Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

बौद्ध होइन खास्तिचैत्य

Posted on 2025-03-042025-03-04 by बसन्त महर्जन
बसन्त महर्जन

‘बौद्ध’ शब्द नामवाचक नभएर विशेषण हो। यसले ‘बुद्धसम्बन्धी’ भन्ने अर्थ दिन्छ। तर किन हो, काठमाडौंस्थित इतिहासप्रसिद्ध चैत्यको नाम ‘बौद्धस्तूप’ भनेर चलाइएको छ। स्थानीय नेपाल भाषाको खास्तिचैत्यलाई ओझ्ेलमा पारेर आजभोलि ‘बौद्धस्तूप’ र सो अवस्थित क्षेत्रलाई पनि बौद्ध भन्ने गरिएको छ। ‘स्तूप’ भन्नु नै ‘बौद्ध वास्तुकला’ हो र तिनका छुट्टाछुट्टै नाम हुन्छन् भनेर बुझने हो भने ‘बौद्धस्तूप’ नामले यो भव्य सम्पदालाई बेनाम बनाइदिएको छ।

वैशाख २०७२ को महाभूकम्पले क्षतिग्रष्त बनाइदिएको यो सम्पदाको पुनःनिर्माण, प्राणप्रतिष्ठा र औपचारिक उद्घाटन समेत भइसकेको छ। भूकम्पपछिको पुनःनिर्माणमा सबभन्दा पहिला सकिएको ‘बौद्धस्तूप’ नै हो, त्यो पनि सरकारको एकपैसा लगानी विना। समुदायबाटै संकलित रु.२३ करोडले गतिलो पुनःनिर्माण हुनसकेबाट पनि अहिले यो चर्चामा छ। पुनःनिर्माण अभियान र प्रशंसाका बीच स्तूपका सम्बन्धमा व्यक्त उत्सुकता–प्रश्नहरूमा पनि किम्बदन्तीमा सीमित जवाफ दिनु–पाउनु भने नमज्जाको विषय हुन पुग्यो। बौद्ध समुदाय पनि किम्बदन्तीमै सन्तुष्ट देखिनु र अरूले पनि तिनै कुरालाई उद्धृत गरी काम चलाइरहेबाट हाम्रो इतिहासचेतको सतहीपना झ्ल्काइरहेको छ।

किम्बदन्तीको जञ्जाल

यस स्तूपलाई तिब्बती प्रभावमा ‘ज्यारुङ खस्योर’ भन्ने गरेको पनि पाइन्छ। ज्याजिमा नामकी महिलालाई स्तूप बनाउन राजाले जग्गा दिने वचन दिएको तर अन्यले विरोध गर्दा राजाको बोली खसिसकेको भन्दाभन्दै ‘खस्योर’ हुन गएको भन्ने कथा सुन्न पाइन्छ। जबकि, ‘ज्याजिमा’ व्यक्तिको नाम नभएर ‘कुखुरा पाल्ने महिला’ भन्ने अर्थ लाग्छ, तिब्बती भाषामा। त्यसकारण, ‘खस्यो’ शब्दबाट ‘खस्योर’ भयो भन्नुमा कुनै तथ्य–तर्क देखिंदैन। फेरि, ‘खस्यो’ भन्ने नेपाली शब्द यस क्षेत्रमा धेरैपछि मात्रै भित्रिएको हो।

नेपालको ऐतिहासिक स्रोतको रूपमा लिने गरिएको गोपाल राजवंशावलीमा ‘खास्तिचैत्य’ को स्पष्ट उल्लेख छ। नेपालको सबैभन्दा पहिलो गोपाल राजवंशावलीको पत्र २१ मा ‘राजा श्रीशिवदेव … तेन प्रतिष्ठित विहारग्रभकृतम् खासौचेत महाकूटम’ अर्थात् राजा श्री शिवदेवले विहारभित्र ठूलो खासौचैत्य बनाए भनिएको छ। नेपालसम्वत् ७९८ को एउटा ठ्यासफूमा पनि ‘खासोचैत्य’ भनिएबाट खासौ, खासो र खास्ति एउटै शब्दका विभिन्न रूप भन्ने बुझिन्छ। यही शब्दको तिब्बतीकरण हुँदा ‘खस्योर’ हुन पुग्यो। राजा अंशुवर्माका मामा पर्ने राजा शिवदेव बौद्ध धर्मबाट प्रभावित भएको र पछि राजपाट छाडेर भिक्षु भई विहारमा प्रव्रजित जीवन बिताउन गएको कुरा इतिहाससिद्ध छ। यस हिसाबले खास्तिचैत्यको निर्माणकाल इस्वीको सातौं शताब्दीको पहिलो दशक हुनआउँछ। राजा शिवदेवले खास्तिचैत्य बनाएको भन्ने स्पष्ट भएपछि स्तूपसँग जोडिएर आउने गरेका ज्याजिमा लगायतका किम्बदन्तीहरू रोचक कथा मात्र हुन्।

वंशावली अनुसार राजा शिवदेवले खास्तिचैत्य विहारभित्र बनाइएको हो। अब प्रश्न उठ्छ, विहारको नाम र अस्तित्व। ‘श्रीशिवदेवविहार’ नाम उल्लेख भएका दुई वटा अभिलेख प्राप्त छन्। सम्वत् १०३ (पछि प्रचलनबाट हराएको तत्कालीन सम्वत्) मा राजा नरेन्द्रदेवद्वारा जारी भएका ती दुई अभिलेखमा एउटै व्यहोरा रहेको छ जसअनुसार विहारलाई अनेकौं अधिकारहरू दिइएका छन्। पशुपति क्षेत्रका ढुंगेधाराहरूको हेरचाह गर्न पाशुपत सम्प्रदायका धार्मिक संघहरू हुँदाहुँदै यसै विहारलाई अभिभारा दिएको आधारमा इतिहासकार धनबज्र बज्राचार्यले यो विहार अन्यत्र नभई पशुपति क्षेत्रमै हुनुपर्ने अनुमान गरेका छन्, जुन सही लाग्छ। किनभने, पहिलो त खास्तिचैत्य पशुपति क्षेत्रमै पर्छ। राजकीय विहार भएका कारण यो ठूलो हुनु स्वाभाविक पनि हो। विहार परिसर वा अधीन क्षेत्रमा स्तूप बनाएको अर्थ लगाउँदा गोपाल राजवंशावलीमा भएको विवरण अझ् स्पष्ट हुन आउँछ। तर पछि यो विहारको क्षेत्रफल साँघुरिनुका साथै अर्कै नाममा चिनियो वा मासियो थाहा हुन सकेन।

राजा शिवदेवभन्दा अघिदेखि नै तिब्बतसँग नेपालको सम्बन्ध भए पनि पछिल्ला दिनहरूमा जस्तो दरिलो थिएन। गुप्तहरूबाट पुर्ख्यौली राजगद्दी फिर्ता लिन तिब्बती सेनाको सहयोग लिएकाले लिच्छवि राजा नरेन्द्रदेवको शासनकालमा नेपालमा तिब्बती प्रभाव धेरै बढेको थियो। तिब्बतीहरू आउँदा बस्ने क्षेत्रको रूपमा खास्ति विकास भएकोले खास्तिस्तूप तिब्बतमा प्रसिद्ध हुन पुग्यो। साथै अनेक कथा–उपकथा जोडिंदै गए। तिब्बती बौद्ध धर्म–संस्कृतिसँग सम्बन्ध राख्नेहरूका लागि अहिले पनि यो प्रमुख क्षेत्रकै रूपमा छ र पुराना कथा–उपकथाहरू जारी छन्।

धर्मसँग सम्बन्धित कुरामा मिथक सिर्जनालाई मानवीय स्वभाव भन्न सकिन्छ, तर त्यसमाथि ऐतिहासिक दृष्टिले हेर्न हिच्किचाउनुहुँदैन। इतिहासले जनविश्वासमाथि आघात पार्न सक्छ भन्दै इतिहास अध्ययनमा उदासीन हुनु बौद्ध समाजलाई सुहाउँदैन। गौतम बुद्ध, रिम्पोचे पद्मसंभव किम्बदन्तीका पात्र नभई ऐतिहासिक हुन्। बौद्ध इतिहासको अध्ययनमा तिनीहरूको अध्ययन जति भए पनि श्रद्धामा कमी आएको पाइँदैन बरु थप विश्वस्त हुँदै गएको पाइन्छ। त्यस्तै हो खास्तिचैत्यको कुरा पनि, जसलाई मिथकहरूले छोपेर राख्नुभन्दा इतिहासलाई स्वीकारेर थप अध्ययनको बाटो लिनुमा बुद्धिमत्ता छ।

(हिमाल । १२-१८ मंसीर २०७३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb