाईलाई स्थापित गर्दै म्यान्मारमा मात्रै नभएर अन्यत्र पनि बौद्ध समुदायलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने खतरा देखिएको छ । म्यान्मारमा संगठित रूपमा नै बौद्ध समुदायमाथि अत्याचार हुँदै आएकोमा त्यसविरुद्ध राज्यले कारवाही चलाएको जरुर हो । त्यो संगठित अत्याचार राज्यको अंगमाथि नै पनि लक्षित हुँदा कारवाहीको स्तर पनि बढाएको बुझिन्छ । यस अवस्थामा द्वन्द्व बढ्नु स्वाभाविक हो । यो म्यान्मारको आन्तरिक मामिला हो ।
तपाई एक वौद्ध ज्ञाताका रूपमा वास्तविकता के हो भन्ने देख्नुहुन्छ, ठान्नुहुन्छ ?
मेरो क्षेत्र बौद्ध धर्म–दर्शनको अध्ययन अध्यापनको अतिरिक्त इतिहास पनि हो । इतिहास अध्ययनमा बेलायती साम्राज्यवादले एसियामा राज गरेको अध्यायलाई हिजोआजको मात्रै घटनाको रूपमा लिइन्छ । भारतीय भूभागमा मात्रै नभएर म्यानमार पनि बेलायती उपनिवेशमा परेको थियो । यही बेला रोहिंग्याहरू बंगलादेशबाट म्यानमार पुगेका हुन् । पछि रोहिंग्याहरू सैन्य क्षेत्रमा पनि प्रयोग गरिए र त्यो प्रयोग नै समस्याको विषय बन्यो । एकै ठाउँमा रहँदा बस्दा मनमुटाब हुनु स्वाभाविक हो र दुई समुदायबीच द्वन्द्व चर्कियो ।
नेपाली संचार माध्यम सुनियोजित रूपमा सजिलै यसमा प्रयोेग भएको भन्ने तपाईको ठम्याईका आधार र कारणहरू पनि स्पष्ट पारिदिनुस न ।
नेपाली मिडियाको सबल पक्ष र दुर्बल पक्षसँग म राम्रैसँग परिचित छु । किनभने, लामो समयसम्म म यही क्षेत्रमा संलग्न रहें । अन्तरंग नै भएँ । नेपाली संचारकर्मीहरू साना साना कुरामा पनि चाँडै प्रभावित हुन्छन् । संचारकर्मीको काम समाचार प्रवाह गर्नु मात्रै हो भन्ने बुझाइ रहेको पाइन्छन्, जुन गलत बुझाइ हो । यस्तो बुझाइले संचारकर्मीलाई गैरजिम्मेवार बनाइदिन्छ । वास्तबमा संचारकर्मीको भूमिका वाचडग पनि हुनु हो ।
रोहिंग्याहरूलाई शरणार्थीको रूपमा नेपालमा भित्र्याउने ग्राण्ड डिजायन’ अनुसार समाचार प्रवाह भएको छ । यी समाचारहरू नेपाली संचारकर्मीका आफ्नै उत्पादन होइनन्, समाचार एजेन्सीबाट आएका हुन् ।
मिडिया कहाँ चुक्यो, के गर्नु पर्ने थियो नेपाली मिडियाले ?
मिडिया हुँदैमा उसले अभ्यास गर्ने राष्ट्रलाई भुल्नुपर्छ भन्ने छैन । प्रायः समाचारहरू मानवीय सम्वेदना झल्काउने खालका छन् तर ती एक पक्षीय भयो । यसअघिका घटना क्रमहरूमा नेपाली मिडिया आँखा चिम्लेर बस्यो र अहिले छेउटुप्पो नबुझी बडो सम्बेदनशील भएर हतारहतारमा समाचार प्रकाशन तथा प्रशारण गर्ने काम भयो । म्यान्मारमा यो समस्या निम्तिनुको अन्तर्य खोतल्ने काम भएन । रोहिंग्याहरू समस्यामा परेका छन्, जरुर हो । करुणाप्रद दृष्यचित्रहरू पनि आयो । स्थितिको चित्रण नै तिनीहरूलाई दयामाया गरी हाम्रो देशमा भित्र्याउँ र शरण दिउँ भन्ने खालको छ । तर, नेपाल आफै समस्याको भुमरीमा फरेको एउटा सानो मुलुक हो र शरणार्थीहरू थेग्न सक्ने अवस्थामा छैन । फेरि रोहिंग्याहरूको समस्याको समाधान शरणार्थी हुनुमा होइन, आफ्नै गाउँठाउँमा ससम्मान फर्कनु हो । नेपाली मिडिया यहीँ चुक्यो, कति आलाकाचा पाराले हामी काम गरिरहेका छौं भन्ने कुरा पनि छताछुल्ल भयो ।
को हो नेपाली मिडियालाई दुरूपयोग गर्ने शक्ति स्रोत ? किन यस्तो गरिरहेको ठान्नुहुन्छ तपाई ?
नेपालमा रोहिंग्याहरूलाई शरणार्थीका रूपमा भित्र्याउने योजनाअनुसार यो भएको हो भन्ने लाग्छ । मानवअधिकारका सवालमा यो जायज पनि हो । उनीहरूका लागि खर्चबर्च नेपालले व्यहोर्नु पर्दैन पनि तर यसले के कस्ता समस्याहरू निम्त्याइदिन्छन् भन्ने कुरा भुटानी शरणार्थीका सन्दर्भमा हामीले बेहोरिसक्यौं । भुल्नु हुँदैन । फेरि अर्को कुरा, रोहिंग्याहरू इस्लाम धर्मावलम्बी र म्यान्मारका जनता बौद्ध हुन् । यसलाई बौद्ध–इस्लाम बीचको द्वन्द्वको रूपमा प्रस्तुत गर्ने र त्यसलाई सामान्यीकरण गरेर मुसलमानहरू पीडित र बौद्धहरू पीडक भनेर देखाउन खोजेको पनि देखियो । समग्र बौद्ध समुदायलाई खुइल्याउनकै लागि यो नाटक गरिरहेको र त्यसमा नेपाललाई पनि नजानिँदो पाराले सहभागी गराउन खोजेको हो भने त्यो त झन् खतरनाक भयो । यस्ता कुराहरूमा नेपाली मिडियाले ध्यानै दिएन ।
बौद्ध विरोधी र रोहिंग्या समर्थक नेपाली मिडियाको दुरूपयोग रोक्न अब के के गर्ने त ? कसको भुमिका के हुनु पर्यो अब ?
मुख्य कुरा नेपाली मिडिया सम्वेदनशील र विवेकशील हुनुप¥यो । यस सन्दर्भमा नेपाली मिडिया कसैको प्रभावमा पर्नु भएन । दीर्घकालिन असरका सन्दर्भमा सचेत हुनुपर्छ र नेपालमा रोहिंग्याहरूलाई शरणार्थी रूपमा नभएर आइसकेकाहरूलाई पनि फर्काउने वातावरण बनाइदिनु पर्दछ ।
नेपाललाई शरणार्थी भर्तीकेन्द्र बनाउने षडयन्त्र भन्ने तपाईको आशंकाका आधार र कारण पनि खुलाईदिनुहोस न ।
विगत केही वर्षअघिदेखि रोहिंग्याहरू शरणार्थीका रूपमा काठमाडौंमा नै बस्दै आएका छन् । यी शरणार्थीको संख्या बढ्दो छ । नेपालले लामो समयसम्म भुटानी शरणार्थीकौ समस्या भोगिसकेको अनुभव छ । भारतीय भूभाग भएर आएका भुटानी शरणार्थीहरू भुटान नै फर्कन भारतले भारतीय भूमिमा पस्न दिएन । अहिले रोहिंग्याहरू पनि भारतीय भूमि भएरै आएका हुन् । नेपाली संचार क्षेत्र तथा बौद्धिक वर्गले भुटानी शरणार्थी समस्या चाँडै नै भुलेको देखिन्छ र रोहिंग्या समस्या निम्त्याउन इच्छुक देखिन्छ । नेपालको आफ्नै समस्या कम छ र ? हामी शरणार्थी समस्याहरू थेगिरहन सक्छौं र ?
रोहिंग्या समस्या म्यान्मारको आन्तरिक मामिला हो । त्यो मामिलालाई नेपालमा किन हुल्न दिने ? तर मिडियामा म्यान्मारबाट विस्थापित रोहिंग्याहरूको दुःख दर्दले भरिपूर्ण दृष्यचित्रहरू तथा कथावस्तुको प्रकाशन तथा प्रशारण नेपाली मिडियामा बढ्दो छ । तिनीहरूले धेरै दुःख पाएका छन्, नेपालमा शरण दिउँ न भन्ने भावना जगाउने हिसावले मिडिया प्रयोग भएको देखियो । नेपालमा रोहिंग्याहरूलाई शरणार्थीका रूपमा राख्न चाहनेहरूले जे चाहेको हो त्यही कुरा नेपाली मिडियाले पस्कने काम गरिरहेको छ ।
खासमा बौद्ध धर्म शान्तिको पर्याय हो । तर म्यानमारमा त्यो अपवाद भएको हो त ?
बौद्ध धर्म शान्तिको पर्याय भनेको के हो ? यस सम्बन्धमा चर्चा गर्न सकिन्छ । सामान्यतः युद्ध र झैंझगडा नहुनुलाई नै शान्ति भन्ने गरिन्छ तर बुद्ध वा बौद्ध धर्म दर्शनको उद्देश्य वा लक्ष्य त्यस प्रकारका ‘शान्ति’ होइन । बौद्ध धर्म–दर्शनमा यस्तो शान्ति त ‘बाइ प्रडक्ट’ हुन्छन्, स्वतः सिर्जना हुन्छन् ।
म्यान्मारकी नेतृ सुकि नोवल शान्ति पुरस्कार विजेता । तर किन यस्तो दुर्दशा भैरहेको होला ?
हामी म्यान्मार र नोबेल शान्ति पुरस्कार बिजेता आङ साङ सुकीलाई एउटै डालोमा राखेर हेर्छौं तर त्यहाँ उनका पनि आफ्नै समस्या छन् । म्यानमारमा रोहिंग्या समस्या आङ साङ सुकी सत्तामा आएपछि सिर्जना भएको नभई दशकौं दशकअघि देखिको हो । यसअघि त्यहाँ सैनिक सत्ता थियो । त्यो सैनिक सत्ताबाट स्वयं सुकी पनि प्रताडित थिइन् । कैयौं वर्षसम्म नजरबन्दमा बसेकी थिइन् । निर्वाचनमा भारी मतले सुकी र सुकीको पार्टीले विजय हासिल गरेर अहिले सत्तामा आएपनि सैनिक सत्ताको शक्ति बाँकी नै छ । सैनिक सत्ता रोहिंग्याहरूको गतिविधिलाई मन पराउँदैन । म्यानमारमा शक्ति सैनिकसँग र जनता आङ साङ सुकीसँग भएको अवस्था हो । भनौं, दुई शक्तिबीचको मिलोमतोमा आजको म्यान्मार चलिरहेको छ । म्यान्मारका अधिकांश जनता पनि रोहिंग्याको गतिविधि मन पराउँदैनन् । नोबेल शान्ति पुरस्कार बिजेताको नाताले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो साख जोगाउन रोहिंग्याप्रति लचिलो हुन खोजुन्जेल म्यानमारको राजनीतिक परिदृष्य फेरिन पनि सक्छ । यस्तो जोखिम मोल्नुले सुकीका लागि मात्रै नभएर एक प्रकारले रोहिंग्या समुदायकै लागि प्रत्युत्पाद हुनसक्छ । यस अवस्थामा रोहिंग्याका सन्दर्भमा शान्तिपूर्ण समाधानको खोजी गरिनुपर्छ जुन दीर्घकालसम्म कायम रहोस् ।
एक वौद्ध ज्ञाताका रूपमा उत्पन्न यो संकटको समाधानका सूत्र पनि बताइदिनुहोस न ।
बौद्ध धर्म दर्शनअनुसार कुनै पनि समस्या कुनै न कुनै प्रकारले समाधान हुन्छ नै । कुनै न कुनै उपायकौशलले समास्याको समाधान गर्नु पर्छ । यसका लागि सर्वप्रथमतः सबैले आआफ्नो अहंता छाड्नु पर्छ । एकले अरुको अस्तित्व स्वीकार्नु पर्छ । बौद्धहरूको आदर्श त मानव मानव बीच मात्रै नभएर सबै प्राणीप्रति नै मैत्री राखी सदैव करुणाको भावले हेर्नुपर्छ । साथै, अरुको खुशीमा खुशी हुने मुदिताको भाव पनि राख्दै अरुले नियतवश नै हानी नोक्सानी गरेपनि त्यसलाई उपेक्षा गर्नसक्नु पर्छ । चतुब्रम्हविहारका नामले चिनिने यी मैत्री, करुणा, मुदिता र उपेक्षा भावहरू बौद्धजनका गहना हुन् तसर्थ समस्या समाधानमा बौद्धहरू नै अगाडि बढ्न त सक्छन् तर एक हातले ताली बज्दैन भन्ने कुरा पनि बुझ्नु पर्दछ । यस्तै गरी, बौद्ध हुनु भनेको बुद्धको उपदेशको अनुयायी हुनु हो, स्वयं बुद्ध हुनु होइन । बुद्धका सबै गुण बौद्ध जनसमुदायमा खोज्नु मिल्दैन अर्थात् बुद्ध र बौद्ध दुई भिन्नै विषय हुन् । बौद्धहरूमा पनि कमीकमजोरीहरू हुन्छन् ।
(हाल संचालनमा नरहेकाे एक अनलाइनमा सन् २०१८ सेप्टेम्बरतिर प्रकाशित अन्तर्वार्ता,अन्तर्वार्ताकार सूर्य खड्का )