Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
    • Review
    • About Book
    • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

काठमाडौं बौद्ध संस्कृतिको पर्यायः ‘गुंला पर्व’

Posted on 2024-04-182024-04-18 by बसन्त महर्जन

काठमाडौं उपत्यका र यससँग सम्बन्धित नेवार बौद्ध समाजमा साउन महिनातिर एउटा विशेष रौनक देखिन्छ। एक महिना लामो यो रौनक धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। यो समाजमा यसलाई ‘गुंला पर्व’ वा ‘गुंला धर्म’ भनिन्छ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्मको एक महिना नेपाल संवत्अनुसार दशौं महिना हो र यसलाई ‘गुंला’ भनिन्छ। ‘गुण’ वा ‘गुन’ शब्दको संक्षेपीकरण गरी महिनाको नामकरण गरेर गुंला (गुनमहिना) भनिएकोमा गलत हिज्जे प्रयोग हुँदा अर्थको अनर्थ हुने गरी बुझ्ने गरेको पनि पाइन्छ। स्वयम् नेवार भाषामा प्रकाशित हुने एउटै पुस्तक तथा पत्रपत्रिकामा पनि कहिले ‘गुंला’ त कहिले ‘गुँला’ शब्दको प्रयोग हुने गरेको पाइन्छ। शीरविन्दु र चन्द्रविन्दुको भेदमा ध्यान नगएको यसबाट बुझिन्छ। यसरी नै शीरविन्दु र चन्द्रविन्दु दुबै प्रयोग नहुने शब्द बुझेर गैरनेवार समाजले पुरूषको अण्डकोष बुझ्ने र अनौठो मान्ने गरेको पनि पाइन्छ। यस्तो गलत बुझाइको खण्डन गर्न नसकेर कतिपय नेवार आफैं पनि असमन्जसमा पर्ने गरेको पनि पाइन्छ। यो सांस्कृतिक अन्तरक्रियाको अभाव हो।

नेवार समाजमा बौद्ध र हिन्दू दुबै धर्मावलम्बी पाइन्छन् अर्थात् गुंला अवधिमा बौद्ध गतिविधि मात्रै नभएर हिन्दू गतिविधि पनि प्रशस्त मात्रामा हुन्छन् तर बौद्धहरू पूरै एक महिना ‘गुंला पर्व’ वा ‘गुंला धर्म’ भनेर यसलाई विशेष महत्व दिई मान्ने भएका कारण बौद्ध संस्कृतिको पर्यायजस्तै हुन पुगेको छ।

बौद्ध धर्मावलम्बीहरूको सांस्कृतिक जीवन विश्वभर एउटै पाइँदैन। गौतम बुद्धको जन्म, बोधिलाभ (ज्ञानप्राप्ति) र महापरिनिर्वाण गरी जीवनका तीन महत्वपूर्ण घटना वैशाख पूर्णिमाका दिन भएको मानेर उत्सव मान्ने गरिए पनि विश्वभर यसमा विविधता पाइन्छ। भारत, श्रीलंका र नेपालका कतिपय बौद्धहरू वैशाख पूर्णिमाको एक दिनमात्रै मान्छन् भने कुनै बेला चैत्र पूर्णिमादेखि मनाउँदै आएर वैशाख पूर्णिमाका दिन भव्य रूपमा समापन गर्ने परम्परा पनि देखिन्छ। यसरी नै थाइ समाजमा वैशाख पूर्णिमादेखि जेष्ठ पूर्णिमाको दिनसम्म मनाउने गरेको पनि पाइन्छ। तिब्बती परम्परामा भने ‘सागादावा’ भनेर अरू नै बेला महिनादिनसम्म विशेष श्रद्धा राखेर उत्सव तथा पूजा गर्ने गर्दछन्। वैशाखकै दिन काठमाडौं उपत्यकाको नेवार समाजमा ‘स्वांया: पुन्हि’ भनेर बुद्धको नाममा उत्सव मनाउने परम्परागत संस्कृति पनि पाइन्छ। नेवार बौद्ध समाजमा प्रचलित पन्चदान (पञ्जराँ), सम्यक पर्व, दिपंखा यात्रा आदि जस्तै ‘गुंला पर्व’ पनि काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा बाहेक अन्यत्र पाइँदैन। यसर्थ यो विश्व बौद्ध संस्कृतिमा आफ्नै विशिष्ट पहिचान राख्न सफल छ र यसलाई नेपालको मौलिक अमूर्त सम्पदाको रूपमा लिनुपर्दछ।

गुंला पर्व सुरू हुने दिन श्रावण शुक्ल प्रतिपदाको एका विहानैदेखि काठमाडौंको विभिन्न स्थानबाट बाजागाजासहित बालबालिका, किशोर किशोरी तथा युवायुवती र जेठापाकाहरू समूहमा निस्कने र प्रसिद्ध स्वयम्भू महाचैत्यतिर लाग्ने गरेको बडो रोचक दृष्य देख्न पाइन्छ। यसरी आउनेहरू विशेषत: धा: नामको बाजा बजाएर आउने गर्दछन्। काठमाडौंका बौद्धहरूमा यो बाजा गौतम बुद्धलाई असाध्यै मनपर्ने बाजा हो भन्ने विश्वास रहेको पाइन्छ र यही विश्वासअनुसार कपिलवस्तुका शाक्यहरू काठमाडौं उपत्यकामा प्रवेश गर्दा सँगै लिएर आएको भन्ने मान्यता पनि राख्दछन्। यसरी नै ‘नेकू पुयेगु’ भनेर राँगाको सिङ (शृङ्गभेरी) लाई बाजाझैं फुकेर बजाउँदै आउने गरेको पनि पाइन्छ। यो बाजालाई ‘नेकू’ भनिन्छ। आजभोलि बाँसुरीलगायत ब्याण्डबाजाको पनि प्रयोग हुन थालेको छ। गुंला बाजा भनेर विशेषत: ‘धा:’ लाई मात्र लिने गरे पनि यस पर्वमा प्रयोग हुने सबै बाजालाई गुंलाबाजा भनेर सम्बोधन गर्ने गरेको पनि पाइन्छ। कुन समूह वा टोलको बाजा कति राम्रो छ भनेर देखाउने अवसरको रूपमा लिँदै यसको प्रतियोगिता नै आयोजना गर्ने गरेको देखिन्छ। बाजामा नयाँ पुस्ताको सक्रियता उत्साहप्रद छ। यति मात्रै नभएर समूहमा सहभागीहरू नामसंगीतिलगायत विभिन्न धारणी स्तोत्र, प्रज्ञापारमिता आदिको पाठ गर्दै निस्कने गर्दछन्। यिनीहरू आफ्नो टोल वस्तीबाट निस्केर विभिन्न बौद्ध स्थलहरू हुँदै स्वयम्भू पुग्दछन् र त्यहाँ स्थित अनेकौं बौद्ध स्थलहरूको दर्शन गरेर एवं रितले फर्कन्छन्।

महिना दिनसम्मको यो परिक्रमालाई बौद्धहरू साधनाको रूपमा पनि लिने गर्दछन्। गुंला पर्वमा सरिक विभिन्न ठाउँका बौद्धजन वा बाजा समूह सँधै स्वयम्भू महाचैत्यमा आउने गर्दैनन्। यो व्यवहारिक कुरा पनि होइन। अर्थात्, पाटनका बौद्धहरू दक्षिणस्थित बुङमति, भक्तपुरका बौद्धहरू नाला, बनेपाका बौद्धहरू नमोबुद्ध, साँखुका बौद्धहरू गुंबहा: (बज्रयागिनी) जाने गर्दछन्। कीर्तिपुरलगायतका ससाना बस्तीहरूमा पनि यो अवधिमा बौद्धहरू आआफ्नो क्षेत्रमा रहेका बहा: तथा बही (विहार), स्तूप, चिभा: लगायतका बौद्ध स्थलहरूको परिक्रमा गरिरहेका हुन्छन्। तर महिना दिनमध्ये आफूलाई पायक परेको एक दिन भने स्वयम्भू पुग्ने परम्परा अहिलेसम्म निर्वाह हुँदै आएको छ। काठमाडौं उपत्यकाको बौद्ध परम्परामा स्वयम्भू महाचैत्य एउटा केन्द्रको रूपमा मानिन्छ। काठमाडौं उपत्यकाबाट बाहिर जिल्लामा गएर स्थायी बसोवास गरिरहेका नेवार बौद्धहरूले पनि यो पर्वलाई आफ्नो गच्छेअनुसार मनाउँदै आएका छन्। पोखरा, तानसेन, भोजपुर, दोलखालगायत कतिपय सहर बजारमा नेवार बौद्धहरूको बसोवास पाइन्छ र उनीहरू काठमाडौंकै परम्परामा बौद्ध सांस्कृतिक जीवन निर्वाह गरिरहेका छन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा पनि गुंला पर्वको अवसर पारेर काठमाडौंमा जस्तै प्रत्येक दिन परिक्रमा गर्ने तथा अन्य गतिविधि गर्न सके यस विश्वसम्पदा स्थललाई अझ जीवन्त बनाउन सकिन्थ्यो।

गुंला पर्व वा गुंला धर्मको आयोजना धार्मिक तथा सांस्कृतिक पर्व त हो नै साथसाथै यो साङ्गीतिक तथा मनोरञ्नात्मक पनि हो। यसमा सरिक हुनेहरू विहानैदेखि धार्मिक भावनाले अभिप्रेरित हुने हुँदा मनमा मैत्री र करूणाको भावना उत्पन्न हुने हुन्छ। साथै यसले पारिवारिक सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास पनि पाइन्छ।

अरू बेला असमर्थ भए पनि गुंला पर्वको अवधिभर बुद्धको शिक्षालाई अवलम्बन गर्छु भनेर दृढ प्रतिज्ञा गर्नेहरू पनि हुन्छन्। यसरी नै आफूसँग भएको नराम्रो बानीलाई सधैंको लागि त्याग गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै त्यसलाई पालना पनि गर्ने अवसरको रूपमा गुंला पर्वलाई लिने गरिन्छ। जसरी गर्दा आफू र अरूको भलाइ हुन्छ, धर्म सञ्चय हुन्छ र सञ्चित पुण्यको बलले यो जन्म र अर्को जन्ममा पनि राम्रो गर्न सकिन्छ भन्ने चिन्तन मनन गर्ने अवसरका रूपमा यो पर्वको सदुपयोग गर्ने गरिन्छ।

बौद्ध धर्म तथा संस्कृतिलाई व्यवहारिक तथा उपयोगी बनाउन नयाँ नयाँ कुरालाई पनि आत्मसात् गरिन्छ भन्ने कुराको राम्रो उदाहरण गुंला पर्वको अवसरमा आयोजना गरिने ‘गुंला धर्म देशना’ पनि हो। काठमाडौंको बौद्ध धर्म भनेर विशेषत: बज्रयानी सम्प्रदाय बुझिन्छ। अतीतमा कुनै बेला गुंलापर्वको अवसरमा गुंला धर्मदेशनाको चलन थियो वा थिएन, स्पष्ट छैन तर राणा कालमा थेरवादी बौद्ध सम्प्रदायको प्रवेश भएको बेला यस्तो कुनै परम्परा रहेको देखिँदैन। थेरवादी बौद्ध भिक्षुहरूले यो समयमा गुंला धर्म देशना भनी महिना दिनसम्म आफ्नै विहारमा वा निर्दिष्ट ठाउँमा धर्म देशना गर्न थालेका थिए। यसैलाई गुंला धर्मदेशना भनियो। काठमाडौं उपत्यकाको थेरवादी बौद्ध समाजमा सुरू भएको यो गुंलाधर्म देशना पछि काठमाडौं उपत्यकाबाहिर पनि बौद्ध समाजमा लोकप्रिय भयो। आजभोलि बज्रयानी बौद्ध समाजले पनि यसलाई अपनाउन थालेको पाइन्छ। यसमा सामान्यत: बौद्ध धर्मदर्शनका कुराहरू नै धर्मउपदेशका रूपमा प्रवचन दिइने गरिन्छ।

गुंला धर्म वा गुंला पर्व काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा अत्यन्तै प्रसिद्ध भए पनि यो पर्व सबै ठाउँमा समान रूपमा यसरी नै मनाउनु पर्छ भन्ने कुनै विधिविधान छैन। आफू र अरूको सुख, समृद्धि एवम् दिवंगतहरूको समेत सुुगतिको कामना गर्दै विभिन्न गतिविधि सञ्चालन गर्ने गरेको पाइन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb